Pages

पार्क छन्, पर्याप्त छैनन्


काठमाडौ, फाल्गुन २ - चालीस लाख जनसंख्या नाघिसकेको छ, काठमाडौं उपत्यकाको। यहाँका बस्ती र बाहिरबाट आउने जमात बढेको बढ्यै छन्। तर, बढ्दो जनसंख्यालाई घुम्न वा डुल्न खाली ठाउँ पर्याप्त छैन। बच्चाहरूले खेल्ने, वृद्धवृद्धाले आराम गर्ने, अपांगता भएकाहरू बस्ने, किशोर-किशोरीको डेटिङ जाने स्थल तथा बिहान मर्निङ र बेलुका इभिनिङ वाक् गर्नेहरू सार्वजनिक पार्क र बगैंचाको खोजीमा छन्। पार्क र बगैंचाले काठमाडौंको सुन्दरता मात्र बढाउँदैन, उपत्यकाको वायु प्रदूषण पनि कम गर्छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाका प्रमुख रविनमान श्रेष्ठ पार्क, बगैंचा, उद्यानहरूले उपत्यकाको वायु प्रदूषण कम गर्न मदत गर्ने बताउँछन्। भन्छन्,'त्यसैले हामीले काठमाडौंमा नयाँ विस्तार गरेका सडकमा बिरुवा रोपेका हौं। पछि गरिने विस्तारमा पनि रोप्ने योजना छ।' तर नयाँ पार्क निर्माण सम्बन्धमा महानगरपालिकाले थप पहल गरे/नगरेकोबारे भने उनी बोल्न चाहेनन्।
काठमाडौं जिल्लामा रहेको रत्नपार्क, बालाजु पार्क, महाराजगन्जमा रहेको शंख पार्क, नक्सालमा रहेको शान्ति बाटिका, लैनचौरस्थित सहिद पार्क महानगरको मातहतमा छन्। नक्सालस्थित नेपाल प्रहरीको प्रधान कार्यालयको पश्चिममा रहेको नन्दकिशोर बगैंचा भने काठमाडौं विकास प्राधिकरणको जिम्मामा छ।
मुलुककै सबभन्दा सानो जिल्ला भक्तपुरमा सार्वजनिक प्रयोगको पार्क र बगैंचा छैनन्। ललितपुरमा भने काठमाडौंसँग वाग्मती नदीले जोडेको यूएन पार्क छ। ५ वर्षमा काम पूरा गर्ने भन्दै १९ वर्षअघि यूएन पार्कको निर्माण गरिएको थियो। तर यो पार्क कछुवाको चालमा अघि बढेको छ। अहिलेसम्म यसको काम पूरा हुन सकेको छैन। करिब १२ सय रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क ललितपुर उपमहानगरपालिकाको ज्वागल, कुपण्डोल, गुसिंगाल र काठमाडौं महानगरपालिकाको थापाथली र त्रिपुरेश्वर क्षेत्रसम्म छ। यूएन पार्क विकास समितिका कार्यकारी निर्देशक कृष्णदेव यादवले बजेट अभावमा निर्माणमा ढिलाइ भएको बताए। उनले अन्य कारण खुलाउँदै भने, 'सानातिना निर्माण त भइरहेका छन्। तर सुकुम्बासी बस्ती र वाग्मती किनारमा ढल निर्माण भइरहेकाले बाधा पुगेको छ।' उनले यसपटक पार्कका लागि बजेट छुट्याइसकेको जनाउँदै छिट्टै निर्माण कार्यलाई तीव्रता दिने बताए। थानकोटमा त्रिभुवन पार्क छ। तर यो पार्क मध्यसहरबाट टाढा छ।

