Pages

‘पत्रकारको परीक्षा पाठकले लिने हो, सरकारले होइन’

 नेपालमञ्च संवाददाता
२०७८ असार ५ शनिबार
339Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
जगदीश्वर पाण्डे

जगदीश्वर पाण्डे पत्रकार, लेखक र अनुसन्धानकर्ता हुन् । उनी ‘कान्तिपुर दैनिक’ पत्रिकासँग आबद्ध छन् । कान्तिपुरमा वरिष्ठ उपसम्पादक रहेका उनी विदेश मामिला, सुरक्षा र राजनीतिक विषयमा कलम चलाइरहेका छन् । विगत एक दशकदेखि पत्रकारिता गर्दै आएका उनले यस अघि अग्रेंजी पत्रिका ‘द हिमालयन टाइम्स’ मा प्रिन्सिपल करेस्पोन्डेन्टको रुपमा पनि काम गरेका थिए । पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट अग्रेंजी साहित्यमा स्नातकोत्तर गरेका छन् । भारतको चेन्नाईमा रहेको एसियन कलेज अफ जर्नालिज्जम (एसीजे) बाट पोष्ट डिप्लोमा कोर्स पनि गरेका छन् । पाण्डेले नेपालको परराष्ट्र मामिला सम्बन्धको थिंक–ट्यांक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले कोभिड–१९ को दौरान ‘नेपाल इफोर्ट टु एड्रेस्ट कोभिड–१९ क्राइसिस थ्रु इन्टरनेशनल इन्गेजमेन्ट’ प्रतिवेदन तयार गर्न अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पाण्डे ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथि किताब–२०१४’ का लेखक हुन् । उनी आमसञ्चार विषय पढाउने काम पनि गर्छन् । साथमा उनी मिडिया लिट्रेसीको बारेमा बहस गर्न रुचाउँछन् । पत्रकार पाण्डेसँग नेपालमञ्चले पत्रकारिता विषयमाथि गरेको कुराकानीको सम्पादित अंशः

-तपाई एक दशकदेखि पत्रकारितामा हुनुहुन्छ । पहिले र अहिलेको पत्रकारितामा के फरक पाउनुभएको छ?

म अहिलेको पत्रकारिताबारे एक लाइनमा भन्नुपर्दा अहिले पत्रकारिता स्वतन्त्र भएको देख्छु । हो, मान्छेहरु भन्ने गर्छन्, पत्रकारितालाई सरकारले कन्ट्रोल ग¥यो । पत्रकारितालाई व्यापारीले कन्ट्रोल गरे । तर त्योसँगै अहिले सोसल मिडिया पत्रकारिताको एक प्रमुख भागेदार बन्न पुगेको छ । सोसल मिडियामा लेख्दैमा वा पोष्ट गर्दैमा त्यसलाई पूर्ण रुपमा पत्रकारिता भन्न मिल्दैन । किनकी त्यसमा मिडिया हाउसमा जस्तो जिम्मेवारीवोध हुन्न ।


एउटा व्यक्तिको सनकमा चल्ने हो सोसल मिडिया । उसले जे मन लाग्छ, त्यहि लेख्छ वा पोष्ट गर्छ । त्यसमा हामीले पत्रकारिताका तत्वहरु खोजेर हुन्न । तर त्यो चाँहि के हो भने एउटा सोसल मिडिया पोष्ट पत्रकारिता गर्दा वा समाचार लेख्ने बाटो देखाउने विन्दु चाँहि मान्न सकिन्छ । सबै सोसल मिडिया पोष्टले समाचार लेख्नकै लागि सहयोग गर्छ भन्ने चाँहि होइन । सोसल मिडियाको पोष्टले गर्दा पनि पहिलेको जस्तो कुनै पनि सञ्चार माध्यमले कुनै समाचार नभ्याएर र नलेखेर छाड्दा जनताले थाहा पाउँदैनन् भन्ने हुन्छ । कतिपय समयमा सोसल मिडिया पोष्टबाट पनि ती कुराहरु थाहा पाउन सकिन्छ ।

