Pages

सभागृहमा विशेष समारोह मात्र

काठमाडौ, मंसिर १९ -  सन् २००० देखि नेपालमा काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल -किम्फ) सुरु भएको हो । अन्तर्राष्ट्रिय हिमाल दिवस पारेर आयोजना गरिने यो फेस्टिभलमा विभिन्न देशका फिल्महरू प्रदर्शन हुँदै आएका छन् । किम्फ अहिलेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुँदै आएको हो । किम्फ भन्नेबित्तिकै सभागृह सम्झने परम्परा बनिसक्यो । तर यस पटक यो सम्बन्ध तोडिंदैछ ।
 १८ औं सार्क शिखर सम्मेलन भएको हल राष्ट्रिय सभागृहमा अब विशेष कार्यक्रम मात्र हुने भएको छ । काठमाडौं महानगरपालिकाको निगरानीमा रहँदै आएको यो हल सम्मेलनपछि सहरी विकास मन्त्रालयले हेर्ने भएको छ ।
२०२२ सालमा चीन सरकारको सहयोगमा बनाउन सुरु गरिएको सभागृह ०२७ मा तयार भएको थियो । हलमा सबैखाले साना, ठूला कार्यक्रम हुँदै आएका थिए । सार्क सम्मेलनका लागि सरकारले सभागृहलाई मर्मत गर्न र 'होल्डिङ रुम' बनाउन १८ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । जीर्ण बनिसकेको हल आकर्षक भएपछि त्यसमा तत्काल कस्ता कार्यक्रम गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।

'एक महिनापछि हामी यो हलमा के-के गर्ने वा नगर्ने भन्ने सुझाव सरकारलाई बुझाउनेछौं,' प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले भने । सुवेदीकै संयोजकत्वमा सभागृह प्रयोग व्यवस्थापनसम्बन्धी सुझाव समिति बनेको छ । त्यसमा प्रधानमन्त्री कार्यालका अर्का सचिव लक्ष्मण अर्यालसहित काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठ, सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय लगायतका पदाधिकारीहरूसमेत छन् ।
सभागृह विभिन्न कार्यक्रमका लागि प्रयोग हुँदा एक दिनको भाडा ७० हजार रुपैयाँ थियो । 'एक वर्षमा मैले १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम उठाएको छु,' सभागृहका प्रमुख गणेश थपलियाले भने ।
सहरी विकासमन्त्री नारायण खड्काले सभागृहलाई अन्तर्राष्ट्रियस्तरको कन्प|mरेन्स हल बनाउने घोषणा गरेका छन् । किम्फका अध्यक्ष वसन्त थापाले सरकारका उपप्रधान तथा स्थानीय विकासमन्त्रीसहित महानगरपालिकाको कार्यकारी प्रमुख धनबहादुरलाई भेटेर सभागृहमा कार्यक्रम अनुमतिका लागि अनुरोध गरेका थिए । 'तर उनीहरूले त्यहाँ गर्न नमिल्ने संकेत दिए । अब अन्तै गर्ने योजना बनाएका छौं,' थापाले भने ।
प्रकाशित मिति: २०७१ मंसिर १९ ०८:४३