Pages

मृगौला रोगी भन्छन्- उपचार गर्दागर्दै सुकुम्बासी

मकवानपुर थाहा नगरपालिकाका तीर्थलाल रुम्बाको दुवै मृगौलाले काम गर्न छाडेको चार वर्ष भयो। टिस्टुङ पालुङमा खेतबारीमा काम गरिरहेकै बेला उनको रक्तचाप एक्कासि बढेर २२० पुग्यो। त्यसपछि स्थानीय स्वास्थ्यकर्मीले उपचारका लागि काठमाडौं जान सल्लाह दिए। उनले पाटन अस्पतालमा परीक्षण गराए। उनलाई बल्ल थाहा भयो, मृगौलाले काम गर्न छाडेको।

तीन सन्तानका बावुको पीडा त्यसपछि सुरु भयो।
३४ वर्षीय उनले आफ्नो उपचारमा २० लाख रुपैयाँ सकाइसकेका छन्। गाउँको ११ रोपनी जग्गा १७ लाख रुपैयाँमा बिक्री गरे उनले। 'सातामा दुई पटक डायलाइसिस गर्नुपर्छ,' उनले भने, 'उपचारकै लागि गाउँको जग्गा सस्तैमा बिक्री गर्नु पर्‍यो।' रुम्बाका अनुसार सुरु-सुरुमा एक पटकमा ३ हजार रुपैयाँ खर्च हुन्थ्यो। डेढ वर्षदेखि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउँदै आएका छन्। केन्द्रमा एकपटक डायलाइसिस गराउँदा १ हजार ४ सय ५० रुपैयाँ खर्च हुने गरेको उनले बताए। लमजुङ नाल्माका ५८ वर्षीय दुधाजंग गुरुङको दुवै मृगौलाले काम गर्न छाडेको ६ महिना भइसक्यो। उपचारका क्रममा उनको पनि करिब ८ लाख सकिसकेको छ। ५ वर्ष साउदी अरबमा बसेर ०६२ मा फर्किएका उनी गाउँमै किसानी गरेर बस्थे। तर उपचार गर्न धेरै खर्च लाग्ने रोग लागेपछि उनी काठमाडौंमा बस्न बाध्य छन्। जेठो छोरा रिगेन्द्र उनको साथमा छन्। यस्तो बिरामीलाई एकजना मान्छे सधंै चाहिन्छ। किनकि बिरामी कुनै पनि समय ढल्न सक्ने अवस्था हुने स्वास्थ्यकर्मी बताउँछन्। उनका कान्छा छोरा सुरेन्द्र दुबईमा छन्। 'उपचारमा छोराले पनि सहयोग गरिरहेका छन्,' उनले भने।

म्याग्दीका हरिबहादुर घर्ती पनि श्रीमती खममायाका साथ उपचार गर्न राजधानी आएका छन्। ६ वर्ष कतारमा बसेर आएका उनलाई ३ महिनादेखि मृगौलामा समस्या छ। 'यो रोग लाग्दा खान मन नलाग्ने, छाती दुख्ने, खुट्टाको मासु करकर खाने र उल्टी आउन खोज्ने जस्तो समस्या हुन्छ,' उनले भने। विदेशमा कमाएको ३ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए।

रुम्बा, गुरुङ र घर्ती त मृगौला रोगबाट थलिएर उपचारमा आफ्नो जायजेथा सकाएका उदाहरण मात्रै हुन्। नेपालमा यस्ता पीडित एक हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ।

आपmनो सम्पत्तिले मात्रै उपचार गर्न नसक्ने भएपछि मृगौला रोगबाट थलिएका बिरामीहरू सरकारबाट सहयोग मागेका छन्। सरकारलाई दबाब दिन राजधानीको रत्नपार्कमा उनीहरू अनशन नै बस्नु पर्‍यो। मृगौला रोगबाट थलिएकाहरू आपmनो दुखाईको पीडा बिर्सेर बिहान रत्नपार्क आउँथे, बेलुका डेरा र्फकन्थे। यो क्रम गत शुक्रबारसम्म जारी थियो। सरकारलाई दबाब दिन राष्ट्रिय मृगौला पीडित संघ नै गठन गरेका छन्। उनीहरूले ५४ दिनसम्म रिले अनशन गरे। अनशनकै क्रममा उक्त अवधिमा ५ जनाको मृत्यु भयो। 'सरकारबाट सहयोग पाउँला र उपचार गरौंला भन्ने आसमा रहेकाले उपचार खर्च नभएकै कारण ज्यान गुमाउनु पर्‍यो,' मृगौला रोगबाट थलिएका झापाका डम्बरबहादुर विकले भने।

