Pages

दुर्घटनाको मुख्य कारण अनुभवहीन चालक

काठमाडौ, पुस ४ - यो वर्ष मंसिरसम्ममा ९ सय जनाभन्दा बढी यात्रुको सडक दुर्घटनाबाट ज्यान गइसकेको छ । प्रहरीले पछिल्लो तीन वर्षदेखि गरेको अनुसन्धानले सडक दुर्घटनामा सबैभन्दा बढी जिम्मेवार चालक भएको देखाएको छ । '६७ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुन्छ,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।
सरकारले विभिन्न दुर्घटनाको अनुसन्धान गर्न बनाएको समितिले पनि चालकबाटै बढी लापरबाही हुने निष्कर्ष निकालेको छ । प्रहरी र सरकारी टिमले गरेको अनुसन्धानले अनुभवहीन चालकले हाँकेका सवारी दुर्घटनामा परेका घटना बढी रहेको तथ्य फेला परेको छ ।
थाहा पाउँदा-पाउँदै व्यवसायीहरू आफ्नो सवारी चलाउने जिम्मा किन कम अनुभवी चालकलाई सुम्पिन्छन् त ? यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन्, 'यो व्यवसायीको रहर होइन, बाध्यता हो ।' उनले अनुभवी सवारी चालक पाउन गाह्रो हुने गरेको बताए ।


नेपालको एक दशकयताको परिस्थितिलाई हेर्ने हो भने सिटौलाको भनाइमा दम छ । वैदेशिक रोजगारको तथ्यांकअनुसार हरेक दिन अनुभवी चालकसहित १ हजार ४ सय ६५ जना युवा वैदेशिक रोजगारमा जान्छन् । वैदेशिक रोजगारीबाट मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २८ प्रतिशत योगदान गर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७० मा वैदेशिक रोजगारमा गएका नेपाली कामदारले ५ सय ६३ अर्ब मुलुकमा पठाएका थिए ।
यसले स्पष्ट देखाउँछ, नेपालको युवापुस्ताको ठूलो जमात विदेशमा छ । त्यही जमातमा नेपालका अनुभवी चालक पनि मिसिएर विदेशिएका छन् । मलेसियालगायत मध्यएसियामा काम गर्न जाने नेपाली कामदारमा सवारी चालक उत्तिकै छन् । 'विगत एक दशकयता नेपालमा राजनीतिक अस्थिरता थियो । दैनिक नेपाल बन्द भए,' महासचिव सिटौलाले भने, 'त्यसपछि चालक विदेशिन थाले ।' नेपालमा भन्दा विदेशमा गाडी चलाउँदा बढी रकम कमाइन्छ भनेर पनि चालकको विदेशमा जाने क्रम बढेको हो ।
अनुभवी चालक बढी पैसा कमाउन विदेशिएपछि कम अनुभवका चालक मात्र बाँकी रहन्छन् । 'सवारीधनीलाई आफ्नो गाडी चलाउनुपर्ने हुन्छ, दुर्घटना भए बिमा कम्पनीले तिरिहाल्छ,' भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका एक अधिकारीले भने, 'प्राविधिक ज्ञानै नभईकन सवारी चलाउने चालकले गर्दा बढी दुर्घटना भएका हुन् ।'
आफूले सहचालकको भूमिका निर्वाह गरेको सवारी साधनबाट चलाउन सिक्ने र पछि त्यही सवारीको चालक बनेका चालक धेरै भएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए । उनले भने, 'यस्ता चालकले सवारी चलाउन त चलाउँछन् तर उनीहरूलाई अन्य प्राविधिक ज्ञानको कमी हुन्छ । जसले गर्दा दुर्घटना बढी हुन्छन् ।'
पछिल्ला वर्षमा युवाले बढी यात्रुवाहक सवारी लाइसेन्स लिएको सवारी चालक अनुमतिपत्र फाँटका प्रमुख भीम तिवारीले बताए । उनले भने, '१९/२० वर्षदेखि २५/२६ वर्षसम्मका युवा बढी देखिएका छन् ।' उनले ठूला सवारीको चालक अनुमतिपत्र लिन काठमाडौंमा मात्र पाइने कारणले सधैं भीड हुने र अहिले पनि फागुनसम्मलाई प्याक भइसकेको बताए । 'हामीले तत्काल यसलाई बन्द गरेका छौं,' तिवारीले भने, 'अहिले सरकारले निर्णय गरेको नयाँ नियमअनुसार दिइने भनिएको व्यावसायिक अनुमतिपत्र तत्काल दिइँदैन ।'
मुलुकमा बढ्दो सवारी दुर्घटनालाई कम गर्न र चालकलाई बढी मर्यादित बनाउन भन्दै मन्त्रिपरिषद्ले मंसिर २५ मा सार्वजनिक सवारी चालक अनुमतिपत्र लिन १० कक्षा पास हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि ८ कक्षा उत्तीर्ण भए पुग्थ्यो । लाइसेन्स पाउन न्यूनतम उमेर २५ वर्ष पुगेको व्यक्ति हुनुपर्ने व्यवस्था नयाँ नियमावलीमा छ । यसअघि २१ वर्षको थियो । 'लाइसेन्स लिन्छन्, ५/६ वर्ष नेपालमा गाडी चलाउँछन्,' एक व्यवसायीले भने, 'त्यसपछि धेरै पैसा कमाउन विदेशमा हानिन्छन् । त्यही कारण मुलुकमा अनुभवी चालकको अभाव भएको हो ।'
प्रकाशित मिति: २०७१ पुस ४ ०८:४६