Pages

दलहरुलाई सहमति खोज्न चीनको सुझाब

काठमाडौ, पुस १२ - चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका दलहरूलाई साझा आधार खोजेर संविधान बनाउन सुझाएका छन्। चिनियाँ राजदूतावासले काठमाडौंको याक एन्ड यति होटलमा शुक्रबार गरेको कार्यक्रममा देश-विदेश नीतिबारे बोल्दै उनले दलका शीर्ष नेताहरूको पनि उपस्थिति रहेको हलमा भने, 'साझा आधार खोजेर संविधान बनाउन सकिन्छ।'


नेपालबारे जानकार र चिनियाँ कम्युनिस्ट पार्टी -सीसीपी) का सदस्यसमेत रहेका वाङले चीन नेपालको राम्रो साथी रहेको र नेपालको आन्तरिक मामिलामा आफ्नो देशले कुनै पनि हस्तक्षेप नगर्ने बताए। उनले भने, 'तर हामी आशा गछौैर्ं, संविधान निर्माण प्रक्रिया राम्ररी अघि बढोस्। हामी आशा गर्छौं, फरक विचारधारा भएका दलहरू एउटै साझा आधारमा आएर सहमति गरून्।'

उनले सहमति नेपाल र नेपाली जनताले चाहेको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै छलफल र संवादबाट अघि बढ्नुपर्ने बताए। ११ वर्षपछि काठमाडौं ओर्लिंदा पनि धेरै परिवर्तनका बाबजुद नेपाल र चीनबीचको मित्रता उस्तै महसुस भएको उल्लेख गर्दै वाङले भने, 'शान्त, स्थिर र संगठित नेपालले विकासको आनन्द दिन्छ। त्यो जनताका लागि आशीर्वाद मात्र होइन, साथमा यो क्षेत्रमा रहेका सबै देशहरू नेपालको यस्तै चाहन्छन्।'
नेपाल र चीन सम्बन्ध बलियो रहेको पटक-पटक दोहोर्‍याएका वाङले राष्ट्रपति सी जिनपिङले सरकार हाँक्ने जिम्मा पाएपछि छिमेकीसँगको कूटनीतिक सम्बन्धलाई अघि बढाउन नयाँ नीति लिएको बताए। 'सीले छिमेक सम्बन्धको कूटनीतिक नीतिमा चार मुख्य सिद्धान्तलाई अघि सारेका छन्, तीन हुन्, निकट मित्रता, इमानदार सम्बन्ध, पारस्परिक लाभ र समावेशी,' उनले भने, 'त्यहीअनुसार अघि बढ्ने छौं।' वाङले सीलाई उद्धृत गर्दै थपे, 'चीन यो छिमेक सम्बन्धलाई एउटा समुदायमा लान चाहन्छ, जसको एउटै लक्ष्य हुन्छ।' उनले नेपाल चीनको सबैभन्दा नजिकको सम्बन्ध भएको छिमेकी रहेको उल्लेख गर्दै भने, 'हामी सबै यो समुदाय निर्माण गर्न चाहन्छौं र नेपालले पनि यसमा सहकार्य गर्ने आशा गरेका छौं।'
उनले शुक्रबारै दिउँसो नेपाल सरकारसँग गरेका नौ मुख्य क्षेत्रका तीन आधारलाई अब काममा उतार्नुपर्ने बताए। हलमा उपस्थित कांग्रेस, एमाले, एमाओवादीलगायत विभिन्न दलका नेताहरूलाई लक्षित गर्दै वाङले भने, 'मलाई लाग्छ, नेपाल र चीनबीचको दुईपक्षीय सम्झौतालाई सार्थकता दिन हामीलाई नेपालका सबै राजनीतिक पार्टी र जनताको सहयोग चाहिन्छ।' उनले नेपालले सन् २०२२ सम्ममा अल्प-विकसितबाट विकासोन्मुखतर्फ लिएको यात्रामा चीनले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वाङले अन्त्यमा डिसेम्बर २७ लाई विशेष दिनको संज्ञा दिँदै भने, 'आज माओ त्सेतुङको जन्म दिन हो। मैले नेपालका साथीहरूसँग पनि कुरा गरे। उनको चर्चा चीनमा मात्र होइन, विश्वमै छ।' उनले माओ त्सेतुङको प्रभाव तथा चीन र राष्ट्रपति सीले लिएको बाटोको बारेमा पनि प्रस्टयाएका थिए।
सशस्त्रको एकेडेमीको शिलान्यास
यसैबीच चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको शिलान्यास भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। चीनको तीन अर्ब ६० करोड रुपैयाँ सहयोगमा निर्माण सुरु भएको एकेडेमी तीन सय सय २० रोपनी जग्गामा बन्नेछ। निजामती अस्पताललाई २० करोडको उपकरण
यस्तै चिनियाँ विदेशमन्त्री वाङले निजामती कर्मचारी अस्पताललाई शुक्रबार करिब २० करोड रुपैयाँबराबरको अत्याधुनिक चिकित्सा उपकरण हस्तान्तरण गरेका छन्।

प्रकाशित मिति: २०७१ पुस १२ ११:११