Pages

धारिलो पुस्ता

उमेर समूहको क्रिकेटमा पाँच वर्षदेखिको खडेरी चिर्दै जब नेपालको १६ वर्षभन्दा कम उमेरका क्रिकेट खेलाडीहरूले मलेसियामा सम्पन्न 'एसीसी यू-१६ प्रिमियर लिग' कब्जा गरे तब नेपाली क्रिकेटको भविष्यको पुस्ताको योग्यताका बखानहरूले नेपाली छापाहरू रंगिए। अहिलेको जितको अर्थ नेपालका लागि किन पनि महत्वपूर्ण छ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गरेको वर्गीकरणअनुसार टेस्ट क्रिकेट वा एक दिवसीय क्रिकेट खेल्ने योग्यता नभएका दोस्रो दर्जाका मुलुकहरूमा नेपालले आफ्नो अब्बलता प्रमाणित गरेको छ। 

मलेसियामा प्राप्त पछिल्लो सफलता किन पनि अर्थपूर्ण छ भने त्यहाँ नेपाली खेलाडीहरूका साथ प्रशिक्षकका रूपमा पनि पहिलो पटक एक नेपाली नै थिए। यो सफलतालाई एक कदम अगाडि गएर विश्लेषण गर्ने हो भने के भन्न सकिन्छ भने खेलाडीहरूमा देखिएको सुधारसँगै नेपाली प्रशिक्षकहरू पनि रणनीति बनाउने कलामा खारिँदै गएका छन्। यस्तो बहुआयामिक सफलताको अर्थ हुन्छ भविष्यमा नेपाली क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ र त्यसका लागि नेपाली क्रिकेटको धारिलो पुस्ता क्रमशः खारिँदै जान थालेको छ। 



क्रिकेटका स्टार

अनिल खरेल, स्पिनर

१३ वर्षमा १३ विकेट 

अनिल खरेल फुटबर बन्न चाहन्थे। बाल्यावस्थामा उनले भलिबल र फुटबल खेले। 'स्ट्राइकर थिएँ, धेरै गोल गरेको छु,' खरेलले सुनाए। फुटबलका यी पूर्वस्ट्राइकर अहिले नेपाली युवा क्रिकेट टिमका 'स्ट्राइक बलर' हुन्। नेपालले एसीसी यू-१६ प्रिमियर लिगको उपाधि जित्ने क्रममा यी फुच्चे खेलाडी नायक रहे। उनले आफ्नो उमेरजति नै १३ विकेट लिए र प्रतियोगिताकै 'मोस्ट प्रोमिसिङ' खेलाडी चुनिए। ४ फिट अग्ला बायाँहाते स्पिनर अनिललाई सञ्चारमाध्यमहरूले समेत फुच्चे नायकका रूपमा प्रस्तुत गरिरहेका छन्। 

अनिलको क्रिकेट करियर ८ वर्षको उमेरमा गुल्मीको ददल्काबाट बुटवलको शंकरनगरमा सरेपछि अघि बढ्यो। बुटबल आएलगत्तै अनिल एपेक्स स्कुलमा कक्षा १ मा भर्ना भए। 'गाउँमा सरकारी स्कुलमा पढेको थिए, यहाँ आएपछि निजी स्कुलमा भर्ना भएँ,' उनले सुनाए। 

त्यही स्कुलमा विगत आठ वर्षदेखि नेपालका पूर्वखेलाडी तथा बलर वसन्त शाहीले क्रिकेट प्रशिक्षण दिँदै आएका थिए। स्कुलका अर्का प्रशिक्षक उमेश श्रेष्ठले पनि उनलाई सहयोग गरे। अनिलले फुटबलसँगै क्रिकेट बल फ्याक्न र ब्याट घुमाउन पनि थाले। क्रिकेटमा राम्रो हुन थालेपछि उनले क्रिकेटमै लाग्ने निधो गरे। अनिल पहिले मध्यम गतिका बलर थिए। 'एक पटक स्कुलमा क्रिकेट खेल्दा छक्का लाग्यो। त्यसपछि दिक्क लागेर स्पिन फ्याकेको बल टर्न भयो र विकेट आयो। त्यसपछि स्पिनर नै भएँ,' चटपटे स्वभावका अनिलले सम्झिए। 

