Pages

सधैँ यस्तै रहला ?

काठमाडौं , मंसिर १३ - राजधानीवासीले दुई सातायता सडकछेउ फोहोरका थुप्रा देख्नुपरेको छैन । मूल सडकमा धूलो उड्दैन । मोटरसाइकल चलाउँदा आँखामा धूलो पर्दैन । सडकका कुनामा पनि धूलो खासै देखिंदैन । लत्रिएका बिजुली र टेलिफोनका तार तन्किएका छन् । विस्तारित सडकका बीच र छेउछाउ हरियाली छ । सडकमा लेन छुट्टिने लाइन गाढा छ । रातको समयमा हुने दुर्घटना रोक्न सडक र डिभाइडरमा समेत 'क्याट आइ' राखिएको छ । साँझ परेपछि सोलार बत्तीले सडक झिलिमिली हुन्छ ।
सडकछेउको पर्खाल रङरोगन गरेर भित्ते लेखन मेटिएको छ । आइल्यान्ड र गमलामा ढकमक्क फूल फुलेका छन् । नाली सफा गरिएको छ ।
 एक महिनायताको तुलनात्मक रूपमा राम्रो सज्जा र सफाइले राजधानीवासीको मन चंगा भएको छ । 'विदेशमा छु कि जस्तो पो लाग्छ,' महानगरको वातावरण विभागका प्रशासन प्रमुख हरि कुँवरले भने, 'गर्‍यो भने त हुने रहेछ भन्ने लाग्यो ।' गर्न सकिएजस्तो जोगाउन चाहिँ सकिएला कि नसकिएला ? सार्कका नाममा बनेका संरचना र सहरमा छाएको हरियाली कायम रहला कि नासिएला ? अहिले सर्वसाधारणमा यसको चिन्ता छ ।