ललितपुरमा यूएन पार्कमात्र होइन, बल्खुको मनमोहन पार्क, सहिद पार्क, बीपी पार्क विस्तार भइरहेका छन्। यस्तै, प्रगति बाल उद्यान पार्क, अरनिको सालिक तथा पार्क, गुइत दोभार बालकुमारी पार्कको निर्माण पनि हुँदैछ। ललितपुर उपमहानगरपालिकाले यो वर्ष पार्क र बगैंचा निर्माणमा जोड दिएको छ।
काठमाडौंमा रहेका अहिलेका पार्क पछिल्लो समयमा बनाएका होइनन्। यहाँका अधिकांश पार्कहरू देशमा प्रजातन्त्र आउनुभन्दा अघिका हुन्। बालाजु पार्क पहिले महेन्द्र पार्कको नामले चिनिथ्यो। एक सय ६० रोपनीमा फैलिएको पार्क तत्कालीन राजा महेन्द्रले ०१८ साल जेठ २७ मा उद्घाटन गरेका थिए। सन् ०२२ मा यसलाई २२ धारा उद्यान नामांकन गरिएको थियो। यहाँभित्र रहेको २२ धारा यो पार्कको आकर्षण नै हो। पहिले-पहिले सबै धारामा पानी आए पनि हाल भने केही धारामा मात्र पानी झर्ने गरेको छ। महाराजगन्ज धुम्बाराहीस्थित शंख पार्क २७ रोपनीमा फैलिएको छ। ०४४ को चैतमा पञ्चायत रजत जयन्ती बनाउने क्रममा तत्कालीन राजा वीरेन्द्र शाहले उद्यानको रूपमा निर्माण गरेका थिए। यस्तै, काठमाडौंको मुटुमा रहेको रत्नपार्क ०१८ मा निर्माण सुरु गरिएको हो। उपत्यका निर्माण समिति गठन गरी ०२१ बाट यो खोलियो। रत्नराज्य लक्ष्मीदेवी शाहको इच्छा पूरा गर्न राजा महेन्द्रले ४२ रोपनीमा यो पार्क बनाएका थिए।
नक्सालको शान्ति बाटिका ०५८ चैत ५ मा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले सुरुआत गरेका थिए। दुई रोपनीमा फैलिएको यो
पार्कमा ७५ जिल्लाका ढुंगा हेर्न पाइन्छ। लैनचौरस्थित सहिद पार्क ५ रोपनीमा फैलिएको छ। यो २०१५ मा निर्माण गरिएको हो।
'काठमाडौंमा पार्क छन्। तर पर्याप्त छैनन्,' महाशाखा प्रमुख श्रेष्ठ भन्छन्। उपत्यकामा अझै हरियाली बढाउनुपर्छ भन्दै कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर-४ का सभासद गगन थापा नेतृत्वमा काठमाडौं उपत्यकाको विकासको सन्दर्भमा एकीकृत धारणा समेटिएको प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालालाई बुझाइसकिएको छ। प्रतिवेदनमा छ, 'काठमाडौं उपत्यकामा रहेको सार्वजनिक जमिनलाई हरित क्षेत्रका रूपमा विकास गर्न पार्क निर्माण गर्ने, प्रत्येक वडामा कम्तीमा एउटा पार्क बनाउने, हाल अस्तित्वमा रहेका पार्कहरूको पुनस्र्थापना र विस्तार गर्ने तथा प्रतिघर दुई रूखको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने।'
यस्तै, विद्यमान नियमअनुसार महानगरपालिकाले घर सम्पन्न भएको प्रमाणपत्र प्रदान गर्दा घरमा न्यूनतम २ वटा रूख रोपिएको हुनुपर्ने भए तापनि उक्त नियम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। तर, त्यो प्रतिवेदन तत्कालका लागि थन्किएर रहेको छ।
काठमाडौैं विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी सरकारले जग्गा उपलब्ध गराए पार्क र बगैंचा बनाउने बताउँछन्। उनले भने, 'नन्दकिशोर बगैंचा हामीले बनाइरहेका छौं। तीनकुनेमा खाली ठाउँ छ। तर त्यहाँ मुआब्जाको समस्या छ।' उनले अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयले पार्क वा बगैंचा बनाउनतिर ध्यान नदिएको पनि बताए। उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीनै जिल्ला -काठमाडौं, ललितपुर र भक्तपुर) मा कहाँ-कहाँ सार्वजनिक जग्गा छन् र त्यहाँ कसरी पार्क वा बगैंचा बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको भाइकाजीले जनाए।
उपत्यकामा १० प्रतिशतभन्दा बढी हरियाली हुनु जरुरी हुने श्रेष्ठ बताउँछन्। 'तर त्यो पाइँदैन। धोबीखोला, वाग्मती खोला जस्ता कोरिडोर बनेर त्यहाँका दायाँ-बायाँ बगैंचा वा पार्क बन्दै गए १० प्रतिशत कट्न सक्छ,' उनले भने। महानगरपालिकाले रत्नपार्क, खुलामञ्च र रानीपोखरीलाई अझै व्यवस्थित गर्ने जनाएको छ। भूकम्पको दृष्टिले संसारकै जोखिम सहरमा पर्छ, काठमाडौं। तर यहाँ पर्याप्त खुला क्षेत्र छैनन्। मन्त्रिपरिषद्ले यसै वर्ष गरेको निर्णयले खुला सार्वजनिक जग्गालाई भाडामा दिने भनेको छ। त्यसले केही बाँकी जग्गामा पनि पूर्वाधार बन्ने र विभिन्न कार्यालय खडा हुने निश्चित छ। सरकारले नयाँ ठाउँमा पार्क बनाउनेभन्दा पनि भएकैलाई चलाउने नीतिमात्र लिएको छ।
राजधानीका चर्चित पार्क
रत्नपार्क
शंख पार्क
बालाजु पार्क
यूएन पार्क
त्रिभुवन पार्क
 

प्रकाशित मिति: २०७१ फाल्गुन २ ०८:५६