मलेसियामा नेपाललाई उपाधि दिलाएसँगै उनलाई घरबाट आमा कौशिलाले बधाई दिइन् नै, जापानबाट बुबा नीलाम्बरको पनि स्याबास भन्दै फोन आयो। पढाइसँगै खेललाई पनि अघि लानुपर्छ भन्ने घरको निर्देशनले आफू निकै खुसी रहेको अनिलले बताए। उनलाई मन पर्ने खेलाडी वसन्त रेग्मी हुन्। 

असारमा बुटवलबाट पहिलो पटक काठमाडौं सहर टेकेका अनिल अहिले फुटबल फर्किएका छन्। 'घर जानेबित्तिकै पहिले त छुटेको पढाइ नै रिकभर गर्नु छ,' उनले भने। उनको लक्ष्य अब फेरि नेपाललाई उपाधि जिताउनु छ। 'यू-१९ टिममा पनि खेल्ने र राष्ट्रिय टिमबाट विश्वकप खेल्ने इच्छा छ,' उनले आफ्नो योजना सुनाए, 'सबैभन्दा ठूलो कुरा भारतीय क्रिकेट टिमलाई हराउने लक्ष्य लिएको छु।' 



सक्षम लिडर


सुमित महर्जन, कप्तान/अलराउन्डर

क्रिकेटसँग परिचय भएको छोटो समयमै नेपाली टिममा पर्नु, टिमको कप्तान चुनिनु, उनकै नेतृत्वमा नेपालले एसीसी यू-१६ प्रिमियर लिगको उपाधि जित्नु, सुमित महर्जनको दुईवर्षे क्रिकेट यात्रा झन्डै फिल्मी स्टाइलकै छ। उनले नेपालको उमेर समूहमा ५ वर्षदेखि लागेको उपाधिको खडेरी तोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

ललितपुरको सिद्धिपुर गाउँका सुमितले एसएलसी उत्तीर्ण गरेपछि बानेश्वरको प्रिमियर कलेजमा भर्ना भएर नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काबाट क्रिकेटसम्बन्धी तीनमहिने ट्रेनिङ लिने अवसर पाए। त्यसपछि निरन्तर क्रिकेटमा संलग्न सुमितले नेपाली राष्ट्रिय टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लले ललितपुरको सानेपामा सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) बाट प्रशिक्षणको अवसर पनि प्राप्त गरे। 

टेलिभिजनमा क्रिकेट हेरिरहन्थें, त्यसैले क्रिकेटका बारेमा थोरबहुत ज्ञान थियो, सुमित भन्छन्- 'केसीटीसीमा प्रशिक्षक मन्जुर आलम खानले मलाई क्रिकेटका आधारभूत जानकारीहरू उपलब्ध गराए।' 

मलेसियामा नेपाललाई च्याम्पियन बनाउँदा उनले कप्तानीमात्र गरेनन्, मध्यम गतिको बलिङ गरेर ३ विकेट लिनुका साथै ४ इनिङ्समा ६८ रन पनि बनाए। 'प्रशिक्षकले भनेजस्तै खेलेर जित्न सफल भयौं,' उनले जित्नुको मुख्य कारण बताए। महर्जनलाई बन्द प्रशिक्षणमा परेपछि टिममा पर्छु भन्ने त लागेको थियो, तर कप्तानी नै प्राप्त हुन्छ भन्ने थिएन। मोहमद आसिफ शेखलाई कप्तान बनाउँछन् जस्तो लागेको थियो, तर मोहमद आसिफलाई उप-कप्तानको जिम्मेवारी दिइयो, मैले उनबाट पनि पर्याप्त सहयोग लिएँ, -सुमितले बताए। 