मृगौला रोग गरिब देशको धनी रोग भएको पीडितहरू बताउँछन्। सबै कुरा पैसामात्र होइन भनिन्छ। तर यी मृगौला पीडितका लागि सबै कुरा रकम नै रहेछ। किनकि साताको कम्तीमा पनि दुई पटक डायलाइसिस गर्नुपर्छ। यो सँगै अर्को सातामा ३ पटक डायलाइसिस गर्नुपर्छ। उपचारकै लागि उनीहरूमध्ये कसैले घरजग्गा नै बेचिसके। कोही बेच्ने तर्खरमा छन्। कोही ऋणमा छन्।

झापाका डम्बरबहादुरले उपचारको क्रममा १८ लाख रुपैयाँ सकिसकेको बताए। नयाँ बसपार्कका फुटपाथमा तीन वर्षअघि पसल गरेर गुजारा गर्थे। पसलबाट कमाएको रकम सकिएको उनले बताए। 'उपचारमा आफ्नो पैतृक सम्पत्ति र कमाएको पैसा पनि सकियो। थप ऋण लागिसक्यो,' उनले भने।

नेपालमा एकजना मृगौला पीडितले ५ लाख ६० हजार रुपैयाँको सुविधा लिंदै आएका छन्। त्यसमा दुई लाख मृगौला प्रत्यारोपण गर्न, प्रत्यारोपणपछि औषधिका लागि २ लाख र बाँकी २ लाख ६० हजार रुपैयाँको भने एक सय दुई पटक निःशुल्क डायलाइसिसका लागि सुविधा दिंदै आएको छ। पीडितले त्यो पर्याप्त नभएको भन्दै अनशन बसेका थिए। सरकारले उनीहरूको माग सम्बोधन गर्दै थप सुविधा दिने योजना बनाएको छ। गत शुक्रबार स्वास्थ्य मन्त्रालयका निमित्त सचिव तीर्थराज बुर्लाकोटी र मृगौला पीडित संघका अध्यक्ष चिन्तामणि पोखरेलबीच सम्झौता भएको छ।

 'मन्त्रालयमा कुरा भइरहेको छ,' बुर्लाकोटीले भने। उनले पीडितले गरेको लामो अनशन तोड्ने क्रममा अहिले एक बिरामीलाई दिंदै आएको १ सय २ पटकको निःशुल्क डायलाइसिस २ सय ४ मा पुर्‍याउने, क्षेत्रीय स्तरमा पनि डायलाइसिसलाई अघि बढाउने जस्ता कुरालाई मन्त्रालयमा छलफल गर्ने र मन्त्रिपरिषद्बाटै निर्णय गरिदिने प्रतिबद्धता व्यक्त गरेको पीडितहरूको दाबी छ।

खिलराज रेग्मी सरकारको पालामा मृगौला पीडितलाई ५ लाख ६० हजार सहयोग गर्ने घोषणा गरिएको थियो। उनीहरूले देशमा नेता र आफूहरू बीचमा हुने भिन्नताप्रति दुःख व्यक्त गरे। 'देशका ठूला नेता केपी ओलीलाई मृगौलाकै समस्या हुँदा सरकारले विदेशमा लगेर निःशुल्क उपचार गराइदियो। प्रधानमन्त्री सुशील कोइरालालाई पनि सरकारले नै उपचार गर्‍यो। अन्य नेतालाई पनि सरकारले नै उपचार गर्दै आइरहेको छ। तर हामी गरिब जनतालाई भने किन यस्तो गरेका होला। सरकार नेताहरूको मात्र हो?' प्रतिप्रश्न गर्दै उनीहरूले गुनासो गरे।
प्रकाशित मिति: २०७१ श्रावण २४ ०९:०१