Pages

बुद्धभूमिबाट नयाँ अभियान

काठमाडौ, पुस ५ - जसरी इन्टरनेट सञ्जालले हामीलाई विश्वव्यापीकरण गरेको छ । एक-अर्कासँग जोडेको छ । त्यसरी नै अब हामी बुद्धभूमिबाट नयाँ अभियानको सुरुवात गर्छौं, जुन करुणाको विश्वव्यापीकरण हुनेछ,' बालदासताविरूद्ध योगदान पुर्‍याएबापत सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाएका कैलाश सत्यार्थीले शुक्रबार पुरानो बानेश्वरमा एक कार्यक्रममा भने, 'करुणाबाट संसारलाई एक बनाऔं । संयुक्त विश्व, करुणा विश्व, सुन्दर विश्व र अझै राम्रो विश्व ।'


डिसेम्बर १० मा नर्वेको ओस्लोमा पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता मलाला युसुफजाईसँग संयुक्त रूपमा पुरस्कार पाएका सत्यार्थीले काठमाडौं विमानस्थलमा ओर्लिएपछि भने, 'लुम्बिनीमा एउटा राजकुमार बालक जन्मिए । उनको महानताले दुनियाँलाई तोड्यो । उनको करुणाले पैदा गरेको बालक संसारमा बुद्ध बन्यो ।'
बिहान ११ बजे त्रिभुवन विमानस्थल आइपुगेका सत्यार्थीलाई सयभन्दा बढी स्काउट र स्कुलका विद्यार्थी, पञ्चकन्या, पञ्चेबाजासहित सम्मान गरिएको थियो । सभासद डिल्ली चौधरीलाई आफ्नो छोरा र साथी मान्ने सत्यार्थीले आइपुगेलगत्तै बालबालिकासँगको आफ्नो माया देखाइहाले ।

