Pages

अन्ततः मिले हात

काठमाडौ, मंसिर १२ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज सरिफले सार्क शिखर सम्मेलन समापनका बेला आपसमा हात मिलाएर सबैको कौतुहल मेटाएका छन् । मोदी र सरिफले समापन समारोहको अन्त्यमा बिहीबार राष्ट्रियसभा गृहको मञ्चमा करिब ३५ सेकेन्ड हात मिलाए । दुवैले केहीबेर कुरा मात्र गरेनन् त्यसपछि हाँसे पनि ।
यी दुई सरकार प्रमुखले बिहीबार दिउँसो धुलिखेलको द्वारिकाज रिसोर्टमा आयोजित 'रिटि्रट' मा हात मिलाउनुका साथै कुराकानी गरेका थिए । 'उनीहरूले हात मिलाए र कुराकानी पनि गरे, हामी सबैले देख्यौं । तर के कुरा भयो, उनीहरूलाई मात्र थाहा छ,' भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बिहीबारै भारतीय दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।

सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालालाई भारत र पाकिस्तानबीच मेलमिलाप गर्नका लागि तपाईंले भूमिका निर्वाह गरेको हो भन्ने प्रश्न गरिएको थियो । जवाफमा कोइरालाले भने, 'हामी दक्षिण एसियाली सबै एउटै परिवारका सदस्य हौं । हात मिल्ने र मन मिल्ने हुनुपर्छ । यो यस पटक -भारत-पाकिस्तानबीच) मात्र होइन, हामी सबैका बीच भएको छ । कसले पहल गर्‍यो, के गर्‍यो, त्यसतर्फ नजाऔं । सकारात्मक सोचले अघि बढ्नुपर्छ ।'
सन् २००२ मा काठमाडौंमै भएको ११ औं शिखर सम्मेलनमा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मन्तव्य दिएर र्फकने क्रममा तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफले भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीसँग हात अघि बढाएका थिए । त्यसपछि भारत-पाकिस्तानबीचको कटुता वार्तातर्फ मोडिएको थियो । सन् २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी आक्रमण भएपछि दुई देशबीचको दूरी झन् बढेको थियो । बुधबार उक्त आक्रमण भएको ठीक ६ वर्ष पुगेको थियो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले भने, 'रिटि्रटको महत्त्व नै यही हो- सबै खुल्ने, आफ्ना तितामिठा कुरा गर्ने, रिटि्रट पछिको यो मिलनले यस्तै सन्देश दिएको छ ।'
रिटि्रटमा मोदी र सरिफबीचको वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिन सक्ने संकेत मिलेको छ । 'भारत पाकिस्तानसँग शान्ति र सहयोगको सम्बन्ध राख्न चाहन्छ । हामी उनीहरूसँग अर्थपूर्ण वार्ता गर्न चाहन्छौं,' प्रवक्ता अकबरुद्दिनले भने, 'आजको यो हात मिलाइले अर्थपूर्ण वार्तातर्फ लान्छ भने हामी त्यसलाई स्वागत गर्छौं ।'
उनले कुनै पनि योजनाअनुसार दुवै सरकार प्रमुखले भेट नगरेको बताए । 'हामीले सार्कअघि पनि प्रस्ट पारिसकेका थियौं, पाकिस्तानसँगको कुराकानी गर्न हाम्रो कुनै योजना छैन भनेर,' अकबरुद्दिनले प्रस्ट्याए ।
'दुई बीचमा के कुरा भयो, हामीलाई पनि थाहा छैन । त्यो कुरा उनीहरूलाई मात्र थाहा छ । धुलिखेलको वातावरण निकै राम्रो थियो । उनीहरू एउटै सानो टेबलमा बसेर अन्य सरकार प्रमुखहरूसँगै खाना खाए, कुरा पनि गरे,' उनले दुई सरकार प्रमुख भेटदा खुसी भएको सार्वजनिक रूपमा देखिएको उल्लेख गर्दै भने, 'उनीहरूले सार्ककै बारेमा कुरा गरेका होलान् ।'
भारतको काठमाडौं यात्रा सफल भएको पनि उनले जानकारी दिए । अकबरुद्दिनले भने, 'भारत र पाकिस्तानका दुवै प्रधानमन्त्रीले सार्वजनिक रूपमा हात मिलाए, अन्त्यमा हामी खुसी हुँदै र्फकंदै छौं । यो सम्मेलन भारत र पाकिस्तानको मात्र होइन, यो हाम्रो सबै दक्षिण एसियाली छिमेकी राष्ट्रहरूबीचको सहकार्य हो । जुन लक्ष्य लिएर काठमाडौं आएका थियौं, त्यो पूरा भयो ।' दुई वर्षपछि पाकिस्तानमा १९ औं शिखर सम्मेलन हुने भनेर समापन समारोहमा घोषणा हुँदा मोदीले ताली पिटेका थिए । मोदी दुई वर्षपछि इस्लामाबाद जान्छन् त ? भनेर गरिएको प्रश्नमा प्रवक्ता अकबरुद्दिनले भने, 'सार्क २९ वर्ष भइसक्यो । अल्फाबेट अनुसार सम्मेलन हुन्छन् । यो साधारण हो । यो सबैलाई थाहा भएकै कुरा हो । यसलाई अन्य रूपमा हेर्नु हुँदैन ।'
'सदस्य थपिन्न'
चीनले आफू सदस्य बन्न इच्छुक रहेको आशय व्यक्त गरिरहेको बेलामा भारतले भने सार्कमा सदस्य भित्र्याउने कुनै प्रस्ताव नभएको स्पष्ट पारेको छ । प्रवक्ता अकबरुद्दिनले भने, 'कार्यक्रम समितिले सार्कमा सदस्य बढाउने कुनै प्रस्ताव गरेको छैन ।' पर्यवेक्षकको सहभागिता गराउन विकासका कार्यक्रममा सहकार्य बढाइएको उनले बताए । 'उनीहरूले तोकेको विषयमा सार्कलाई साथ लिन सक्छन्,' उनले भने, 'सदस्य भएर मात्र काम हुने होइन ।'

प्रकाशित मिति: २०७१ मंसिर १२ ०८:३३