Pages

द स्टोरी टेलर्स

रसियन कल्चर सेन्टरमा हालै स्टोरी टेलर्स नेपालले ‘एभ्रि एडुकेटर ह्याज अ स्टोरी’ अर्थात् हरेक शिक्षकको कथा हुन्छ भन्दै जिन्दगीको कथा सुनाएको थियो । रुसमा एउटा चलन छ, कथा वाचन गर्ने । अर्थात् स्टोरी टेलिङ । बुढौलीले छुन थालेपछि मान्छेको संयोगको घटना, समय वा वर्ष पारेर अरूलाई आफ्नो जिन्दगीको कथा सुनाइन्छ ।
डा. जुगल भुर्तेलले करिब दुई दशक लामो रूस बसाइका बेला यस्तै अनुभव गरेका थिए। साइबेरियाकी तातियानाले पनि आफ्नो देशमा स्टोरी टेलिङको कल्चर रहेको बताइन्। नेपाल र रूसबीच सन् १९५६ को जूनबाट कूटनीतिक सम्बन्ध अघि बढ्यो। त्यसपछि काठमाडौंस्थित कमलपोखरीमा खडा भएको हो, रसियन कल्चर सेन्टर। 


यही कल्चर सेन्टरमा हालै स्टोरी टेलर्स नेपालले 'एभ्री एडुकेटर ह्याज अ स्टोरी' अर्थात् 'हरेक शिक्षकको कथा हुन्छ' भन्दै जिन्दगीको कथा सुनाएको थियो। मञ्चमा किताबका चाङ थिए, कुनै किताब बन्द त कुनै पढ्दा-पढ्दै बीचमै छाडेर हिँडेको जस्तो। तर रूसी गन्ध आउने हलमा कुनै पाका, सफल वा अन्य रसियन व्यक्तिबारे कथा वाचन सुरु हुन गइरहेको थिएन। उपत्यकाका अन्य हल छाडेर यही हलमा कार्यक्रम गर्नु 'द स्टोरी टेलर्स, नेपाल' का संस्थापक प्रशान्त मानन्धरको बाध्यात्मक संयोग थियो। घडीको सुईले दिउँसोको साढे ३ पार गरेलगत्तै स्टेजमा प्रशान्त झुल्किए र भने, 'आज हामी यस्तो तीन युवा नेपाली व्यक्तिलाई आफ्नो कथा सुनाउन यहाँ बोलाउँदै छौं।' जसले नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउने कोसिस गरेका छन्, आफ्नो ऊर्जाशील समयलाई ग्रामीण क्षेत्रमा पुगेर बालबालिकालाई शिक्षा दिने काम गरेका छन्। 


ती तीन युवा थिए, कारखानाका संस्थापक साकार पुडासैनी, माया युनिभर्स एकेडेमीका संस्थापक मन्जिल राना र स्नो याक फाउन्डेसनका संस्थापक विनोद शाही। एडुकेटर्स सिरिज अन्तर्गतको चौथो सिरिज पहिलो नम्बरमा स्टेजमा झुल्किए, साकार। 'सिम्पल लिभिङ, हाई थिन्किङ' उनको परिचय हो।साकारको ज्ञानेश्वरमा रहेको कारखानामा सिद्धान्तका कुरा कम प्रयोगात्मक शिक्षा बढी पढाइ हुन्छ। उनको कारखानामा 'स्टिम' अध्ययन शैलीमा पढाइन्छ। स्टिम अर्थात् साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आटर््स, म्याथम्याटिक्सको संयोजित रूप। यी सबैलाई मिलाएर कारखानाको पाठ्यक्रम बनेको छ। उनले नेपालमा दिँदै आएको पारम्परिक शिक्षा र आफ्नो नयाँ शिक्षा शैलीको तुलना गरे। कारखानाले शिक्षा क्षेत्रमा नयाँ अध्यायको सुरुआत गरी अघि बढेको साकारको कथा थियो। 

साकारको ६/७ जनाको समूहमा सुरुआत गरेको कारखाना अहिले नेपाली शिक्षा क्षेत्रमा 'हट-केक' का रूपमा छ। अन्य दिन सरकारी वा बोर्डिङ स्कुलमा छोराछोरीलाई पढाउने अभिभावक बिदाको दिनमा कारखानामा पढ्न पठाउन थालेका छन्। साकार कडा मिहिनेत गर्नुपर्छ र कसैको अघि झुक्नु नपर्ने बताउँछन्। चतुर स्वभावका माया युनिभर्सका मन्जिलको बिन्दास शैली छ। अमेरिका पढेर उनलाई चित्त बुझेन। चार वर्षअघि नेपाल फर्किए। 

