Pages

‘यहाँ कसैसँग भिजन छैन’

  • नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का धेरै बोल्दैनन् । नेपाली क्रिकेटलाई सफलताको स्वाद चखाउने कप्तान खड्का पछिल्लो समय भने सफल हुन सकेनन् । २०१४ मा पहिलोपटक टि–ट्वान्टी विश्वकप पुगेको नेपाली टिम यसपटक भने छनोट हुन सकेन । आफ्नो सफलता, असफलता, क्रिकेट, क्रिकेट प्रशासन र अहिलेको समाजबारे खड्कासँग जगदीश्वर पाण्डेले गरेको कुराकानी ।
कान्तिपुर संवाददाता, काठमाडौं
अहिले हामी खेलाडीहरू मिलेर केही योजना बनाएका छौं । क्रिकेटको संरचनामा केही फरक ल्याउन यो प्रयोग गर्न लागेका हौं । अबको ६ महिनामा योजना सार्वजनिक गर्नेछौं । हामीले परिवर्तन ल्याउन लागेका छौं । सभासद ६ सय १ जना छन् । हामीले ठीक मान्छे चुनेनौं त म भन्दिनँ । तर मलाई लाग्छ, नचाहेरै संविधान नबनेको हो । हामीले चुनेका मानिसहरूले नै बनाउन नखोजेजस्तो लाग्छ । हरेक दिन वार्ता भइरहेका छन् । एउटा मिले अर्को नमिल्ने । तेस्रो मिले चौथो नमिल्ने, चौथो मिले पाँचौं नमिल्ने । यो कहिलेसम्म चल्छ ?
भाद्र १९, २०७२- यसपालि विश्वकपमा नेपाललाई देख्न नपाइने भइयो, खेलमा कहाँ चुकियो भन्ने लाग्छ ?
कप्तानका रूपमा विश्वकप पुग्न असफल भएको जिम्मेवारी मैले लिनुपर्छ । हामीले कोसिस गरेका थियौं तर योपटक हामीले आफ्नो क्षमताअनुसार खेल्न सकेनौं । वातावरण र पिचलाई दोष दिनु गलत हुन्छ । यो हार र गल्तीबाट हामीले सिकेका पनि छौं ।
नेपाल अहिले डिभिजन वानमा छ, यो उपलब्धि हो । नेपालमा क्रिकेटको बिउ उम्रिइसक्यो । बिउभन्दा माथि जरा उब्जिसक्यो । स्कुल कलेजमा क्रिकेट खेलिन्छ, सानै उमेरदेखि क्रिकेट खेलिन्छ । मेचीदेखि महाकालीसम्मै क्रिकेट पुगेको छ । क्रिकेटको विकास गर्ने अवसरहरू सिर्जना गर्न सक्ने हो भने हामी डराउनु पर्दैन । त्यसका लागि हामीलाई पूर्वाधार चाहिन्छ । कम्तीमा पनि एउटा मैदान जहाँ पिच होस्, सधैं क्रिकेट अभ्यास गर्न पाइयोस् । ठूलो सुविधासम्पन्न रंगशाला चाहिन्छ भनेको पनि होइन । तर घरेलु प्रतियोगिता भइरहनुपर्‍यो । 
डिभिजन वानबाट माथि पुग्ने सम्भावनाचाहिँ कति छ ?
डिभिजन वानमा पुगेपछि यहाँभन्दा माथि भनेको वान–डे र टेस्ट मान्यता हो । त्यो पनि असम्भव छैन । तर माथि बढ्नलाई आधार बलियो हुनुपर्छ । अहिले क्रिकेटलाई सहयोग गर्ने धेरै आउँछन् । प्रायोजकहरू पनि आउन आनाकानी गर्ने अवस्था छैन । घर–घरमा गएर प्रयोजक खोज्न सक्नुपर्‍यो । आफ्नो स्वार्थभन्दा पनि देशको क्रिकेटलाई माथि लानुपर्छ भनेर काम गर्नुपर्छ । देशका लागि काम गरे आफ्नो व्यक्तिगत स्तर आपैंm बढ्छ । इमानदार भएर लाग्नुपर्छ । पद्धति राम्रो बनाउन क्रिकेटमा केही सुधार गर्नु नै पर्छ । 

तपाईं पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आक्रामक हुनुभएको छ नि ?
