Pages

बीपीको सपनाको बाटो

Sindhuli
सिन्धुली, चैत्र १६ - १९ वर्षको काम, २५ अर्ब रुपैयाँ लागत र १ सय ५८ किलोमिटर लम्बाइ । ती तथ्यांकले परिचय दिन्छन् बीपी लोकमार्गको । काभे्रको धुलिखेलबाट सुरु हुने यो बाटो सिन्धुली हुँदै महोत्तरीको बर्दिबाससम्म पुग्छ, खास अर्थमा राजधानीलाई मुलुकको पूर्वी भागसँग नजिक बनाउँदै ।
२०१६ मा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बनेका समाजवादी नेता बीपी कोइरालाले यो बाटो शिलान्यास गरेका हुन् । २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्र अपहरित भयो, बीपी जेल गए । सडक पनि त्यतिकै रह्यो । बरु राजा महेन्द्रले आफ्नै नाममा पूर्वपश्चिम राजमार्ग निर्माण गरे ।
२०३९ मा बीपीको निधन भयो । त्यसको ३२ वर्षपछि बल्ल उनले चाहेको बाटो उनकै नाममा बनेको छ । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा सन् १९९६ मा सुरु भई हालै निर्माण सम्पन्न भएको हो ।

राहत र परिवर्तन
सिन्धुलीकी कृष्णमाया बिखुसे खुट्टा खुम्च्याउँदै हिँडिरहेकी थिइन् । रतनपुरा गाँउकी ५० वषर्ीया कृष्णमायाको २० वर्षको उमेरमै दायाँ खुट्टा भाँचिएको थियो । 'त्यसबेला गाउँमा सडक आइपुगेको थिएन, सिन्धुली बजार हिँडेरै जानुपथ्र्यो,' उनले भनिन्, 'त्यो बेला मलाई बोकेर अस्पताल पुर्‍याउने कोही भएन, घरमै काम्रो बाँधिदिए । त्यसैले खुट्टा बांगो भयो ।' गाँस काट्न जाँदा उनको अर्को खुट्टा भाँचियो । दुई वर्षअघि फेरि त्यस्तै घटना भयो र यसपटक बायाँ खुट्टा भाँचियो । यसपटक उनले सिन्धुलीबाट काठमाडौं नै आएर उपचार गरिन् । बीपी लोकमार्ग उनको घरनजिकैबाट जान्छ । पहिले ४/५ दिन लगाएर काभ्रे आउनुपर्नेमा सडक पुगेपछि ३/४ घण्टामै पुग्न सकिन्छ । यो सहजताले उनको काममा जोस बढेको छ । खुट्टा खुम्चाउँदै भए पनि व्यावसायिक खेती सुरु गरेकी छन् । 'खुम्ब्रे किरा लगेर समस्या भइरहेको छ,' उनले तरकारी खेती गर्ने आफूजस्तै महिलाहरूसँगको भेटमा भनिन्, 'खुर्सानी खेल गरेको छु ।' मकै, कोदो मात्र उब्जनीे हुने रतनपुरामा हाल आएर किसानहरू तरकारी खेती, पशुपालन आदि गर्न थालेका छन् ।
छेउछाउ खुलेका बजार, सिन्धुलीका गाँउहरूमा बढ्न थालेको व्यावसायिक जुनार खेती बीपी लोकमार्गले ल्याएका प्रस्ट परिवर्तन हुन् । सिन्धुलीका ८ गाविसमा किसानले संगठित रूपमा जुनार खेती गरेका छन् । 'अब जुनारलाई काठमाडौं वा विराटनगर हुँदै भारत पुर्‍याउन सहज  छ,' जुनार विकास संघका अध्यक्ष दीपकप्रसाद कोइरालाले भने । सिन्धुली र रामेछापमा गरी एक सिजनमा २० देखि २१ मेट्रिकटन जुनार उत्पादन हुन्छ  ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार हिमाली र पहाडी भेकमा पहिलेभन्दा जनसंख्या बढेको छ । अहिले तराई क्षेत्रमा कुल जनसंख्याको ५०.२७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७०५), पहाडी क्षेत्रमा ४३.०१ प्रतिशत (१ करोड १३ लाख ९४ हजार ७) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत -१७ लाख ८१ हजार ७९२) छ ।  
