काठमाडौ, फाल्गुन २ - चालीस लाख जनसंख्या नाघिसकेको छ, काठमाडौं उपत्यकाको। यहाँका बस्ती र बाहिरबाट आउने जमात बढेको बढ्यै छन्। तर, बढ्दो जनसंख्यालाई घुम्न वा डुल्न खाली ठाउँ पर्याप्त छैन। बच्चाहरूले खेल्ने, वृद्धवृद्धाले आराम गर्ने, अपांगता भएकाहरू बस्ने, किशोर-किशोरीको डेटिङ जाने स्थल तथा बिहान मर्निङ र बेलुका इभिनिङ वाक् गर्नेहरू सार्वजनिक पार्क र बगैंचाको खोजीमा छन्। पार्क र बगैंचाले काठमाडौंको सुन्दरता मात्र बढाउँदैन, उपत्यकाको वायु प्रदूषण पनि कम गर्छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाका प्रमुख रविनमान श्रेष्ठ पार्क, बगैंचा, उद्यानहरूले उपत्यकाको वायु प्रदूषण कम गर्न मदत गर्ने बताउँछन्। भन्छन्,'त्यसैले हामीले काठमाडौंमा नयाँ विस्तार गरेका सडकमा बिरुवा रोपेका हौं। पछि गरिने विस्तारमा पनि रोप्ने योजना छ।' तर नयाँ पार्क निर्माण सम्बन्धमा महानगरपालिकाले थप पहल गरे/नगरेकोबारे भने उनी बोल्न चाहेनन्।
काठमाडौं जिल्लामा रहेको रत्नपार्क, बालाजु पार्क, महाराजगन्जमा रहेको शंख पार्क, नक्सालमा रहेको शान्ति बाटिका, लैनचौरस्थित सहिद पार्क महानगरको मातहतमा छन्। नक्सालस्थित नेपाल प्रहरीको प्रधान कार्यालयको पश्चिममा रहेको नन्दकिशोर बगैंचा भने काठमाडौं विकास प्राधिकरणको जिम्मामा छ।
मुलुककै सबभन्दा सानो जिल्ला भक्तपुरमा सार्वजनिक प्रयोगको पार्क र बगैंचा छैनन्। ललितपुरमा भने काठमाडौंसँग वाग्मती नदीले जोडेको यूएन पार्क छ। ५ वर्षमा काम पूरा गर्ने भन्दै १९ वर्षअघि यूएन पार्कको निर्माण गरिएको थियो। तर यो पार्क कछुवाको चालमा अघि बढेको छ। अहिलेसम्म यसको काम पूरा हुन सकेको छैन। करिब १२ सय रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क ललितपुर उपमहानगरपालिकाको ज्वागल, कुपण्डोल, गुसिंगाल र काठमाडौं महानगरपालिकाको थापाथली र त्रिपुरेश्वर क्षेत्रसम्म छ। यूएन पार्क विकास समितिका कार्यकारी निर्देशक कृष्णदेव यादवले बजेट अभावमा निर्माणमा ढिलाइ भएको बताए। उनले अन्य कारण खुलाउँदै भने, 'सानातिना निर्माण त भइरहेका छन्। तर सुकुम्बासी बस्ती र वाग्मती किनारमा ढल निर्माण भइरहेकाले बाधा पुगेको छ।' उनले यसपटक पार्कका लागि बजेट छुट्याइसकेको जनाउँदै छिट्टै निर्माण कार्यलाई तीव्रता दिने बताए। थानकोटमा त्रिभुवन पार्क छ। तर यो पार्क मध्यसहरबाट टाढा छ।