बढ्दो अनलाइन पोर्टलका कारण पत्रकारिताको दायरा फराकिलो भएको छ । एकै पटक धेरै सञ्चार माध्यममा धेरै समाचारहरु आइरहेका हुन्छन् । अभैm एउटै घटनालाई लिएर फरक सञ्चार माध्यमले आ–आफ्नो एंगलमार्फत प्रस्तुति दिइरहेका हुन्छन् । धेरैले अनलाइन न्यूज पोर्टल बढी भयो । समाचारको बाढी आयो । पत्रकारिता सकियो भन्ने तर्क पनि दिइरहेका छन् । त्यस्ता तर्क दुई धारका मान्छेले दिन्छन् । पहिलो धार, जो पहिला आफूले मात्रै एक्लो रुपमा राज गरिरहेका थिए । जसलाई अहिले धेरै सञ्चार माध्यम बढेपछि आफ्नै एक्लो अस्तित्वमा चूनौति थपिएको छ । दोस्रो धार, आफूमा मिडिया लिस्ट्रेसी छैन । मिडिया र पत्रकारिता बुझेका छैनन् । आफूले नबुझेको कारण अनलाइनका समाचार ठिक हुन्नन् भनेर गाली गरेर बसिरहेका छन् ।

अनलाइन पत्रकारिताकै कारणले गर्दा पहिला अरुको मिडियामा काम गर्नेहरु अहिले आफ्नै मिडिया खोल्न सफल भएका छन् । उदाहरणको लागि सेतोपार्टी, बाह्रखरी, इकागज जस्ता अनलाइन कुनै बेला अरुकै सञ्चार माध्यममा काम गरेका पत्रकारहरुले नै चलाएका हुन् । जुन पत्रकारिताको लागि एउटा नमुना पनि हो ।

पहिलेको अवस्था फरक थियो । केहि मिडिया थिए । ती मिडियाहरुमार्फत नै जनमानसमा विचारको सिर्जना हुन्थ्यो । त्यस बेला न त अललाइन मिडियामा वर्षायामको भेल आए जस्तै गरि समाचार आउथ्यों, न त नागरिकहरुले कुनै पनि विषयवस्तुलाई लिएर सार्वजनिक रुपमा सहजै सोसल मिडियामार्फत विचार दिन सक्थें । त्यसैले पहिलेको पत्रकारिता लिनियर अर्थात् एकोहोरो थियो । र, अहिले ३६० डिग्रीमा पत्रकारिता भइरहेको छ । पहिला सिधै टीभी, रेडियो वा पत्रिकाबाट मात्र समाचार आउँथ्यो । त्यसको लागि निश्चित समयसम्म कुरेर बस्नु पर्ने हुन्थ्यो । तर अहिले आफ्नो वरिपरि, जतिबेला पनि आफूले चाहेपछि समाचार सुन्न, हेर्ने र पढ्न पाइन्छ ।

 

-त्यसो भए पत्रकारितामा आएको परिवर्तनसँगै समाचार लेखनमा फरक पाउनुभएको छ ?

५ वर्ष अघिसम्मको नेपालको समाचार लेखनलाई हेर्ने हो भने समाचार लेखक विषयवस्तुमा बढी फोकस हुन्थ्यो । पत्रकारितामा भन्ने गरिन्छ, नट टु इम्प्रेस, टु एक्स प्रेस । पत्रकारिताको काम कसैलाई खुसी पार्ने होइन, के सत्य–तथ्य हो, यो छाप्ने हो । कुनै पनि घटना भयो भने सबैभन्दा पहिला त्यस विषयको सत्य–तथ्य खोज्ने र त्यस घटनासँग सम्बन्धितहरुको भनाई राख्ने र समाचार बनाउने चलन थियो । र, त्यो नै समाचार लेखनको मुख्य आधार पनि हो । त्यस बेला समाचार लेखन र पत्रिकाका विचार पृष्ठमा फरक हुन्थ्यो ।

तर पछिल्ला केहि वर्ष यता समाचार लेखन विषयबस्तु केन्द्रित भन्दा पनि व्यक्ति केन्द्रित भएको देख्छु । कुनै पनि संवाददातालाई कुनै व्यक्ति मन पर्दैन भने समाजिक सञ्जालमा पनि विरोध गरेर लेख्छ र आफूले लेखेको समाचारमा पनि आफ्नै विचार लादेर समाचार लेखिएको व्यक्तिलाई गाली गरिरहेको हुन्छ । समाचार लेख्दा कुनै पनि व्यक्तिले गलत गरेको रहेछ भने पनि संवाददाता आफैले त्यो गलत भनेर दाबी गर्ने होइन ।

