Pages

बीपीको सपनाको बाटो

Sindhuli
सिन्धुली, चैत्र १६ - १९ वर्षको काम, २५ अर्ब रुपैयाँ लागत र १ सय ५८ किलोमिटर लम्बाइ । ती तथ्यांकले परिचय दिन्छन् बीपी लोकमार्गको । काभे्रको धुलिखेलबाट सुरु हुने यो बाटो सिन्धुली हुँदै महोत्तरीको बर्दिबाससम्म पुग्छ, खास अर्थमा राजधानीलाई मुलुकको पूर्वी भागसँग नजिक बनाउँदै ।
२०१६ मा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बनेका समाजवादी नेता बीपी कोइरालाले यो बाटो शिलान्यास गरेका हुन् । २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्र अपहरित भयो, बीपी जेल गए । सडक पनि त्यतिकै रह्यो । बरु राजा महेन्द्रले आफ्नै नाममा पूर्वपश्चिम राजमार्ग निर्माण गरे ।
२०३९ मा बीपीको निधन भयो । त्यसको ३२ वर्षपछि बल्ल उनले चाहेको बाटो उनकै नाममा बनेको छ । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा सन् १९९६ मा सुरु भई हालै निर्माण सम्पन्न भएको हो ।