Pages

सडकमा 'भ्याकुम क्लिनर' लगाइने

काठमाडौ, भाद्र ५ -  
-    धरहरा, शान्ति बाटिका, रानीपोखरी, घन्टाघर र  सहिदगेटमा रङरोगन गरिने
-    रानीपोखरीमा म्युजिकल फाउन्टेन बनाइने
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा काठमाडौंका सडक सफा गर्न 'भ्याकुम क्लिनर' प्रयोग गरिने भएको छ।
'सडकको धूलो यताबाट बढारे उता र उताबाट बढारे यता पुग्छ। त्यसैले हामीले भ्याकुम क्लिनर नै लगाएर सफा गर्ने योजना बनाएका हौं,' काठमाडौं महानगरपालिका भौतिक विकास तथा निर्माण विभागका सञ्जयराज उपाध्यायले कान्तिपुरसँग भने, 'सामान खरिदको प्रक्रियामा छौं।'


भ्याकुम क्लिनरको प्रयोगपछि काठमाडौंवासीले मंसिर ११ र १२ मा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने शिखर सम्मेलनका क्रममा सहर सुन्दर र पूर्णरूपमा सफा देख्न पाउनेछन्। सार्कमा सरसफाइका लागि भने विशेष अभियान नै चलाउने पनि उनले बताए। 'अन्य बेलामा पनि भइरहेको छ, तर त्यसबेला अझ विशेष हुन्छ,' उनले भने।
बाह्र वर्षपछि नेपालमा हुन लागेको सम्मेलनमा महानगरपालिकाले सुन्धाराको धरहरा, रत्नपार्कको शान्ति बाटिका,
जमलको रानीपोखरी, त्रिचन्द्र कलेजको घन्टाघर, सहिदगेटलगायका स्थानमा रङरोगन गर्नुका साथै त्यसलाई थप आकर्षक बनाउने भएको छ।
'रानीपोखरीमा म्युजिकल फाउन्टेन नै बनाउने योजना छ,' उपाध्यायले भने, 'काम छिट्टै अघि बढाउनेछौं।' साथै, त्यसबेला यी क्षेत्रहरूमा चौबीसै घन्टा बत्ती बालिने उनले बताए। उनले शिखर सम्मेलनको तयारीका लागि महानगरले ३३ करोड रुपैयाँ मागेको बताए। 'तर लिमिटेसन छ भन्दै अर्थमन्त्रालयले ७ करोडमात्र दिएको छ,' उनले भने, 'सरकारले ३३ करोड दियो भने महानगरले थप १५ करोड खर्च गर्ने योजना बनाएका थियौं। तर सरकारले कम रकम दिएपछि हामी पनि आफ्नो पूरै रकम खर्च गर्ने योजनामा छैनौं।'
उनले काठमाडौंमा बिगि्रएका सडकलाई मर्मत सम्भार गर्न महानगरपालिका र सडक विभाग लाग्ने बताए। उनले भने, 'मुख्य सडकहरू सडक विभागले पुनःनिर्माण गर्ने हो। सहायक सडक मर्मत गर्ने काम हाम्रो हो।'
उपाध्यायले राष्ट्रिय सभागृहदेखि सोल्टीमोडसम्मको र चाबहिलतर्फको ह्यात होटलदेखि गोकर्ण रिसोर्टसम्मका सडक पूर्णरूपमा आकर्षक बनाउने योजनामा सरकार रहेको जानकारी दिए। 'रिसोर्टसम्म कोही घुम्न जान सक्छन्, त्यसैले जोरपाटीदेखि गोकर्ण रिसोर्टसम्मको बाटो पनि पूर्णरूपमा राम्रो बनाइनेछ,' उनले भने।
कुन ठाउँमा कति गेट राख्ने अहिले नै यकिन नभए पनि चोक-चोकका दुई भागमा राखिने 'फ्ल्याग पोल' भने थपिने भएको छ। उपाध्यायका अनुसार बाटो विस्तारका क्रममा धेरै पोल मासिएको थियो। सरकारले सार्क शिखर सम्मेलनकै लागि भनेर भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहको परिसर सिँगार्नुका साथै हलको पूर्वी भागको खाली ठाउँमा भुइँ तले 'होल्डिन रुम' बनाउने काम अघि बढाइसकेको छ।
दक्षिण एसियाली राष्ट्रहरू मिलेर अघि बढ्ने लक्ष्यसहित सन् १९८५ मा बंगलादेशको ढाकाबाट थालनी भएको सार्कको सन् १९८७ को नोभेम्बर २-४ सम्म भएको शिखर सम्मेलन नेपालमा भएको थियो। त्यसबेला कमलादीको एकेडेमी हलमा सम्मेलन गरिएको थियो। त्यसपछि ठूला प्रतियोगिताका लागि हल नभएको भन्दै नयाँ बानेश्वरमा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) बनाइएको थियो। लोकतन्त्र आएपछि संविधान सभाको हल बनेको बीआईसीसीमा सन् २००२ को जनवरी ४-६ सम्म ११ औं सार्क शिखर सम्मेलन भएको थियो।