सार्क सम्मेलन सकिएसँगै आइल्यान्ड र फुटपाथमा रोपिएका बिरुवा भाँच्ने, फूल कुल्चिने क्रम सुरु भएको छ । कतिपय बिरुवाका त झिक्रामात्रै बाँकी छन् । 'बिरुवा हुर्काउन टेलिकमले जिम्मा लिइसकेको छ,' सहरी विकासमन्त्री नारायण खड्काले भने, 'बिरुवा घेरेर राख्ने जाली चाँडै राख्न निर्देशन दिन्छु ।' मन्त्रालयले तीनकुनेदेखि माइतीघरसम्मको बिरुवा हुर्काउने र पानी हाल्ने जिम्मेवारी टेलिकमलाई दिएको हो ।
तीनकुनेमा भेटिएकी शोभा आचार्य भन्छिन्, 'सधैं यस्तै भए त हुन्थ्यो । सार्क राष्ट्र प्रमुखहरू फर्किएसँगै पहिला जस्तै भइहाल्छ कि भन्ने चिन्ता छ ।'
शुक्रबार मुख्यसचिव लीलामणि पोखरेलले सम्बन्धित मन्त्रालयका सचिव र सहर व्यवस्थापनमा संलग्न कार्यालयका प्रमुखलाई बोलाएर अहिले भएको सौन्दर्य कायम राख्न निर्देशन दिएका छन् । सरकारले रङ लगाएको सडकको भित्तामा लेख्न नदिन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् । 'भित्ता जसले पोत्छ उसलाई नियन्त्रणमा लिएर जस्ताको तस्तै बनाउन लगाउनुस्,' बैठकमा पौडेलले भने, 'कारबाही गर्न नसक्ने हो भने जिम्मेवार अधिकारीलाई कारबाही हुन्छ ।' यसैगरी सभागृह र ग्यालरी बैठक अब कसरी सञ्चालन गर्ने भन्नेबारे सुझाव पेस गर्न उपसमिति गठन भएको छ । त्यस्तै अहिलेको संरचना जोगाउने उपायसहितको राय सुझाव दिन अर्को उपसमिति बनेको छ ।
सहरका विभिन्न स्थानमा रोपिएको बिरुवा हुर्काउने काम सहरी विकास मन्त्रालयको हो । त्यस्तै सडक व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । सरसफाइलगायत अन्य काम महानगरले गर्नुपर्ने हुन्छ । त्यस्तैमा पोलमा लत्रिएको तार व्यवस्थापनको काम टेलिकम र विद्युत् प्राधिकरणको हो । उनीहरूले आपmनो पोल अन्य केबल सञ्चालकलाई भाडामा दिने गर्छन् । केबल सञ्चालकले तार व्यवस्थापन नगर्दा सहरको रूप बिगे्रको छ । 'लत्रेको तार तीन महिनाभित्र हटाउन मुख्यसचिवले निर्देशन दिएका छन्,' बैठकमा सहभागी एक अधिकारीले भने ।
प्राधिकरणले रूख रोपे पनि संरक्षण गर्ने काम महानगर र सुरक्षाकर्मीको भएको उपत्यका विकास प्राधिकरणका काठमाडौं आयुक्त भाइकाजी तिवारीले बताए । सडकमा सीसीक्यामेरा भएकोले बदमासी गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने उनको सुझाव छ ।
सार्क अवधिभर बिरुवामा महानगरले पानी हालेका थियो । अब पानी हाल्नेमा पनि विवाद भएर बिरुवा मर्ने हो कि भन्ने सर्वसाधारणमा आशंका छ । 'सार्क चलिरहेका बेला जस्तो दिनहुँ त पानी हाल्न सकिंदैन,' महानगरका वातावरण विभागका प्रशासन प्रमुख हरि कुँवरले भने, 'समय-समयमा पानी हाल्छौं ।' महानगरपालिकाले सार्क अवधिभर उपत्यकालाई सफा पार्न १ हजार १ सय कर्मचारी परिचालन गरेको जनाएको छ । त्यसमा ८ सय त कुचीकार नै थिए ।
कसरी सफा भयो ?
 सार्कका लागि जनशक्तिसमेत थप नगरी भएकैबाट यत्तिको सरसफाइ गरेको प्रमुख कुँवरले बताए । 'हामीले यति गर्न सकुँला भन्ने त सोचेका थिएनौं,' उनले भने, 'जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्‍यौं । पहिले कारबाही गरिन्छ भनिन्थ्यो तर गरिंदैनथ्यो । तर अहिले हामीले त्यसलाई कार्यान्वयन गर्‍यौं ।'
सडक सफा गर्न बिहान ४ बजेेदेखि ६ बजेसम्म कुचो लगाइएको महानगरले जनाएको छ । दैनिकजसो धूलो उठाउन महानगर र सडक विभागको ब्रुमर -सडकको धूलो उठाउने गाडी) प्रयोग भएको थियो । अलिअलि बाँकी धूलो ट्यांकरको पानीले पखालिएको हो ।
 बिहान ६ बजेसम्म काम गरेका कर्मचारीलाई आठ बजेबाट टिपनटापनको जिम्मेवारी दिएको कुँवरले बताए । 'बिहान फोहोर उठाएको ठाउँमा कसैले कागजको टुक्रा खसाले पनि टिपिहाल्ने व्यवस्था गरेका थियौ,ं' उनले भने,'विशिष्ट व्यक्तिहरू हिंड्डुल गर्ने क्षेत्रलाई सफा गर्न पूर्ण ध्यान दिइएको थियो ।' सडक बत्ती र सुरक्षाकर्मी भएपछि काम गर्न सजिलो भएको सफाइमा खटिने कर्मचारीले जनाएका छन् । एयरपोर्टदेखि तीनकुने, नयाँ बानेश्वर, माइतीघर हुँदै सोल्टीमोड, त्रिपुरेश्वरबाट महाराजगन्जसम्मका सडकमा सोलार बत्तीको व्यवस्था छ । त्यस्तै सुरक्षाकर्मी परिचालित भएपछि राति २/३ बजे उठेर सडक सफा गर्न आउन कर्मचारीलाई सहज भएको थियो ।
अब के हुन्छ ?
अहिले भएजस्तै सफा राख्न जनशक्ति थप गर्नु नपर्ने महानगरले जनाएको छ । यही जनशक्ति परिचालन गर्न २० प्रतिशत बढी खर्च लाग्ने कुँवरले बताए । यो खर्च अनुगमन, सवारी मर्मत, डिजेल, पेट्रोल र प्रोत्साहन भत्ताका लागि हो । 'सार्कमा जुन तरिकाले काम लगाएको हो त्यसैगरी गर्न सकिन्छ,'उनले भने, '४ बजेदेखि परिचालन गर्न नसके पनि ५ बजेपछि गर्न सकिन्छ । बिहान सफामा खटिएका कर्मचारीलाई दिउँसो फेरि टिपनटापनमा खटाउँछौं ।' अहिले दैनिक पानीले पखाल्ने गरेकामा सातामा एक पटक भए पनि त्यसो गर्न सकिने उनले बताए । टिपन-टापनलाई पनि जारी राख्ने उनले उल्लेख गरे । जथाभावी फोहोर पmयाँक्नेलाई कारबाही गर्ने क्रम पनि रोकिने छैन ।
'मुख्य सडकका पसल वा घरअघि फोहोर देखे तत्काल कारबाही हुन्छ । पसलवालाले त्यो फोहोर फालेको होइन भने पनि कारबाही हुन्छ,' कुँवरले भने,'त्यहाँ फोहोर फाल्नु हुँदैन भनेर अरूलाई जानकारी दिनुपथ्र्यो, रोक्नुपथ्र्यो ।' महानगरले जथाभावी फोहोर फ्याँक्नेलाई पहिलो पटक ५ हजारसम्म जरिवाना लिने गरेको छ ।
 डिभाइडर नहुँदा सफाइ कार्य सहज भएको कर्मचारीले बताए । सहर सफा राख्न महानगरले स्थानीयस्तरमा पनि सहकार्य अगाडि बढाउने भएको छ । अहिले केही टोल स्थानीयलाई जिम्मा दिंदा सफा देखिएको छ । हरेक वडाका उत्कृष्ट ५ देखि १० वटा संस्थालाई सहभागी गराएर फोहोरमैला व्यवस्थापनको जिम्मा दिन लागिएको हो ।