Pages

विश्व अपाङ्गता दिवस

काठमाडौ, मंसिर १७ - आँटिलो स्वभाव, स्पष्ट बोल्ने, आफ्नो विषयमा तर्क गर्न सक्ने लक्ष्मी नेपाल २२ वर्षकी भइन् । पुरानो बानेश्वरस्थित ग्लोबल कलेजमा 'शान्त र द्वन्द्व व्यवस्थापन' पढ्छिन् । भक्तपुर बालकोटकी उनी आवज-जावतमा हुने समस्याका कारण कलेजको होस्टलमै बसेर एमए पढिरहेकी छन् ।

आँखामा कालो चस्मा लगाएकी, हातमा सेतो छडी बोकी बुधबार बागबजारमा भेटिँदा रातो स्विटरमा सजिएकी थिइन् । टेबुलमा मोबाइल र कम्प्युटर राखेर चलाइरहेकी लक्ष्मीले गुनासो गरिन्, 'हरेक ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या छ । त्यसमा पनि अस्पतालमा त झनै आपत्ति हुन्छ ।'


'समावेशी विकास, प्रविधिप्रति प्रतिबद्धता' भन्ने नाराका साथ बुधबार डिसेम्बर ३ मा विश्वभर अपाङ्ग दिवस मनाइँदै छ । जन्मैदेखि लक्ष्मी दृष्टिविहीन छिन् । पछिल्लो समय अपाङ्गलाई अपाङ्ग होइन, फरक क्षमता भएका व्यक्ति भनेर सम्बोधन गर्नुपर्ने आवाज उठिरहेको छ । एमएसम्मको पढाइ, राजनीति विषयप्रतिको चाख र प्रविधिसँग निकटपनले लक्ष्मीलाई हेरे अपाङ्गको परिभाषा पक्कै परिवर्तन हुन्छ । लक्ष्मी भन्छिन्, 'दृष्टिविहीनलाई अस्पतालमा जाँदा हरेक ढोकाको कोठाको देब्रे भागमा 'ब्रेयर कोड' राखिनुपर्छ । त्यो गरिए हामी जस्तालाई सहज हुन्छ ।' यसपटक प्रविधिसँग जोडिएको नाराले ल्यापटपमा इमेल, फेसबुक आदि चलाउने लक्ष्मीसँग पूर्णरूपमा मेल पनि खान्छ ।
राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको कुल जनसंख्याको २ प्रतिशत फरक क्षमता भएका छन् । 'तर यतिमात्र होइन, थप मानिसहरू पनि अपाङ्ग छन्,' अपाङ्ग मिडिया फाउन्डेसनका अध्यक्ष गजेन्द्र बुढाचोकी भने । महिला सभासद तथा व्यवस्थापिका संसद्मा महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति समितिकी सदस्य आशा कोइरालाले अपाङ्गतालाई वर्गीकरण गरेर त्यहीअनुसार सरकारले सुविधा दिनुपर्ने बताइन् ।
उनले भनिन्, 'नयाँ संविधान आउँदै छ । हामी छलफल गरेर अपाङ्गता भएकालाई मध्यनजर गरेर तयारी गर्नेछौं ।' महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी उप-सचिव उपाकला पाण्डेले विभिन्न कार्यहरू अघि बढाइएको उल्लेख गर्दै भनिन्, 'तर यसलाई अघि बढाउन मन्त्रालयमात्र होइन, सबै सरोकारवाला निकायले
ध्यान दिनुपर्छ ।'
काठमाडौं ट्राफिकका एसएसपी गणेशबहादुर गुरुङले ट्राफिकका हरेक कार्यक्रममा अपाङ्गताबारे जानकारी दिइने बताए । पूर्वसचिव किशोर थापाले नेपालमा बन्ने कुनै पनि भवन अपाङ्गता भएका व्यक्तिलाई ठीक हुने गरी बनाइएको बताए । उनले भने, 'भवन बनाउँदा अपाङ्गमैत्री र बालमैत्री हुनुपर्छ ।'
देशमा अपाङ्गता दिवस मनाइरहँदा अपाङ्गता भएका व्यक्तिहरूलाई न हिँड्न सहज मार्ग छ, न उनीहरूका लागि शौचालय । ह्विल चेयरमा हिँड्ने, लठ्ठी प्रयोग गर्ने उनीहरूलाई आफ्नै देशमा पनि पराईको रूपमा बस्नुपर्ने बाध्यता छ । राष्ट्रिय अपाङ्ग महासंघका सागर प्रसाईले आफ्नो संस्थाले सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरे । उनले अपाङ्गता भएका व्यक्तिलाई जागिर खाँदा कस्तो वातावरण बताउनुपर्छ भनेर महासंघले एउटा किताब ल्याउन लागेको बताए । अपाङ्गता भएका व्यक्तिहरूले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आफ्नो गुनासो राखिसकेका छन् । उनीहरूले र्‍याली पनि निकाले । यस्तै, अमेरिकी दूतावासले पनि दिवसको पूर्वसन्ध्यामा राजधानीमा कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: २०७१ मंसिर १७ ०९:१३