क्यानलाई त मैले केही भन्न बाँकी छ जस्तो लाग्दैन । हामी खेलाडीले खेल्न सक्छौं । नीति बनाउने, दीर्घकालीन योजना बनाउने काम त क्यानको हो नि, खेलकुद मन्त्रालय, राखेपको हो नि । क्यानलाई कुन स्तरमा क्रिकेटको विकास गर्ने भन्ने थाहा भएन भने कसरी प्रगति हुन्छ ? यसैले सबैले आ–आफ्नो ठाउँबाट आफ्नो काम इमानदार भएर गर्नुपर्‍यो । 
मतलब राजनीति बढी भयो ? 
क्यानमा राजनीति पहिलेदेखि नै थियो । पछिल्लो ५ वर्षमा नतिजा राम्रो आएकाले त्यो छोपिएको हो । जितले खराबी पनि छोपिदिन्छ । हारमा बल्ल कारणको खोजी गरिन्छ । राजनीति हुन्छ पनि तर त्यो सही कामका लागि हुनुपर्‍यो । युरोपको खराब नतिजापछि मलाई पनि धेरै पत्रकारले खेलभन्दा बढी राजनीति गर्न खोजेर बिग्रेको भने । हाम्रो काम राजनीति गर्ने होइन, खेल्ने हो । 
तपाईंले प्रशिक्षक पुवुदु नभए खेल्दिनँ भन्नुभयो । खेलाडीले फलानो प्रशिक्षक नै चाहिन्छ भन्न मिल्छ ? यो राजनीति भएन ? 
म अहिले पनि भन्छु यो देशका लागि पुवुदु अझै चाहिन्छ । उनी यस्ता मान्छे हुन्, जसले नेपाललाई विश्वकप खेल्न सक्ने बनाए । उनकै कारण नेपालमा क्रिकेटको यस्तो माहोल बनेको हो । यसैले पुवुदु नै चाहिन्छ भन्नु गल्ती थिएन । क्रिकेटलाई लोकप्रिय बनाइदिने त्यही मानिसलाई हामी क्यानका १५ देखि २० जना मान्छेको स्वार्थअनुसार चलेन भनेर निकाल्न खोज्दै थियौं । पुवुदु सरले सिस्टममा क्रिकेट चल्नुपर्छ भने । कसैको मनलाग्दी हुनु हुँदैन भने त्यसैले निकाल्न खोजियो । त्यतिबेलाको भनाइ मेरो मात्र होइन, पूरा टिमको थियो । 
क्यान तपाईंले भनेजस्तै हो भने त नेपालमा क्रिकेटको विकास कसरी होला ?
क्यान पदाधिकारीहरूको समस्या कुनै भिजन नहुनु हो । म एउटा उदाहरण दिन्छु– आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) र एसीसी (एसियन क्रिकेट काउन्सिल) को बैठकमा मलाई कप्तानका रूपमा बोलाइएको थियो । त्यो बैठकमा हाम्रा क्यानका कोही पनि बोल्नै सकेनन् । एक वर्ष, दुई वर्षको त कुरै छोडौं, उनीहरूले एक दुई महिनाको पनि भिजन दिन सकेनन् । यस्तोमा हामीले कसरी आशा गर्ने ? अहिलेसम्म खेलाडी र लोकल तथा विदेशी प्रशिक्षकहरूकै मिहिनेतले नतिजा आएको हो । पुवुदु सर र नेपालका अरू स्थानीय प्रशिक्षकको मिहिनेतले यो सफलता पाइएको हो । यसैले ५ वर्षअघि २५ डलर भत्ता थियो, अहिले ५० डलर पुग्यो भन्न मिल्दैन । त्यो त खेलाडीले राम्रो खेलेकाले एसीसी र आईसीसीले दिएको सुविधा हो । हाम्रो सोचै सानो भयो । पुवुदु सरलाई मैले ल्याएको पनि होइन, मैले राखेर पनि राखिंदैन । मैले खाली हामीलाई चाहिन्छ भनेको हुँ ।
अरू प्रशिक्षकले जिताउनै सक्दैनन् त ?