पञ्चकन्यालाई कुन संसारबाट आएको, कति राम्रा छौ भन्दै प्रशंसा गरेका सत्यार्थीले स्काउट बालबालिकालाई सलाम गर्न लगाउँदै आफूले पनि उस्तै शैलीमा फर्काएका थिए । उनले भाषा, धर्म, रंग, धन-सम्पत्तिका आधारमा संसारलाई छुट्याउन नहुने बताए । आफ्ना छोरा भुवन र श्रीमती सुवेधाका साथ आएका सत्यार्थीले भने, 'भारत, पाकिस्तान, युरोपेली, अफ्रिकी, अमेरिकी, नेपाली हामी सबै एक हौँ ।'
उनले बच्चाको महत्त्वपूर्ण प्रसंग कोट्याउँदै थपे, 'के बच्चाले यो भारतीय, पाकिस्तानी, नेपाली वा अन्य कुनै देशको भन्छन् ? यस्ता सब काम त हामी ठूला मान्छेको हो । मान्छे जति पढेलेखेका वा धनी भए पनि सरल हुनुपर्छ । क्षमता दिन सक्ने हुनुपर्छ । ऊभित्र एउटा बच्चा लुकेको हुन्छ । त्यही बच्चालाई हामीले कहिले पनि मर्न दिनुहुन्न । बच्चाको आँखाबाट हेर्नुपर्छ, सधैँ नयाँ सिकिन्छ, नयाँ देखिन्छ ।'
सत्यार्थीले नोबेल शान्ति पुरस्कार आफूले पाएको नभई संसारका सम्पूर्ण बच्चाले पाएको बताए । उनले उदाहरण प्रस्तुत गरे, 'सबैले सत्यार्थीले नोबेल पाए भने तपाईंहरू पनि यस्तै भन्नुभएको छ । तर, त्यो होइन, यो तपाईंहरू सबैले पाएको हो । त्यसैले अब तपाईंहरूको जिम्मेवारी पनि बढेको छ । सबै मिलेर बाल मजदुरी, अशिक्षा र हिंसा खत्तम गर्नुपर्छ ।' उनले संवादशैलीमा भने, 'मेरो छोरी नेपालमा छ, उसलाई कसैले जिस्क्याउँछ, आवाज उठाउनुहुन्छ ? दलालले भारत वा गल्फलगायत अन्य देशमा गुलाम बनाए, लालच देखाई हाम्रा छोरीचेली बेच्दा आवाज उठाउनुहुन्छ ? दर्शकदीर्घाबाट ठूलो आवाज आयो, 'उठाउँछौं... ।' उनले संसारबाट बालदासता, अशिक्षा, हिंसा खतम गर्न अघि बढ्न सबैलाई आग्रह गरे ।
ओस्लोमा नोबेल पुरस्कार लिन जाँदा उनलाई सोधेको थियो रे, 'कैलाश सत्यार्थीजी तपाईंलाई यति प्रेरणा यति शक्ति, यति धेरै वर्षदेखि कसरी मिल्छ ? उनले त्यस बेलाको जवाफ दोहोर्‍याए, 'मैले भन्दै आएको छु र अब पनि भन्छु । मलाई जति संसारमा माया गर्ने यति धेरै बच्चा छन्, जो मलाई साथी मान्छन्, सहयोगी मान्छन्, पिता मान्छन् ।' दर्शकदीर्घाबाट ताजी बज्नेबित्तिकै उनले थपे, 'जब तपाईंहरू ताली बजाउनुहुन्छ, मलाई माया गर्नुहुन्छ । मलाई लाग्छ, तपाईंको बच्चाको, मेरो छोरीको मुखबाट परमात्माले मलाई आशीर्वाद दिइरहेको जस्तो लाग्छ ।'
उनले बालबच्चालाई उद्धार गर्नुको आनन्द पनि सुनाए, 'जब नेपालको बच्चा-छोरीको गुलामी, दुव्र्यवहारलगायत समस्याबाट उद्धार गर्छु, आफ्ना बच्चालाई त्यागिसकेका आमा-बाबुलाई बुझाउँछु । उनीहरूको मुहारमा खुसी फर्काउँदाको खुसी यस्तो लाग्छ, परमात्माले मलाई आर्शीवाद दिइरहेको छ ।'
एपेक्स कलेजमा उनलाई सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सम्मान गरेका थिए भने कलेजका प्रधानाध्यापक एलपी भानुले ढाकाको टोपी लगाइदिएका थिए । ६० वर्षीय सत्यार्थीले स्वागत भाषण गर्न आएकी आश्रा न्यौपाने -१० कक्षाकी छात्रा) लाई प्रशंसा गर्दै भने, 'जसरी अंग्रेजीमा उनले मलाई चिनाइन्, त्यो निकै यथार्थपरक र भित्रैदेखिको थियो । मैले सोचँे उनी एक दिन नोबेल पुरस्कार जितेर आउनेछिन् र म उनको भाषण सुन्न यहाँ आउनेछु ।'
सत्यार्थीले पुरस्कार पाउनेबित्तिकै आफ्नो जन्मघर मध्यप्रदेशको विदिशा गएको र त्यसपछि विश्वभरबाट आएका १० हजारभन्दा बढी निमन्त्रणालाई थाती राख्दै आफ्नो दोस्रो कर्मस्थल नेपाल आएको बताए । उनले भने, 'मैले भनेको थिएँ, सबैभन्दा पहिले मेरा बहिनीभाइ, छोरीहरूसँग मिल्न नेपाल आउँछु, आएँ ।' सत्यार्थीले पाकिस्तानको पेसावरमा तीन दिनअघि स्कुलमा भएको आतंकवादी हमलालाई मानव इतिहासकै ठूलो दुःखद घटना भएको बताए । उनले भने, 'स्कुलमा बच्चा आएका थिए, स्कुल डे्रसमा । तर, घर फर्के कफनको लुगामा । योभन्दा दुःखद के हुन सक्छ ।'
सत्यार्थीको योजना सूत्र
राष्ट्रिय योजना आयोगले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा गरेको सम्मानमा सत्यार्थीले योजनाका सूत्र दिए । उनले भारत स्वतन्त्र भएपछि महात्मा गान्धीले नेहरूलाई दिएको छोटो सल्लाहको प्रसंग कोट्याउँदै योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोेखरेलको टोलीलाई सल्लाह दिए, 'यस्तो योजना बनाउनुहोस्, जसले देशको सबैभन्दा पिछडिएको एउटा मान्छेको मुहारमा खुसी आओस् । हस्ताक्षर गर्नुअघि एकछिन आँखा चिम्लिएर सोच्नुहोस्, पिछडिएको मान्छेलाई त्यो योजनाले के प्रभाव पार्छ ।'
उपाध्यक्ष पोखरेलले नेपालमा हरेक वर्षको बजेटको ३ प्रतिशत बालबालिका सेवामा खर्च गर्ने गरेको जानकारी दिए । सत्यार्थीले शिक्षा नहुनु नै गरिबीको कारण हुने गरेको बताए । उनले भने, 'हामीले १० वर्ष वा केही समयका लागि मात्र हुने गरी योजना बनाउने होइन, वर्षौंसम्म हुने दीर्घकालीन योजना बनाउनुपर्छ ।'
संविधानमा बालअधिकार
 बालबालिकालाई राम्रो शिक्षा दिए युवावस्थामा बेरोजगार नहुने उनले बताए । संसद्को महिला, बालबालिका तथा ज्येेष्ठ नागरिक समितिद्वारा आयोजित कार्यक्रममा सत्यार्थीले नेपालमा बन्न लागेको नयाँ संविधानमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने विषयलाई स्थान दिनुपर्ने बताए । उनले भने, 'बालबालिकालाई शिक्षा, बालश्रमविरुद्ध, मानवअधिकारलगायतलाई आधारभूत अधिकारकै रूपमा संविधानमा राख्नुहोस् । संसारकै उत्कृष्ट सविधान बनाउनुहोस् । पाँच सय वर्षपछि विकसित राष्ट्र हुँदा पनि यसको प्रशंसा होस् ।' उनले कुराभन्दा काम गर्नुपर्ने पनि सुझाब दिए ।
सत्यार्थी र प्रधानमन्त्री सुशील कोइरालाबीच बेलुकी भेट भएको थियो । कोइरालाले सत्यार्थीलाई बधाई दिएका थिए । उनले त्यहाँ पनि अन्य कार्यक्रममा भनेजस्तै नोबेल शान्ति पुरस्कार सबै नेपालीले पाएको र सबैको जिम्मेवारी थपिएको प्रस्ट पारे । बेलुकी एभरेस्ट होटेलमा रात्रि भोज दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सत्यार्थीलाई बधाई दिए । सत्यार्थी शनिबार बिहान बागमती सरसफाइ कार्यक्रममा जानेछन् भने दिउँसो दाङ गई बेलुकी काठमाडौं र्फकनेछन् । सत्यार्थी आइतबार घर र्फकने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७१ पुस ५ ०८:४७