Pages

'बाटो काट्नै गाह्रो रहेछ'

काठमाडौं, वैशाख १२ - 'तपाईंहरू यहाँ (काठमाडौं) को सडकमा हिँड्दा सुरक्षित महसुस गर्नुहुन्छ ?' हलिउड अभिनेत्री मिचेल योहले प्रश्न गरिन् । र, आफैँले उत्तर दिइन्- 'म त कारबाट घुमें । तर बाटोचाहिँ काट्न सक्दिनँ होला ।'
आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल शुक्रबार बेलुकी बालबालिकासँग सडक सुरक्षाबारे अन्तक्रिर्या गरिरहेकी थिइन् । स्कुलका साना नानी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारीलगायत उनलाई ध्यान दिएर सुनिरहेका थिए ।
मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तक्रिर्या गरिन् । बालबालिकाले जेब्राक्रसिङ, ट्राफिक लाइट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्या बालबालिकाले सुनाउँदा उनी
ध्यानमग्न थिइन् ।
मिचेलले नेपालमा भियतनाममा जस्तै 'ललिपप म्यान' (बाटो काट्न सहयोग गर्ने मान्छे) राख्न ठीक हुन सक्ने बताइन् । 'यो आर्थिक रूपमा त्यति महँगो हुँदैन र सहज पनि हुन्छ,' उनले भनिन्, 'सरकारले यस बारेमा ध्यान दिए राम्रो हुन्थ्यो ।' मिचेलले गाडी चढ्दा सुरक्षित बेल्ट, मोटरसाइकलमा चढ्दा अघि र पछि बस्ने दुवैले हेलमेट प्रयोग गर्नुपर्ने बताइन् । 'भियतनाममा सार्वजनिक यातायातमा पनि यात्रुका लागि सुरक्षित बेल्ट लगाउनुपर्ने नियम ल्याइएको छ । अन्य मुलुकमा पनि यस्तो कुरालाई ध्यान दिनुपर्छ,' उनले भनिन्, 'अविकसित देशभन्दा विकसित देशमा दुर्घटना बढी हुने तथ्यांक
पनि छ ।'