मैले त्यस्तो भनेको होइन । उनको भिजन ठूलो छ । उनलाई राख्ने नराख्ने सिस्टमको कुरा हो, मेरो होइन । पहिला रोय डायस थिए । उनको पनि नेपाली क्रिकेटमा योगदान छ । पुवुदुले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउने बाटो देखाएका हुन् । मैले पुवुदु नभए खेल्दिनँ भने । ३ महिनापछि म टिममा नहुन पनि सक्थें । मैले खराब संरचनामा खेल्न सकिँदैन भनेको हुँ । 
क्यानमा परितर्वन कसरी हुन्छ त ? 
क्यान सुध्रिँदैन । हामी खेलाडी धेरै ठाउँ गयौं, राखेपदेखि प्रधानमन्त्रीसम्म पुग्यौं । तर, यहाँ काम गर्ने क्षमता र इच्छा शक्ति देखिँदैन । अहिलेका खेलाडी क्यानमा पुगेपछि केही परिवर्तन होला, नत्र मलाई बढी आस छैन ।
अहिले हामी खेलाडीहरू मिलेर केही योजना बनाएका छौं । क्रिकेटको संरचनामा केही फरक ल्याउन यो प्रयोग गर्न लागेका हौं । अबको ६ महिनामा योजना सार्वजनिक गर्नेछौं । हामीले परिवर्तन ल्याउन लागेका छौं । यो काम पनि क्यान मार्फत नै गर्ने हो । क्यान नै हाम्रो क्रिकेटको आधिकारिक संस्था हो ।
यसमा क्रिकेट विकासकै कुरा छ । कसैले पनि नगरेपछि हामी आपैंm बाध्य भएका छौं । प्रधानमन्त्री, खेलुकद मन्त्रालय, खेलकुद परिषद् र क्यान सबैसँग स्वीकृति लिएर काम गर्छौं । राम्रो कामलाई सबैले स्विकार्नेछन् । म अहिले यसबारे धेरै बोल्न चाहन्नँ, पहिले काम गरेर देखाऊँ ।
नेपाली क्रिकेटमा अर्को पारस खड्का देखिएन भनिन्छ, यसको कारण के होला ? 
त्यस्तो होइन । म नहुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । म नभए, उनले टिमलाई नेतृत्व गर्दा पनि फरक पर्छ जस्तो लाग्दैन । कप्तानी मात्र सबै कुरा होइन, सबैभन्दा पहिलो त खेल हो । मैले राम्रो खेलें भने टिममा पर्ने हो र अनिमात्र कप्तान हुने हो । हरेक खेलाडीको ‘रिप्लेसमेन्ट’ हुन्छ । मैले भोलि छाडेपछि नेपाली क्रिकेटलाई योभन्दा माथि पुर्‍याउने आओस् भन्ने हो ।
हामी टि–ट्वान्टी विश्वकपमा पुग्यौं । म चाहन्छु वान–डेको विश्वकप पनि पुर्‍याउन सक्यौं । त्यो मेरो पालामा हुन्छ वा हुँदैन थाहा छैन । कप्तानका रूपमा मैले पछिका खेलाडीलाई ‘गाइड’ गर्नुपर्छ । जस्तै भारतमा सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविडपछि महेन्द्रसिंह धोनी र अब विराट कोहलीलाई अघि ल्याइएको छ । हामीले खेलाडीलाई तिखार्नुपर्छ । देशमा राम्रा खेलाडी छन्, हामीले उनीहरूलाई चिन्न सक्नुपर्छ । 
२२ वर्षपछि फुटबलमा नेपालले उपाधि जित्यो । कस्तो लागिरहेको छ ? 
म फुटबलको ठूलो फ्यान हुँ । हरेकपटक रंगशालामा गएर खेल हेर्छु ।
यसपालिको खेल घरमै टीभीमा हेरें । खेल राम्रो थियो । यू–१९ टिमले उपाधि नै जित्यो । फुटबलले क्रिकेटजस्तै नतिजा ल्याएको भए, नेपालको फुटबलको स्तर अर्कै हुन्थ्यो होला । फुटबलको जस्तो घरेलु संरचना भएको भए, क्रिकेट अझै माथि जान्थ्यो होला ।
अहिलेको फुटबलको उपाधि अब नयाँ सफलता सुरुआत हो कि जस्तो लाग्छ । अहिलेको युवा टिमले कसरी जित्यो भन्ने ४० वर्षपछि थाहा हुन्छ । अहिले नै भन्न सकिँदैन । 
सफल कप्तानका रूपमा तपाईं युवाहरूबीच लोकप्रिय हुनुहुन्छ । तपाईं राजनीतिक विषयमा पनि चासो 
राख्नुहुन्छ कि राजनीतिलाई वास्ता गर्नु हुन्न ? 

