Pages

संयोगले पाएको जीवन !

Prem
मुटुको शल्यक्रियापछि अस्पतालमा प्रेमबहादुर थापामगर । तस्बिर : कान्तिपुर
काठमाडौं, माघ २९ - 'आज मौसम खुलेछ,' न्यु सर्जिकल वार्डको १३ नम्बरको शय्याबाट चियाउँदै ४२ वर्षीय प्रेमबहादुर थापामगरले माघ १२ गतेको भेटमा सुनाए । उनको फूर्तिलो स्वरले बाहिरको वातावरणको मात्र होइन, उनकै जीवनमा माघ ८ पछि आएको परिवर्तनको पनि सन्देश दिन्थ्यो । संविधानसभा भवनमा नयाँ संविधानबारे चर्काचर्की भइरहँदा उता बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा एक सुकुम्बासी प्रेमबहादुरले दोस्रो जुनी पाएका थिए ।
धादिङ छापथोक गाउँका मुटुरोगी प्रेमबहादुर एक वर्षदेखि काठमाडौं धाइरहेका थिए । 'काम गर्दा मुटु एक्कासि दुखेको थियो,' उनले भने,'त्यसपछि उपचार गराउन आउँदा डाक्टरले छिट्टै भल्भ फेर्नुपर्छ भन्ने सल्लाह दिए ।'
उनलाई जन्म दिएलगत्तै काखे छोरालाई छाडेर आमाले दोस्रो बिहे गरिन् । बाबुले पनि अर्को विवाह गरेर घर-जग्गा सबै बेची भारत लागे । प्रेमबहादुर मामाघरमा हुर्के । १४ वर्षको उमेरमा उनी भारतको कोलकाता पुगे । रिक्सा चलाउने र अन्य मजदुरी गरे । रामेछापबाट उता पुगेकी गीतालाई उनले जीवनसाथी पाए । चार वर्षअघि धादिङबाट मामाको खबर पुग्यो, 'हामी हेरौंला, यतै आएर सँगै बस ।' नपढेका प्रेम र बङ्गाली ज्यादा नेपाली कम बुझ्ने गीता कमाएको केही पैसासहित तीन छोराछोरी लिएर स्वदेश फर्के ।
'पैसा भएसम्म मामाले माया गरे । पैसा सकिएपछि हेला गर्न थाले,' प्रेमबहादुरले दुःख पोखे । उनको परिवार नेत्रावती प्राविको छेवैमा रहेको सरकारी जग्गामा छाप्रो हालेर बसेको छ । प्रेमबहादुर मजदुरी गर्छन् भने गीता मासिक ३ हजारमा त्यही विद्यालयमा पियनको काम गर्छिन् । जेठो छोरा १६ वर्षका छन् । अर्को छोरा १४ र छोरी १३ वर्षका छन् । छाप्रोमा साँघुरो भएपछि दुई छोरा सधैं साथीहरूकै घरमा सुत्न जान्छन् ।

संघर्षमा बाँचिरहेको परिवारमा रोग संकट बनेर छिर्‍यो । कहिले साहू त कहिले कोही गाउँलेको सहयोगमा उनी उपचार गराउन गंगालाल आइपुगे । तर डाक्टरको जवाफ भने सधैं एउटै हुन्थ्यो, 'छिटो अप्रेसन गरेर मुटुमा नयाँ भल्भ फेर्नुपर्छ । नत्र बाँच्न गाह्रो छ ।'
सरकारले गरिब र असहायका लागि निःशुल्क उपचार र अस्पतालमा बस्ने व्यवस्था मिलाइदिएको छ । त्यस्ता बिरामीले अस्पतालबाट एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधि पाउँछन् । बढीमा ३ हजार रुपैयाँ जम्मा गर्नसक्ने प्रेमबहादुरलाई सरकारले दिने उपचार खर्चअघि ५० हजारजति रुपैयाँ आवश्यक पर्ने रहेछ । सिटिस्क्यान गर्ने, रगत जम्मा गर्ने र लगायतका पहिलो चरणको परीक्षण गर्न आफैंले पैसा तिर्नुपर्दोरहेछ ।
पुस २४ गते राति गंगालालको जनरल वार्डको दिनदुःखी र गरिबलाई छुट्याइएको शय्यामा प्रेमबहादुर रोइरहेका थिए । 'खल्तीमा पैसा छैन । काठमाडौंमा कसैलाई चिनेको छैन । घर फर्किए उपचार नपाएर मरिने' प्रेमबहादुरले सम्झिए, 'म रुनबाहेक केही गर्न सक्तिनथें ।'
आफ्ना ठूला बा बलरामलाई उपचार गराउन पुगेका मधुसूदन भेटवाल त्यही शय्याको छेउमै थिए । नुवाकोट घर भई न्युरोडमा काम गर्ने मधुसूदनले भने, 'मलाई दया लाग्यो र मैले सहयोग गरें ।' वार्डको एक्ट्रा-वान भन्ने शय्यामा रोइरहेका प्रेमबहादुरको उपचार गर्न मधुसूदनले मिसन एक्ट्रा-वान भन्दै आफ्ना चिनजानका मान्छे र साथीहरूसँग आर्थिक सहयोग मागे । आफूले पनि सहयोग गरे ।
मधुसूदनले डाक्टरहरूको सल्लाहअनुसार प्रेमलाई काठमाडौं मेडिकल अस्पताल सिनामंगलमा लगेर सिटिस्क्यान गराए । साथीहरूबाट ए-पोजेटिभ रगत जम्मा गरे । माघ ७ मा शल्यक्रिया सफल भयो, ८ गते होस खुल्यो । अस्पतालकै प्रांगणमा रहेको जयन्ती ट्रस्टले दुवै भल्भ सहयोग गर्‍यो । 'अस्पतालले ४ लाखको उपचार गरिदिने तर सुरुको ५०/६० हजार नहुँदा बिरामी मर्ने अवस्था बनाउनुहुन्छ ?' मधुसूदनले आक्रोश पोखे ।
पुस ४ मा काठमाडौं आएका प्रेमबहादुर माघ २१ गते पूर्ण उपचार सकेर उही अस्थायी घरमा फर्किए । 'बाँच्दिनँ जस्तो लागेको थियो, बाँचेरै फर्किएँ,' उनले भने, 'यी बाबु मेरो जिन्दगीमा भगवान् नै भएर आए ।' । मधुसूदनले उनको उपचार गराएर बाँकी रहेको २० हजार रुपैयाँ दिएर प्रेमबहादुरलाई बिदाइ गरे । गाउँबाट आएको पुरानो झोलाको ठाउँमा उनलाई अस्पतालमा भेटेका अन्य व्यक्तिहरूले दिएको तीन नयाँ झोला, मधुसूदनले किनिदिएको नयाँ चप्पल र छातीमा शल्यक्रिया गर्दा चिरेको डोबलाई नयाँ लुगाले छोप्दै प्रेमबहादुर लाहुरे शैलीमा गाउँ फर्किए ।
 http://www.ekantipur.com/np/2071/10/29/full-story/403663.html

प्रकाशित मिति: २०७१ माघ २९ ०८:५७