Pages

फुटपाथ बने 'घरपाथ’

काठमाडौं, फाल्गुन ४ - पैदलयात्रुहरूको सुविधाका लागि सडकछेउमा फुटपाथ बनाइन्छ। सडक विस्तार वा निर्माण जे भए पनि फुटपाथ कति चौडा र कस्तो हुने भन्ने योजना सबैभन्दा पहिले बनाउनुपर्छ। सडक विभागका लागि त यो मूलभूत विषय नै हो।

अझ, राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग निर्माण गर्दा न्यूनतम् कति चौडा फुटपाथ बनाउने भनेर सरकारले तोकेकै छ। न्यूनतम् फुटपाथ १ दशमलव ५ र अधिकतम् ५ मिटरसम्मको हुनुपर्ने व्यवस्था छ।

तर, मुलुकका सडकहरूमा यसको कार्यान्वयन भएको कतै पाइँदैन। उपत्यकाका सडकहरूमा त झनै यो मापदण्डअनुसार फुटपाथ बनेको छैन। यहाँका अधिकांश सडकमा फुटपाथ छैनन्। फुटपाथ भएका सडकमा यात्रा गर्दै जाँदा कतिपय स्थानमा यो हराउँछ। बाँकी रहेका पनि नियमअनुसार छैनन्। जुन घरअगाडिको सडकमा फुटपाथ बनेको छ, त्यही घरधनीको आवश्यकता र स्वार्थअनुसार फुटपाथ नभई 'घरपाथ' का रूपमा निर्माण भएका छन्।
काठमाडौंको बालुवाटार, नक्साल, अनामनगर, महाराजगन्ज, लाजिम्पाट, थापागाउँ लगायतका सडक अवलोकन गर्दा प्रश्न उठ्छ, सडकछेउको फुटपाथ धनधनीका लागि कि पैदलयात्रु हिंड्नका लागि? सडकभन्दा तलसम्म घर छ भने त्यहाँ ओर्लन सहज हुने गरी फुटपाथ बनाइएका छन्। सडकभन्दा माथिबाट घरको सुरुआत भए, त्यहाँ उक्लन सहज हुने गरी फुटपाथ बनाइएका छन्।

सडक विभागका पूर्वमहानिर्देशक हरिओम श्रीवास्तव फुटपाथ नियमअनुसार नबनेको स्वीकार गर्छन्। यात्रुभन्दा घरधनीलाई सहज हुने गरी फुटपाथ बनाइएकामा उनले चिन्ता व्यक्त गरे। उनले भने, 'योजना बनाउँदा नै यस्तो गरिएको को कि के भएर हो, ठ्याक्कै भन्न गाह्रो छ। तर, यो गम्भीर चिन्ताको विषय हो।'
फुटपाथलाई 'घरपाथ' का रूपमा कसरी निर्माण गरिन्छ? यो कसको खेल हो? सरकारका एक सहसचिवले भन्छन्, 'सडक विभागका इन्जिनियर र योजना बनाउनेले कुनै पनि सडक निर्माण वा विस्तार गर्दा सबभन्दा पहिला डिजाइन गर्छन्। त्यसपछि ठेकेदारलाई कामको जिम्मा दिन्छन्। सडकछेउका घरधनीहरू कि त इन्जिनियरसँग वा सडक निर्माण गर्ने ठेकेदार र कामदारसँग कुरा मिलाएर घरलाई आवश्यक पर्ने गरी 'घरपाथ' बनाउँछन्।' सडक निर्माण हुँदा वा भइसकेपछि निगरानी हुँदैन। ठेकेदार वा कामदारले जस्तो बनाइदियो त्यही अन्तिम हुन्छ। निगरानी नहुँदा लापरबाही हुने गरेको सहसचिवको दाबी छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख प्रभातकुमार झाले वर्षअघि बनेका सडकहरूमा यस्तो समस्या रहेको स्वीकारे। 'वर्षयता बनेका सडकमा यस्तो समस्या कम छ,' उनी भन्छन्, 'फुटपाथ पैदलयात्रुकै सुविधाका लागि हो। तर यहाँ स्थानीय उपझोक्ता र सम्बन्धित सडक बन्ने स्थानका घरधनीका दबाबका कारण नियमअनुसार काम हुन नसकेको हो।'
उनले अरनिको राजमार्गमा पर्ने माइतीघर-तीनकुने सडक विस्तार गर्दा फुटपाथलाई लिएर समस्या भएको बताए। उनले घरधनीहरूको गाडी सडकको जहाँतहींबाट छिराउने चाहनाका कारण फुटपाथ मापदण्डअनुरूपको हुन नसकेको जनाए। झाले 'घरपाथ' को ट्रेन्ड गलत भएको उल्लेख गर्दै भने, 'विस्तारै यसमा सुधार हुँदैछ।' नियमअनुसार न्यूनतम् १ दशमलव ५ मिटरको फुटपाथ नहुने, भएका साना फुटपाथ पनि अघि बढ्दै जाँदा हराउने र अघि बढ्न मिल्ने फुटपाथ पनि छेउकै घरलाई मात्र सहज हुने गरी 'घरपाथ' का रूपमा निर्माण हुँदा पैदलयात्रुले दैनिक समस्या झेल्नुपरेको छ।
 

प्रकाशित मिति: २०७१ फाल्गुन ४ ०८:३७