संवाददाताले सम्बन्धित विषय वा क्षेत्रका व्यक्ति होस् या अन्य आवश्यक पक्षसँग सूचना ल्याएर उजागर गरिदिने हो । त्यसैले अहिले समाचार र विचार एउटै भएका छन् । अभैm भन्नुपर्दा सेलिब्रेटी पत्रकार भन्ने नाममा आफ्नो एक्टिभिजमलाई विचारमा परिणत गरेर आफ्ना सोसल मिडियाका पोष्टहरुलाई समाचारको रुपमा पस्किरहेका छन् । साथै, विषयवस्तुमा केन्द्रित पत्रकारले समाचार लेख्दा कुनै पनि गम्भिर विषयमा पनि कि पूर्ण ठिक, कि पूर्ण वेठिक भन्ने समाचारहरु आउन थालेको देखिन्छ । जसले पाठकलाई थप समस्यामा परेका छन् । जसले गर्दा आम जनमानसमा पत्रकारितामाथि विश्वास घट्न थालेको देखिन्छ ।

-तपाईले अहिले समाचार र विचारको कुरा गर्नु भयो । केहि समय अघि पत्रकार विजयकुमारले पनि आफ्नो युटुब च्यानलमा समाचार र विचार फरक हुन् भन्ने तर्क गर्नु भएको थियो । त्यसलाई कसरी टिप्पणी गर्नु हुन्छ?

विजयकुमारजी लामो समय पत्रकारिता गरेका व्यक्ति हुन् । उहाँले भन्नुभएको पत्रकारितामा विचार र समाचार फरक हुन् भन्ने ठिक हो । यस विषयमा मैले माथि पनि चर्चा गरिसकेको छु । हामीले आमसञ्चार र पत्रकारिता पढाउदा कलेजहरुमा पनि त्यहि भनेर पढाउछौं । त्यसो भन्दैमा किताबकै सबै ठिक हुन् र विजयकुमारजीले भन्नुभएको पूर्ण ठिक भन्ने अवस्था पनि अहिले छैन ।

मलाई पनि समाचार र विचारको बारेमा विजयकुमारजीले भनेको जस्तै लाग्थ्यो । सन् २०१७ मा भारतको चेन्नाईमा रहेको एसियन कलेज अफ जर्नालिज्म पढ्दा मैले कक्षामा इटालीका पत्रकार तथा लेक्चर कार्लो पिज्जाटीसँग पनि त्यहि तर्क गरेको थिए । तर पिज्जाटीले समाचार र विचारमा फरक नभएर एउटै रहेको प्रष्ट पारे । उनको भनाई थियो, ‘कुनै पनि एउटा घटनाको समाचार फरक–फरक व्यक्तिले लेख्यो भने उक्त समाचारको सुरुआत, अन्त्य वा लेखन आफ्नै शैलीको हुन्छ । व्यक्ति अनुसार एकै घटनालाई फरक–फरक रुपमा प्रस्तुत गरिन्छ भने त्यो समाचारमा पत्रकारले आफ्नो विचार प्रस्तुत गरेको हो । समाचार र विचार फरक–फरक हुन्थें भने त एउटा घटनाको समाचार सबै पत्रकारले लेख्दा सुरुआतदेखि अन्त्यसम्म नै एउटै हुनुपर्ने थियो । एउटै घटनाका समाचारहरु फरक–फरक आउनुको मुख्य कारण पत्रकारले त्यसमा आफ्नो विचार पनि प्रयोग गर्छन् ।’ त्यसैले समाचार र विचारको बारेमा हाम्रो पाठ्यक्रममा रहेका विषयवस्तुभन्दा बाहिर निस्केर पनि हामीले छलफल गर्न आवश्यक देख्छु ।

-तपाईले मिडिया लिट्रेसीको कुरा गर्नुभयो । यो के हो र किन आवश्यक देख्नुहुन्छ?

मिडिया लिट्रेसी भनेको मिडिया साक्षरता हो । मिडियाकै मान्छे, पत्रकार नै समाचारका विषयमा कन्फ्युज भइरहेको देख्छु । अहिले सूचनाको बाढी आइरहेको बेलामा मिडियाको समाचार पढ्न, हेर्न र सुन्नको लागि साक्षरता मात्र भएर प्रर्याप्त हुन्न । पाठकले मैले कुन सूचना, कुन मिडियाबाट, कसले लेखेको भन्ने बारेमा पहिले नै थाहा पाउनु पर्नेदेख्छु ।

