Pages

छानबिन गर्न भारतलाई अपिल

काठमाडौ, मंसिर २ - 
भारतको उत्तराखण्ड, नैनीतालस्थित शेरउड कलेजमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय सान प्रजापतिको रहस्यमय मृत्युबारे छानबिन गर्न पीडित परिवारले भारत सरकारलाई आग्रह गरेको छ ।
 सानकी आमा निना श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार काठमाडौंस्थित भारतीय दूतावासका उप-प्रमुख पीयूष श्रीवास्तवलाई भेटी घटनाको छानबिननिम्ति भारतीय सरकारसमक्ष पहल गर्न आग्रह गरेको हो । सानको शुक्रबार दिल्लीमा मृत्यु भएको हो । टोलीले श्रीवास्तवसमक्ष ज्ञापन पत्र समेत बुझाएको हो । 


'श्रीवास्तवले भारतीय स्वास्थ्य मन्त्रालय, बालबालिका मन्त्रालय र गृह मन्त्रालयलाई जानकारी गराई छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,' टोलीमा संलग्न शेरउड कलेजकै पूर्वविद्यार्थी उज्ज्वल थापाले कान्तिपुरसँग भने । 

पीडित परिवारले घटनालाई लिएर नोयोडास्थित प्रहरी चौकीमा एफआईआर दर्ता गरिसकेको छ । 'त्यो एफआईआर नैनीताल प्रहरी कार्यालयमा ट्रान्सफर भइसकेको छ । दुई जना एसएसपीको नेतृत्वमा घटनाको अध्ययन अघि बढाउन लगाइएको जानकारी आएको छ,' उज्ज्वलले भने ।

कात्तिक २५ गते मंगलबारदेखि सानलाई ज्वरो आउने, छाती दुख्ने र खकारमा रगत आउँदा पनि स्कुल प्रशासनले ध्यान नदिई उपचार गराउन नलगेको निनाले बताइन् । 'मलाई २७ गते बेलुकी छोराको एक साथीको अभिभावकबाट फोन आयो । उनले सान दुई दिनदेखि बिरामी भएको बताइन्,' निनाले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै भनिन् । 

'स्कुलदेखि स्थानीय अस्पताल र त्यसपछि दिल्ली ल्याउँदासम्मको घटनाक्रम हेर्दा स्कुलका प्रिन्सिपल अमनदीप सन्धुको गैरजिम्मेवारी व्यवहार र विद्यालय प्रशासनको हेलचेक्रयाइँ देखिन्छ । मेरो छोराको असामयिक निधनका बारेमा केही तथ्यहरू छन्, जसले केही प्रश्नहरू उब्जाउँछन्,' निनाले बताइन् । 

प्रख्यात अभिनेता अमिताभ बच्चनसमेत पढेको १ सय ५० वर्षको इतिहास बोकेको विद्यालयको लापरबाहीलाई लिएर भारतीय सञ्चार माध्यमले प्राथमिकतापूर्वक समाचार प्रसार गरेका छन् । 'दुई दिनदेखि बिरामी पर्दा पनि उपचार गर्न नलगेको, अस्पताल लगेर अर्कै विषयका डाक्टरलाई देखाएको, नैनीतालबाट दिल्ली लाँदा स्तरीय एम्बुलेन्स र डाक्टर बिना नै लगेको, बढीमा ५ घन्टा लाग्ने स्थानमा जान ७ घन्टा लागेको, अस्पतालमा गम्भीर रूपमा रहेको बिरामी दुई दिनसम्म पनि स्कुल ड्रेसमै भएको, उपचारमा खटिएका डाक्टर डाक्टर नभएर टे्रनर रहेको आदिबारे जवाफ दिनुपर्छ,' निनाले भनिन् । भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा प्रिन्सिपल सन्धुले आफ्नो गल्ती नभएको प्रतिक्रिया दिएका छन् । 

डाक्टर राजेशध्वज जोशीले स्कुलकै लापरबाहीका कारण सानको मृत्यु भएको दाबी गरे । उनले भने, 'निमोनियाँ लागेर मृत्यु भएको छ । यदि बिरामी भएकै दिन औषधि गरेको भए निको हुन्थ्यो । तर त्यत्तिकै छोडेपछि यस्तो भएको हो ।' उनले पोस्टमार्टमको रिपोर्टमा दुवै फोक्सोमा इन्फेक्सन र फोक्सो बाहिर पानी भरिएको देखिएको बताए । 'यस्ता लक्ष्ण ३/४ दिन निमोनियाँ भएपछि देखिन्छ,' डाक्टर जोशीले भने, 'समयमै उपचार गरेको भए सहजै निको हुन्थ्यो ।' 

निनाको परिवारले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी भारतीय सरकारसमक्ष पहल गरी दोषीउपर कारबाही गर्नका लागि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा निनाले छोरासँगको अन्तिम भेटलाई सम्झँदै भनिन्, 'तिहार मनाउन घर (काठमाडौं) आउँदा हामीले निकै रमाइलो गर्‍यौं, खेल्यौं । कात्तिक ६ देखि १० सम्मको बिदा सकिएपछि उसलाई ११ गते स्कुलमा पुग्नु थियो ।' उनले थपिन्, 'मैले मेरो छोरा त गुमाएँ । तर यस्तो लापरबाहीका कारण अन्य नेपालीले आफ्नो सन्तान गुमाउनु नपरोस् ।' 

उज्ज्वलले भारतमा यो घटनालाई लिएर पूर्वविद्यार्थीहरूले विरोध जनाइरहेको बताए । उनले भने, 'छानबिनका लागि सबैभन्दा पहिले स्कुलका प्रिन्सिपललाई निलम्बन गर्नुपर्छ ।' 




प्रकाशित मिति: २०७१ मंसिर ३ ०९:४९http://www.ekantipur.com/kantipur/2071/8/2/full-story/333872.htm