सुमितले क्रिकेटको आधारभूत ज्ञान, फिल्डिङ, बलिङ र ब्याटिङ सबै क्षेत्रमा प्राप्त दक्षताका आधारमा कप्तान बन्ने अवसर पाएका थिए। उनले आफू सफल हुनुमा साथीहरूको सहयोग, आत्मविश्वास, प्रशिक्षकको सल्लाह एवं मेहनत मुख्य कारण भएको बताए। सुमितलाई मन पर्ने खेलाडी ज्ञानेन्द्र मल्ल हुन्। सुमित भन्छन्- 'मल्लको फिटनेस, आत्मविश्वास, ब्याटिङ, फिल्डिङ सबै पक्ष राम्रो छ, खेल्दा कहिल्यै आत्तिँदैनन्। '

सुमितको योजना नेपालको यू-१९ राष्ट्रिय टिमबाट खेल्नु हो। उनले भने, 'राष्ट्रिय टिमले विश्वकप खेलेर अवसरको ढोका खोलिदिएको छ। अब हामीले त्यसलाई पछ्याउँदै विश्वकप जित्नुपर्छ।'



किशोर सारथी


वसन्त शाही, मुख्य प्रशिक्षक

घटना सन् १९९६ को हो। मलेसियामा एसीसी ट्रफी खेल्न नेपाल पहिलो पटक उडेको थियो। वसन्त टिमका महत्वपूर्ण बलर थिए, स्पिनरका रूपमा। पहिलो पाइलामा नेपालले खासै उपलब्धि हासिल गर्न सकेन। नेपाल समूह चरणबाटै बाहिरियो, तर उनले नेपालका लागि सबैभन्दा बढी ८ विकेट लिए। शाही त्यसपछि सन् १९९८ र २००० को एसीसी ट्रफि खेल्न लागि परे, तर विडम्बना बन्द प्रशिक्षणमा उनलाई बोलाइए पनि टिममा भने पर्न सफल भएनन्। उनका लागि मलेसियाको त्यहि ८ विकेट नै अन्तर्राष्ट्रिय खेल जीवनको सम्झनलायक क्षण बन्यो। 

१८ वर्षपछि वसन्त त्यही सहरमा पुगे, जहाँ उनले खेलाडीका रूपमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। खेलाडी जीवनमा निराश बन्दै फर्किएका वसन्त मुख्य प्रशिक्षक बनेर टिम सम्हालेको पहिलो पटकमै खुसी हुँदै नेपाल फर्किए। किनभने नेपालले अहिलेसम्म जितेको १४ अन्तर्राष्ट्रिय ट्रफी सबै विदेशी प्रशिक्षकको मातहतमा थियो। एसीसी यू-१६ प्रिमियर लिग दिलाएर बसन्त नेपाललाई अन्तर्राष्ट्रिय ट्रफी दिलाउने पहिलो नेपाली प्रशिक्षक भए। 

भैरहवाका बासिन्दा वसन्तको त्यहाँ तिरुपति क्लब छ र त्यसको अध्यक्ष उनी नै हुन्। उनकै क्लबबाट खेल्ने वसन्त रेग्मी, अमृत भट्टराई, सागर पुन नेपाली क्रिकेटका स्टार भएका छन्। वसन्तले वरपरका गाउँ/सहरमा नयाँ प्रतिभा खोजेका छन्। बुटबलको एपेक्स स्कुलमा ८ वर्षदेखि प्रशिक्षकका रूपमा काम गर्दै आएका वसन्तले अहिले स्कुलसँगै मिलेर एपेक्स एकेडेमी पनि खोलेका छन्। 'स्कुलका विद्यार्थीले त सिक्न पाउँछन्, तर बाहिरकाहरू त्यसबाट वञ्चित भए। त्यसैले मैले एकेडेमी खोलेको हो,' उनले भने। महिला क्रिकेटरद्वय इन्दु बर्मा र प्रतिक्षा बस्याल वसन्तकै उत्पादन हुन्। अनिल खरेललाई पनि उनले नै क्रिकेट खेल्न सिकाएका हुन्। क्रिकेट आफ्नो लत भएको बताउँदै शाही भन्छन्, 'त्यही भएर आफूले खेल्न छाडेपछि पनि मैले नयाँ प्रतिभा जन्माउन निरन्तर मेहनत गरिरहेको छु।'

