Pages

हलो सरकार ! के छ हाल?

 - हामी सिन्धुपाल्चोकको बाह्रबिसेबाट बोलिरहेका छौं। वडा नै पहिरोले लग्यो। यत्रो आपत्मा पर्दा पनि उद्धार खै?

- सरकारले उद्धार गर्न ढिलाइ गरेको छ। छिटोभन्दा छिटो उद्धार हुनुपर्‍यो।

- यति ठूलो पहिरो जाँदा पनि उद्धारको काम छिटो हुन सकेको छैन। सरकार एक्लैले गर्न सक्दैन भने अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग लिनुपर्‍यो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेको हेलो सरकारमा ४ दिनदेखि लगातार यस्तै गुनासा र सुझाव आइरहेका छन्। सुनकोसी नदी थुन्ने गरी शनिबार बिहान गएको पहिरोमा परी १ सय ५६ जनाको मृत्यु भइसकेको छ। शव भने ३३ जनाको मात्र भेटिएको छ।


'घटना भएलगत्तै उद्धार छिटो गर्नुपर्छ भनेर फोन बज्न थाल्यो,' हेलो सरकारमा फोन उठाउने कर्मचारी भन्छन्, 'पछिल्लो ४ दिनमा सबैभन्दा बढी त्यसैको बारे लगातार फोन आइरहेको छ। कसैले सुझाव दिन्छन्, कसैले समस्या सुनाउँछन्।'

हेलो सरकारमा जनताका सुझाव र गुनासा सुन्न तीन सिफ्ट (बिहान ७ देखि दिउँसो २, दिउँसो २ देखि राति ९ र राति ९ देखि बिहान ७ बजेसम्म) कर्मचारी राखिएको छ। उनीहरूको काम सुझाव र गुनासालाई लेखेर सम्बन्धित निकायमा समाधानका लागि बुझाउनु हो।

२०६८ कात्तिक १७ देखि हेलो सरकारको सुरुआत गर्दाको जस्तै अहिले त्यति धेरै फोन भने नबज्ने एक कर्मचारीले बताए। 'नेपालमा सधैं त्यस्तै हुन्छ। सुरुआतमा के-के न हो भनिन्छ पछि त्यो साम्य हुँदै जान्छ,' ती कर्मचारीले भने।

करिब ४ वर्षको अवधिमा हेलो सरकारमा ३२ हजारभन्दा बढी उजुरी दर्ता भएको तथ्यांक छ। भर्खरै प्रधानमन्त्री कार्यालयबाट बिदा भएका सचिव कृष्णहरि बाँस्कोटाले असार २५ मा त्यसबेलासम्मको तथ्यांक प्रस्तुत गर्दै ९७ प्रतिशत उजुरीको काम भएको दाबी गरेका थिए। हेलो सरकारले उजुरीका आधारमा आफैले गर्न सक्ने काम आफैले गर्ने गरेको सचिव शान्तराज सुवेदीले जनाए। 'उजुरी परेका आधारमा सम्बन्धित मन्त्रालय वा कार्यालयअन्तर्गतका कामका लागि भने त्यहीं पठाउने गरेका छौं,' उनले भने।

हेलो सरकारमा ढल, बाटो, संविधान बनाउने, भ्रष्टाचार, शिक्षालगायत क्षेत्रका प्रत्यक्ष/परोक्ष सरोकारबारे उजुरी र सुझाव आउने गरेको छ। चार दिनअघिसम्म सबैभन्दा बढी सुझाव संविधान तोकिएको समयमा बनाउनुपर्छ भन्ने आएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण र सिन्धुपाल्चोकमा गएको पहिरोले गर्दा अहिले गुनासा र सुझाव पनि तिनै विषयमा आएका छन्।

मोदी आउनु केही दिनअघिसम्म 'सीमाबारे खुलेर कुरा राख्ने र आफ्नो कुरा राम्ररी भन्ने' जस्ता सुझाव आएका थिए। जनताले हेलो सरकारमा सम्पर्क गर्न ११११ फोन वा एसएमएस गर्न सकिन्छ। त्यस्तै ११०० मा फ्याक्स पनि गर्न सकिन्छ।
प्रकाशित मिति: २०७१ श्रावण २२ ०८:१२