Pages

'विदेशमन्त्री आउदैमा राष्ट्रपति आउनुहुन्छ भन्ने हुन्न'

तीन दिने नेपाल भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार नेपाल आइपुगेका छन् । उनको भ्रमणलाई अर्को बर्ष हुनसक्ने चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । वाङलाई नेपालका समकक्षी महेन्द्र पाण्डेले भ्रमणको निम्तो दिएका थिए । नेपाल बसाईंका क्रममा वाङले दुई देशको मन्त्रिस्तरीय बैठकमा सहभागीता जनाउनेछन् । उनले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट गर्ने कार्यक्रम छ । वाङको भ्रमणको बिषयमा केन्दि्रत भएर परराष्ट्रमन्त्री पाण्डेसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानी ।

चीनका विदेश मन्त्री वाङ यीको भ्रमणलाई नेपालले कसरी लिएको छ ?
मन्त्री वाङलाई मैले नै भ्रमणको निमन्त्रणा गरेको हुँ । हाम्रो दुई देश बीचको सम्बन्ध अन्यन्त सुमधुर रहेको अवस्था छ । त्यसमा पारस्परिक हितका निम्ति पनि यस्तो भ्रमणको महत्व हुन्छ । यो आधिकारिक र सद्भावना भ्रमण हो । भ्रमण एकतर्फ दुवै देशको सम्बन्धलाई नवीकरण र सुदृढीकरण गर्दै र अर्को तर्फबाट हेर्दा अहिले विश्वको ठूलो अर्थतन्त्र भएको नाता र छिमेकी राष्ट्र भएकोले पनि देशमा आमन्त्रण गर्ने र सम्बन्ध बलियो बनाउनका निम्ति महत्वपूर्ण हुनेछ ।


चीनका राष्ट्रपति सी जिनपिङ सन् २०१५ मा नेपाल आउने चर्चा छ । सोही भ्रमणको पूर्व तयारीका लागि विदेश मन्त्री वाङ नेपाल आउदै त्यसको संकेत दिन खोजेका हुन् त ?
सबै मुलुकको माथिल्लो स्तरका व्यक्तिहरूको भ्रमण हुन्छ, त्यस्तो हुँदा विदेश मन्त्री अहिले आउनु भएको छ । भोलि नेपालको परराष्ट्र मन्त्री पनि उता भ्रमण गर्न जान सक्छन् । विदेशमन्त्री अन्य देश जाँदैमा पछि राष्ट्र प्रमुखको भ्रमण हुन्छ भन्ने होइन । तर कहिलेकाही यस्तो सन्दर्भ जोडिन सक्छ पनि । यस पटक वाङ आउदै हुनुहुन्छ । चीनको राष्ट्रपति (सी जिनपिङ) ले अहिलेको नीतिअनुसार छिमेकीहरूको सम्बन्ध सुदृढ गर्ने भन्ने बुझिन्छ । उनले माल्दिभ्स, श्रीलंका र भारत भ्रमण गरिसकेका छन् । त्यही नीतिअनुरूप उनी सार्कका बाँकी देश र अन्य छिमेकी मुलुक घुम्ने योजनामा हुनुहुन्छ । त्यही अनुसार नेपालमा पनि आउनु होला । आर्थिक गतिविधिमा संसारकै शक्तिशाली राष्ट्र नेपाल भ्रमणमा आएमा हामीलाई सहयोग होला । केही न केही योगदान हुन्छ । एउटा विचार आद्रान-प्रदान हुन्छ । अर्को भ्रमण आदान-प्रदान पनि हुन्छ । त्यसका आधारमा नीति कार्यक्रमलाई सुधार गर्दै अघि बढाउन फलदायी हुन्छ । अहिले परराष्ट्र मन्त्रीको भ्रमण भएको छ, राष्ट्रपतिको भ्रमण हुन सक्छ । किनकी एउटा परराष्ट्र मन्त्री भ्रमण गरेपछि त्यसको सबै परिस्थितिलाई उसले हेर्छ, बुझ्छ, विश्लेषण गर्छ र त्यहाँको सबै प्रतिवेदन बनाएर राष्ट्र प्रमुखलाई पेस गर्छ । चीनको अहिलेको नीतिलाई हेर्दा विभिन्न छिमेकी देशमा राष्ट्रपति आउन सक्ने सम्भावना छ । तर यो भ्रमण राष्ट्रपतिको पूर्व तयारीभन्दा पनि दुई देशको सम्बन्धलाई सुदृढीकरण गर्ने र बलियो बनाउने नै हो ।

