Pages

'नाफामात्रै हेरे, प्रतिस्पर्धामा जान चाहेनन्'

ललितपुर, मंसिर २६ - लगातार बढेको दुर्घटनाको सबैभन्दा बढी जिम्मेवार आफ्नो मन्त्रालय र आफू भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बिहीबार बताए। उनले भने, 'यदि त्यसमा राजीनामा दिनुपर्‍यो भने सबैभन्दा पहिले मैले नै दिनुपर्छ। तर म आफ्नो जिम्मेवारीबाट भाग्दिनँ।'
सवारी चालकलाई लाइसेन्स, सडकको रुट-पर्मिट लगायतमा यातायातको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै मातहतमा रहेको उल्लेख गर्दै उनले भने, 'दुर्घटना न्यूनीकरण गर्न हामीले छिट्टै सडक सुरक्षा परिषद् ल्याउँदैछौं। त्यसले सम्पूर्ण काम गर्नेछ।'

सडक दुर्घटनाको जिम्मेवारी त्यही परिषद्ले बहन गर्नेछ । त्यसलाई सरकारले डेढ वर्षअघि नै मन्त्रिपरिषद्को बैठकबाट पारित गरिसकेको छ। तर काम अघि बढाउन भने सकेको छैन। 'परिषद्का लागि सवारी ऐन संशोधन गर्नुपर्ने हुन्छ, सरकार त्यसको तयारीमा छ।' उनले सडक सुरक्षामा मन्त्रालय वा यातायात व्यवस्था विभाग मात्र अघि बढेर दुर्घटना कम नहुने बताए। उनले भने, 'यसमा सबै क्षेत्र मिलेर अघि बढ्नु जरुरी छ।' उनले यातायात व्यवसायीको सिन्डिकेटतर्फ इंगित गर्दै भने, 'व्यवसायीले नाफा मात्र हेरे। उनीहरू प्रतिस्पर्धामा जान खोजेनन्। यो विडम्बना हो। प्रतिवाद गर्न ठूलै आँट लिएर जानुपर्छ।' सचिव सिटौलाले व्यवसायीहरूले आफ्नो अनुकूल नभए बन्द गरेर सर्वसाधारणलाई दुःख दिने गरेको पनि बताए।
कोही बन्न चाहँदैनन् महानिर्देशक
यातायात व्यवस्था विभागको महानिर्देशक कोही पनि बन्न नचाहेको सचिव सिटौलाले बताए। निवर्तमान महानिर्देशक काशीराज दाहाल ६ महिना पनि विभागमा नबसी कृषिमा सरुवा भएका हुन्। 'उनी आपै+m आएर काम गर्न सक्दिनँ भने र इच्छाअनुसार गरे,' सिटौलाले भने, 'व्यवसायी, दैनिक दुर्घटना लगायतका विभिन्न दबाबले यातायात व्यवस्था विभागको निर्देशक बनेर कोही पनि जान चाहँदैनन्।' महिनाअघि दाहाल कृषिमा गएका हुन्।
सिटौलाले आफ्नो मन्त्रालयमा महानिर्देशक बनेर जान चाहने व्यक्ति नभएपछि सामान्य प्रशासन मन्त्रालयलाई कोही महानिर्देशक बनेर जान चाहे पठाइदिनु भनेर पत्र काटेको पनि जानकारी दिए। सचिव सिटौलाले साताभित्र नयाँ महानिर्देशकको नियुक्ति गरिने तयारी गरेको बताए।
दुर्घटना न्यूनीकरण गर्न नयाँ संयन्त्र चाहिने पूर्वसचिव कृष्ण ज्ञवालीले बिहीबारको छलफलमा बताएका छन्। 'जिल्ला प्रशासन कार्यालय जस्तै, काम गर्ने र दण्डित गर्ने दुवै शक्ति दिने खालको संयन्त्र यातायात क्षेत्रमा पनि चाहिन्छ,' उनले भने।

प्रकाशित मिति: २०७१ मंसिर २६ ०८:३९