पूर्वाञ्चलका पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरमा ०.०३ देखि १.१४५ प्रतिशत जनसंख्या घटेको देखिन्छ । तर, तराई र राम्रो सडक सुविधा भएका उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, इलाम, झापालगायत मध्यवर्ती र दक्षिणी जिल्लामा जनघनत्व बढदै गएको छ । सुनसरीमा सबैभन्दा बढी १.९९ प्रतिशत जनसंख्या बढेको छ । बीपी राजमार्गसहित निर्माणाधीन मध्यपहाडी लोकमार्ग्ा र उत्तर-दक्षिण करिडोरहरूले यस्तो किसिमको जनसंख्या असन्तुलनसमेत नियन्त्रण गर्ने विश्वास नीतिनिर्माताहरूको छ । यही दृष्टिकोणमा मध्यपहाडी लोकमार्गले छुने गरी १० ठूला सहर बनाउने योजना अघि सारिएको हो ।
किफायती सडक
भौतिक पूर्वाधार सचिव तुलसी सिटौला बीपी लोकमार्गले समय, इन्धनको बचतसँगै आर्थिक विकासमा टेवा पुर्‍याउने बताउँछन् । बीपी लोकमार्ग भएर बर्दिबासबाट काठमाडौं आइपुग्न १ सय ८० किलोमिटर पार गर्नुपर्छ । तर, काठमाडौंबाट मुग्लिन, नारायणगढ, हेटौंडा बर्दिबास हुँदै पूर्व जान करिब ३ सय ५० किलोमिटर यात्रा गर्नुपर्छ ।  
काठमाडौंको थानकोट नागढुंगा नाकाबाट दैनिक करिब ९ हजार सवारीसाधन आउजाउ गर्छन् । 'यो लोकमार्गले पूर्व र उपत्यकाबीचको दूरी घटाएको छ । काभ्रे, रामेछाप र सिन्धुलीलाई प्रत्यक्ष रूपमा सकारात्मक प्रभावसमेत पारेको छ,' सिटौलाले भने ।
पूर्वी पहाडको मेरुदण्ड बन्दै
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रविनमान श्रेष्ठ बीपी लोकमार्गमा अहिले दैनिक २ हजार गाडी गुडिरहेको जानकारी पाएको बताउँछन् । तर, यो बाटो गह्रौं सवारीसाधनका लागि होइन ।  महोत्तरीको बर्सिबासबाट सिन्धुली बजारसम्म दुई लेन बनिसके पनि नेपालथोक, खुर्कोट हुँदै धुलिखेलसम्म आउन एक लेन मात्रै छ । 'ठूलो ट्रक उकालोमा बिगि्रयो भने दुवैतर्फ जानआउन बन्द हुन्छ,' श्रेष्ठले भने, 'त्यसबारेमा हामीले ध्यान पुर्‍याउनुपर्छ ।'
 बीपी राजमार्ग र मध्य पहाडी मार्ग सिन्धुलीको खुर्कोटमा आएर जोडिन्छन् । 'बीपी राजमार्गलाई नै मध्य पहाडी राजमार्गमा समेट्ने वा अर्को निर्माण गर्ने भन्नेबारे छलफल भइरहेको छ,' सचिव सिटौलाले भने, 'यो बाटो एक लेनको मात्र भएका कारण सोचे जसरी प्रयोग गर्न सकिँदैन ।'
प्रकाशित मिति: २०७१ चैत्र १६ ०२:१४ 
http://www.ekantipur.com/np/2071/12/16/full-story/406253.html