वाङको भ्रमणमा दुई पक्षीय छलफलका एजेन्डाहरू के हुन् ?
चीन हाम्रो विकास साझेदार हो । सहयोगी हो । भखरै हामीले सार्क (मंसिर १० र ११) गरौं । चीन सार्कको शक्तिशाली पर्यवेक्षक राष्ट्र हो । उ यसको विकास साझेदार पनि हो । सार्ककै बेलामा चीनका प्रतिनिधिले साढे ५ सय मिलियन डलर सार्कलाई दिने घोषणा गरे । चीन आउँदा विकासमा सहज हुन्छ । सार्कको घोषणामा हामीले के भनेका छौ, पर्यवेक्षकहरूसँग प्रोजेक्ट बेसका आधारमा हामी सहकार्य गर्ने भनेका छौं । त्यसमा हामी अहिले सार्कको अध्यक्ष पनि भएको र चीन पर्यवेक्षक छ । चीनले यहाँ आएर परिस्थिति बुझेर विकासका पक्षहरू थप सहयोग पनि गर्न सक्छन् । पूर्वाधार, उर्जा विकास, व्यापार विस्तार, पर्यटकमा चिनियाँ पर्यटकको बृद्धि, शिक्षामा लगानी बृद्धि गर्ने, स्वास्थमा लगानी बृद्धि गर्ने, यस्ता कयौं क्षेत्रहरु यो भ्रमणका छलफल हुन सक्छन् ।
भनेपछि नेपाल-चीनको द्धिपक्षीय सम्बन्ध पनि सार्ककै चार्टडका आधारमा गछौं त ?
सार्कको सन्दर्भमा कुरा गर्दा सार्कलाई हेरेर जानु पर्छ । तर द्धिपक्षीय कुरा गर्दा सार्कमा घोषणा गर्ने कुराहरूलाई सार्कमा आफूले गरेको प्रतिवद्धतालाई असर नगर्ने गरी काम गर्नुपर्छ । आफ्नो घोषणालाई सम्मान गर्दै अघि बढ्नु पर्छ । तर क्षेत्रिय संगठनमा द्धिपक्षीय सम्बन्धलाई असर गर्ने गरी निर्णय गरेको हुँदैन ।
एक महिनाअघि खुलेको रसुवागढी-केरूङ नाकालाई कसरी हेर्नु भएको छ ?
यो अहिलेको मार्ग होइन, यो कोदारी मार्गभन्दा पहिलेको नाका हो । धेरै पुरानो । नेपाल र चीनबीच व्यापार हुने नाका हो पुरानो नाका हो । त्यो पारम्परिक रूपमा रहेको नाकालाई आधुनिकीकरण गरेको हो । अहिले व्यापार बढेको छ, जनताको आवश्यकता बढेको छ, त्यसलाई सहज बनाउन यो नाकाको महत्वपूर्ण भूमिका छ ।
कुन एजेन्डामा हामी बढी केन्द्रित हुने छौं ?
दुवै प्रतिनिधि मण्डलबीच छलफल हुन्छ । उहाँहरू केमा सहयोग गर्न चाहनुहुन्छ र हामीलाई केमा सहयोग चाहिएको छ, त्यो मिलेमा उनीहरूले सहयोग गर्न सक्छन् ।