उदयपुर, लमजुङजस्ता जिल्लाको विकट गाउँमा बच्चालाई शिक्षाको ज्योति फैलाउन थालेको कथालाई मन्जिलले सुनाए। 'बच्चालाई सानैदेखि शिक्षा दिएमात्र परिवर्तन आउँछ,' उनले भने। उनको माया युनिभर्सले बच्चालाई निःशुल्क पढाइदिन्छ। उनले खर्चका लागि लागि गाउँमै सुँगुर, कुखुरा, बाख्रा आदि जनावर पालन गरेका छन्। केरा, सुन्तला, कागती जस्ता कुराहरू रोपेका छन्। उनको विद्यालयमा स्वयंसेवकका रूपमा पठाउन नेपाललगायत विदेशबाट पनि आउँछन्। नेपालको शिक्षाका बारेमा उनले भने, 'शिक्षकले आफ्नो काम गरेको छैन।' उनले नेपालमा धेरै विद्यार्थी फेल हुने र एसएलसी पास भएर केही गर्न नसक्नुले नेपालको शिक्षाको स्तर छर्लङ्ग हुने बताए। मन्जिलले गाउँको बसाइ, त्यहाँको पढाइ, विगत र भविष्यको लक्ष्य पनि सुनाए। कस्नो यार्क फाउन्डेसनका विनोदलाई डोल्पामा 'सर' भनेर बोलाइन्छ। विनोदले डोल्पा नै पुग्नुको कारण त्यहाँसम्मको यात्रा, त्यहाँका मान्छे, हावापानी र शिक्षाका बारेमा खुलेर कथा सुनाए। 

सन् २००४ मा डोल्पाको बच्चालाई पढाउने मौका पाए। उनलाई यो दन्ते कथाजस्तै लाग्छ। 'उनीहरू काठमाडौं आए र मैले पढाउन मौका पाएँ,' विनोदले सम्झन्छन्, 'उनीहरूको स्थिति देखेर डोल्पा जान तयार भएँ।' दुई फ्लाइट र ८ दिन हिँडेर उनी डोल्पा पुगे। देशमा संकटकाल थियो। र, परिवारका एकमात्र छोरा विनोदलाई घरबाट नजान आग्रह थियो। उनी भन्छन्, 'डोल्पा नै किन रोज्यो भन्छन्, केही। तर म भन्छु, मैले डोल्पा होइन, डोल्पाले मलाई रोज्यो।' उनले डोल्पाको कठिन जीवन, त्यहाँको शिक्षाको स्तरका बारेमा अनुभव सुनाए। हाई अल्टिच्युट। हिउँदमा जाडोले मुस्किल नै हुन्छ। वषर्ामा पनि जाडो हुने। 

प्रकृतिसँग संघर्ष गर्दै त्यहाँका जनता बाँचिरहेका उल्लेख गर्दै विनोदले भने, 'तर भावना ठूला छन्।' डोल्पामा सरकारी विद्यालयका बारेमा उनले भने, 'सरकारले लगानी गरेको छ, शिक्षकलाई तलब पनि दिएको छ, तर शिक्षकले अहिलेसम्म विद्यालय नै देखेका छैनन्।' उनले डोल्पाका शिक्षाबाट टाढिएका बच्चालाई शिक्षाको ज्योति छर्ने काम गरेका छन्। द स्टोरी टेलर्सका संस्थापक प्रशान्तले विभिन्न क्षेत्रका मान्छे एकै ठाउँमा आएर, उनीहरूको संघर्ष, अनुभव, सफलता र उनीहरूको पावरफुल स्टोरीले अरूलाई प्रेरणा हुने बताए। उनले भने, 'त्यो स्टोरीलाई आफैंभित्र र उनीहरूभित्र राख्न हुन्न। यो अरूलाई पनि सुनाउनुपर्छ।' उनले सुरुआत गरेको स्टोरी टेलर्स सिरिज एक वर्ष पुगिसकेको छ। उनले समाजमा परिवर्तन ल्याउनकै लागि स्टोरी टेलर्स सिरिजको सुरुआत गरेको प्रस्ट पारे। रसियन कल्चर सेन्टरमा उपस्थित दर्शकले तीन युवाको कथा सुने र गरे, खुलेर प्रशंसा।