म राजनीति बढी बुझ्दिनँ । पत्रपत्रिका टेलिभिजन हेर्छु । अहिले चलिरहेको आन्दोलनहरूबारे मलाई थाहा छ । यसमा मेरो सामान्य भनाइ छ, नागरिकहरूका माग छन् भने तिनलाई बोलाएर वार्ता गर्नु सरकारको काम हो । सबै माग पूरा गर्न नसक्ने खालका हुन सक्छन्, त्यस्तोमा कुरा गरेर मिलाउनुपर्‍यो । यस्तैमा बलियो र दूरदर्शी नेतृत्व चाहिने हो । हाम्रोमा यसको अभाव देखिन्छ ।
डाक्टर गोविन्द केसी एउटै मागमा छैटौंपटक अनशन बस्नुभएको छ ।
उहाँ आफ्ना लागि लडेको होइन, उहाँको कुरा माथिका मान्छे स्वास्थ्य मन्त्रालय, स्वास्थ्यमन्त्रीले बुझ्नुपर्‍यो । मलाई लाग्छ, यस्ता
समस्या ठीक ठाउँमा ठीक मान्छे नहुँदा आएका हुन् ।
क्रिकेटमा पनि त्यस्तै भएको छ । हामीले पटक–पटक घरेलु क्रिकेट प्रतियोगिता राम्रो हुनुपर्‍यो भनेर हड्ताल गर्‍यौं । अहिलेसम्म कुनै सुधार भएको छैन । मान्छेहरूको मुखमात्र परिवर्तन भए तर काम गर्ने शैली परिवर्तन भएन । मैले देखेको हरेक क्षेत्रमा त्यही हो । ठूला र मुख्य संरचनाहरूमा परिवतन भएकै छैनन् । यसैले काम गर्न सक्नेले मौका पाउँदैनन् । 
संरचना परिवर्तन गर्न के गर्नुपर्ला त ?
हामी सबैजना कराउने मात्र हो । हामी फेसबुक, ट्विटरमा लेख्छौं । तर वास्तवमा हामी कति जना देश निर्माण गर्न लागेका छौं । अहिले फेसबुकमा २ हजार जनाले देश बनाउने कुनै कार्यक्रममा प्रतिबद्धता जनाए भने बाहिर निस्कँदा २ सय पनि आउँछन् कि आउँदैनन् । भन्न सजिलो छ तर काम गर्न गाह्रो । जो पावरमा छन्, उनीहरूलाई पनि काम गर्न सहज छैन । 
संविधान निर्माण प्रक्रियालाई कसरी हेर्नुभएको छ ?
सभासद ६ सय १ जना छन् । हामीले ठीक मान्छे चुनेनौं त म भन्दिनँ । तर मलाई लाग्छ, नचाहेरै संविधान नबनेको हो । हामीले चुनेका मानिसहरूले नै बनाउन नखोजेजस्तो लाग्छ । हरेक दिन वार्ता भइरहेका छन् । एउटा मिले अर्को नमिल्ने । तेस्रो मिले चौथो नमिल्ने, चौथो मिले पाँचौं नमिल्ने । यो कहिलेसम्म चल्छ ? सीमित राजनीतिक बुझाइमा मैले देखेको यही हो ।
देश बनाउन, व्यवस्था कायम गर्न नियम कानुनको पनि गतिलो कार्यान्यवन हुनुपर्छ । सबभन्दा राम्रो उदाहरण हो– मापसे चेकिङ । यसले कसैलाई पनि छाड्दैन । यसमा पावर पनि लाग्दैन । नियम बनाए यसरी नै कार्यान्वयन गर्नुपर्छ । ३ करोड नेपाली सबैले सबैले आ–आफ्नो जिम्मेवारी आ–आफ्नो स्थानबाट पूरा गर्ने हो भने देश बन्छ । होइन भने माथिबाट कडा कानुन बनाएर
लगाउनुपर्ने हुन्छ । नत्र यस्तो ‘ग्रे जोन’ मा बसेर देश बन्दैन ।



प्रकाशित: भाद्र १९, २०७२