Pages

सहर सधैं सफा हुन सक्दैन ?

काठमाडौ, श्रावण २१ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा रहँदा राजधानीका मुख्य सडकहरू पूर्णरूपमा सफा देखिए। मोदीले न धुलोको समस्या बेहोरे न त डिभाइडरको। न सडकका भित्तामा फोहोर नै देखे। त्यसबेला सहरका जनताले आफ्नै सहरलाई सफा भएको हेर्ने मौका पाए।
मोदीजस्ता भीआईपीहरू आउँदा मात्र सहरवासीले आफ्नै ठाउँ सफा हेर्ने मौका पाउने हो त? अरू बेलामा पनि lकाठमाडौंलाई के सफा राख्न सकिन्न? सकिन्छ भने के-के गर्न आवश्यक छ? त्यसका समस्या र आवश्यकता के हुन्? जस्ता प्रश्न उठेका छन्। 
'मोदीको यात्रा हाम्रा लागि पाठको रूपमा रह्यो,' काठमाडौं महानगरपालिका वातावरण प्रशासन महाशाखाका प्रमुख हरिबहादुर कुँवरले भने, 'हामीले अब काठमाडौंका ३५ वटै वडामा सधैं सफाइ गर्ने योजना बनाएका छौं।' तर उनले सधैं सफा काठमाडौं देखिनका लागि वातावरण महाशाखाको कामले मात्र नपुग्ने बताए। कुँवरले अन्य निकायको पनि सहकार्य चाहिने बताए।
उनले भने, 'मोदी आउँदा करिब ८ सय ५० कर्मचारी परिचालन गरेका थियौं। साथमा महानगरका अन्य विभाग र केही सरकारी निकायले पनि सहयोग गरेका थिए।' उनका अनुसार ट्राफिक प्रहरीले सडकमा डिभाइडर नराख्ने, टेलिफोन, विद्युत्, केबुलको तार बाटोमा नलत्रने, सडक विभागले सडकका दुई भागमा थुप्रने माटोलाई व्यवस्थित गर्ने, भित्तामा पोस्टर-पम्पलेट टाँस्नबाट रोक लगाउने र फुटपाथका विभिन्नखाले पसल हटाउने, ढल व्यवस्थापन गर्ने हो भने काठमाडौं सफा रहन सक्छ।
अब बाटोमा तार लत्रिएमा आ-आफ्नो शाखाले काटिदिने स्थितिमा पुगेको उनले बताए। कुँवरले भने, 'हामीले काठमाडौंलाई कसरी राम्रो बनाउन सक्छौं भनेर सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं।'
वातावरण महाशाखाले विभिन्न निकायका कारण सफाइमा अवरोध भएको बताएको छ। तर अन्य सम्बद्ध निकायले आ-आफ्नो स्थानबाट सक्दो काम गरिरहेको प्रतिक्रिया दिए। कुँवरका अनुसार महानगरसँग अहिले करिब ८ सय कुचीकार छन्। 'सफाइका लागि यो नै पर्याप्त हुन्छ,' उनले भने।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी केशव अधिकारीले डिभाइडरबिना नै सडक राम्रो देखिने बताए। 'हामीलाई पनि सडकमा डिभाइडर नराख्दा सडक राम्रो देखिन्छ भन्ने थाहा छ। त्यसैले मोदीको भ्रमणपछि पनि हामीले ती स्थानमा डिभाइडर राखेका छैनौं। सातासम्म यसको परीक्षण गर्न चाहन्छौं,' उनले भने, 'कसैले ट्राफिक नियम मिचेनन् भने डिभाइडर राख्दैनौं। तर सडकमा मार्किङ अनुसार चलेनन् भने बाध्य भई डिभाइडर राखिनेछ।'
सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले नगर सफाइका लागि आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताए। 'हामीले सडक सफाइ गर्न निश्चित क्षेत्रका लागि भनेर ठाउँ-ठाउँमा कर्मचारी नै छुट्याएका छौं। उनीहरूको कामै सफा गर्ने हो,' उनले भने। कार्कीले पुराना सडकहरूमा समस्या देखिएको बताए।
उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता मिलन शाक्यले ढल व्यवस्थापनमा आफ्नो संस्थाको जिम्मेवारी भएको र त्यसका लागि पूर्ण रूपमा काम अघि बढिरहेको बताए। उनले भने, 'तर उपभोक्ता समिति र महानगरपालिकाले आ-आफैं साना ढल हालेका कारण समस्या भएको हो।' उनले अब काठमाडौंको मुख्य स्थानमा आयोजना कार्यान्वयन निर्देशनालयबाट ठूला ढलहरू हाल्न लागिएको बताए।
सहरमा जताततै झुन्डिएका तारको विषयमा भने सम्बन्धित संस्थाले अरूलाई दोष लगाएका छन्। नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले पोलका तारलाई लिएर धेरै समस्या भएको बताइन्। 'दैनिक रूपमा कहाँ तार झरेको छ, अनुगमन र मर्मत गर्छौ' उनले भनिन्, 'तर केबुल, इन्टरनेट र विद्युत्का तारका कारण समस्या छ ।'
तर नेपाल विद्युत् वितरण तथा ग्राहक सेवाका निमित्त निर्देशक रामचन्द्र पाण्डेले पोलका तारलाई व्यवस्थित गर्न आफ्नो संस्थाले दैनिक रूपमा काम गर्दै आएको र समय-समयमा सूचना समेत निकालेको बताए। 'टेलिफोन र केबुलका तार लत्रिएको भए पनि सर्वसाधारणले विद्युत्कै भन्ने
गर्छन्,' उनले भने, 'अब पोलमा पाइप राखेर कुन तार केको हो भन्ने थाहा पाउनुपर्छ।' पाण्डेले काठमाडौंमा लत्रिएका तारलाई व्यवस्थित गर्न भदौ मसन्तसम्म सम्बन्धित निकायका लागि सूचना निकालिसकिएको बताए। 'तार व्यवस्थित नगरे हामीले झिकिदिने छौं,' उनले भने।
 
प्रकाशित मिति: २०७१ श्रावण २१ ०८:१८