अहिले पार्टीगत, व्यक्तिगत र निश्चित स्वार्थ भएका व्यक्तिहरुले पनि मिडिया चलाएका छन् । त्यसैले गर्दा कुन मिडियामा कस्ता समाचार आउन सक्छन् र त्यसको प्रस्तुति कस्तो हुन्छ भन्ने कुरा एउटा मिडिया लिट्रेसी भएको पाठकले पहिले नै अनुमान गर्न सक्छ । जसले गर्दा उसलाई कहिले पनि पत्रकारको सूचना र विचारले झुक्याउन सक्दैन । नेपाल जस्तो अल्पविकसित मुलुकहरुमा त झन् सूचनाको खेती हुने गर्छ । त्यसैले मिडिया लिट्रेसीको अत्यधिक महत्व छ । यसमा मिडिया लिट्रेसी छैन, उसले कुन सूचना लिने र कुनलाई छाड्ने भन्ने थाहा हुन्न । जसले गर्दा पाठक आफै समस्यामा पर्छ ।

मिडियालाई कन्ट्रोल वा मोनिटरिङ गर्ने भन्ने कुरा प्रजातान्त्रिक मुलुकमा हुन्न । त्यसमा हाम्रो संविधानले पनि प्रेस स्वतन्त्रताको बारेमा प्रष्ट बोलेको छ । लोकतान्त्रिक मुलुकहरुमा मिडियाले जनताको दायित्वलाई बहन गरे भने उनीहरु टिक्छन्, तर पाठक र जनतालाई नभएर आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने मिडियाहरु बन्द हुन्छन् ।

अन्त्यमा, पछिल्लो समय सरकारले पत्रकारलाई परीक्षा लिने र मिडियालाई मोनिटरिङ गर्ने भन्ने आइरहेको छ । यी विषयहरुलाई कसरी हेर्नुहुन्छ?

स्पष्ट रुपमा भन्दा पत्रकारलाई परीक्षा लिनुपर्छ भन्नेमा म छैन । किनकी पत्रकारलाई मिडिया लिट्रेसीको राम्रो ज्ञान भएका पाठकले हेरिरहेका हुन्छन् । उनीहरुलाई को पत्रकार हो वा होइन भन्ने कुरा राम्ररी थाहा हुन्छ । अहिले हाम्रोमा मिडिया साक्षरता कम छ । यस्तोमा पार्टीका पत्रकार, व्यापारीका पत्रकार र खेती गर्ने पत्रकारले गर्दा व्यवसायीक पत्रकारलाई समेत जोडेर सरकारले परीक्षा दिनुपर्ने भन्ने जस्ता कुरा अघि बढाएको हो ।

एउटा व्यवसायीक पत्रकारले आफ्नो भूमिका पूर्ण रुपमा बुझेको हुन्छ । उसलाई परीक्षा पास र फेलको कुनै मतलब हुन्न । तर यो कुरा चाँहि आवश्यक हुन्छ कि पत्रकारिता गर्न कम्तिमा पनि स्नातक पढेको हुनुपर्छ । परीक्षा पास गरेर लाइसेन्स पाएको पत्रकारले लगातार गलत समाचार लेख्यो भने के गर्ने ? पत्रकारको परीक्षा जनता (पाठक, श्रोता र दर्शक)ले लिने हो, सरकारले होइन ।

अर्को तर्फ मिडियालाई कन्ट्रोल वा मोनिटरिङ गर्ने भन्ने कुरा प्रजातान्त्रिक मुलुकमा हुन्न । त्यसमा हाम्रो संविधानले पनि प्रेस स्वतन्त्रताको बारेमा प्रष्ट बोलेको छ । लोकतान्त्रिक मुलुकहरुमा मिडियाले जनताको दायित्वलाई बहन गरे भने उनीहरु टिक्छन्, तर पाठक र जनतालाई नभएर आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने मिडियाहरु बन्द हुन्छन् ।

नेपालमा कुनै बेलाका चर्चित मिडियाहरु अहिले कुन अवस्थामा पुगेका छन्, त्यहि हेरेर पनि हामी प्रष्ट हुन सक्छौं । त्यसले सरकारले मिडिया सञ्चालनका लागि आवश्यक कानुन निर्माण गरेर सहजीकरण गरिदिने हो । सरकारको काम मिडियालाई कन्ट्रोल र मोनिटरिङ गर्ने कदापी होइन । राज्यको चौथो अंगको रुपमा परिचित मिडियामाथि सरकारले निगरानी गर्न थाल्यो भने लोकतन्त्र नै धरापमा पर्छ ।



Source: https://nepalmanch.com/12469/