५ वर्षपछि नेपालले उमेर समूहमा उपाधि पाउनुबाट नेपाली प्रशिक्षकहरू पनि सक्षम छन् भन्ने कुरा सावित भएको उनले बताए। वसन्तले टिमका सहायक प्रशिक्षक राजु बस्न्यातको सहयोगको पनि प्रसंशा गरे। घरेलु स्तरमा वसन्तको प्रशिक्षणमा गत वर्ष क्षेत्र नम्बर-४ भैरहवाले राष्ट्रिय महिला क्रिकेटको उपाधि जितेको थियो।



क्षमतावान् क्रिकेटर


जितेन्द्रसिहं ठकुरी, अलराउन्डर

एसीसी यू-१६ प्रिमियर लिग क्रिकेटको उपाधि नेपाललाई दिलाउन मुख्य भूमिका निर्वाह गरेका जितेन्द्रले प्रतियोगितामा सबैभन्दा बढी १६ विकेट लिए, तर प्राविधिकहरूको गल्तीका कारण उनको खातामा १५ विकेटमात्र चढ्यो। अघिल्ला चार खेलमा १३ विकेट लिएका ठकुरीले मलेसियाविरुद्धको अन्तिम खेलमा ३ विकेट लिएका थिए। 'तर प्राविधिकले २ विकेटमात्र खातामा चढाए,' उनले भने, 'यद्यपि त्यसमा कुनै चिन्ता छैन, मुख्य कुरा नेपाललाई जिताउनु थियो, त्यो पूरा भयो।' 

जितेन्द्रसिंह ठकुरी क्रिकेट नै खेल्न भनेर दुई वर्षअघि सुर्खेतको लाटीकोइलीबाट काठमाडौं आएअनि कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा भर्ना भए। उनका भिनाजु कृष्ण शाहीले जितेन्द्रसिंहलाई २०६८ मा मुख्य प्रशिक्षक पुवुदु दासानायकेको पहलमा सुरु भएको नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा खेल्न पठाए। सानै उमेरमा उनले राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास, कलाम अदी, राजु बस्न्यातसँग प्रशिक्षण लिने अवसर प्राप्त गरे। त्यसमा पनि ल्याबोरेटरी स्कुलको वातावरणले उनलाई क्रिकेटमा अघि बढ्न थप प्रोत्साहन मिल्यो। स्कुलमा उनका गुरू थिए— पूर्व खेलाडी रिकेश लामा। 

वास्तवमा ठकुरी अलराउन्डर हुन्। 'म ब्याटिङ अलराउन्डर हुँ,' उनले मलेसियामा ६३ रन जोडेको प्रसंग कोट्याउँदै बताए, तर ठकुरीलाई प्रशिक्षकद्वय वसन्त शाही र राजु बस्न्यातले यस पटक बलिङ अलराउन्डरका रूपमा प्रस्तुत गरे। 

ठकुरीले प्रतियोगितामा कहिल्यै पनि विकेटका लागि बलिङ नगरेको तर्क गरे। 'गुरुहरूले विकेटका लागि बलिङ गर्ने होइन, डट बल फ्याल्नुपर्छ र ठीक ठाउँमा बलिङ गर्नुपर्छ भनेका थिए,' उनले सुनाए, 'मैले त्यस्तै गरि बलिङ गरे र विकेट आउँदै गयो।' ठकुरीले प्रतियोगिताको पहिलो खेलमै थाइल्यान्डविरुद्ध मात्र ३ रन दिएर ५ विकेट लिए। 'त्यसपछि त मेरो आत्मविश्वास बढ्न थाल्यो,' उनले राम्रो हुनुको कारण स्पष्ट पार्दै भने। 

ठकुरीलाई मन पर्ने खेलाडी पारस खड्का हुन्। पारसको नेतृत्व क्षमतासहित सम्पूर्ण पक्ष मन पर्छ। उनको अबको लक्ष्य यू-१९ टिमबाट खेल्दै राष्ट्रिय टिममा पुगेर विश्वकप खेल्ने हो। 'त्यसका लागि मैले धेरै मेहनत गर्नुपर्छ र म त्यसका लागि तयार पनि छु,' उनले भने।

http://www.ekantipur.com/saptahik/article/?id=15169