Pages

'नेपाल मेरो दोस्रो घर हो’

कान्तिपुर कुराकानी
सानोदेखि नै सोच्दै आएको छु, कुनै पनि चुनौतीबाट भागेर समाधान हुँदैन । त्यसको डटेर सामना गर्नुपर्छ र नतिजा स्वीकार गर्न तयार भएर बस्नुपर्छ ।
--------------
मलाई नोमिनेट गर्न समर्थन गरे, संसारबाट अन्यले पनि नोमिनेट गरेका होलान् । तर शेरबहादुर देउवाजीसँग परिचय थियो र पत्ता लाग्यो ।
--------

नेपालमा लोकतन्त्र आएको छ, यो राम्रो हो । हामी चाहन्छौं, बलियो लोकतन्त्र होस् । प्रगतिशील र समावेशी संविधान बनोस् ।
------
बाल्यकालमा स्वामी विवेकानन्द, स्वामी दयानन्द र महात्मा गान्धीबाट प्रेरणा मिल्यो ।
............................................................
नोबेल शान्ति पुरस्कार थापेपछि नेपाल घुम्न आउने आफ्नो पूर्ववाचालाई पूरा गर्दै शुक्रबार नयाँदिल्लीबाट सपरिवार काठमाडौं ओर्लिए, बालअधिकारकर्मी कैलाश सत्यार्थी । फुलेका कपाल, उस्तै दाह्री, बाक्ला चस्मा लगाएका सत्यार्थीले डिसेम्बर १० मा नर्वेको ओस्लोमा पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता मलाला युसुफजाईसँग संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार २०१४ पाएका थिए । तीनदिने नेपाल भ्रमणमा आएका उनी शुक्रबारैदेखि अत्यन्त व्यस्त छन् । व्यस्त समयका बाबजुद बालबालिकाका अभिभावक भनेर चिनिने उनै सत्यार्थीसँग कान्तिपुरका जगदीश्वर पाण्डेले शुक्रबार राति र शनिबार बिहान बानेश्वरस्थित एभरेस्ट होटलमा कुराकानी गरेका थिए । प्रस्तुत छ, सम्पादित अंश :
यतिबेला तपाईं संसारकै बालबालिकाको अभिभावक भनेर चिनिनुभएको छ, कस्तो लाग्छ ?
बालबालिकाको हकहितका लागि काम गर्न पाउँदा म सधैं खुसी हुने गर्छु । तर अझै धेरै गर्न बाँकी छ । जबसम्म हरेक बच्चाको स्वतन्त्र, शिक्षा, स्वास्थ्यको सुनिश्चित हुँदैन, तबसम्म अभियान जारी रहन्छ र खुसी हुनुपर्ने दिन बाँकी नै छ जस्तो लाग्छ । लडाइँ बाँकी नै छ तथापि बालबालिकालाई उद्धार, सहयोग र साथ दिन पाउँदा बालबालिकाहरूसँगै पनि खुसी नै छु ।


तपाईंको परिवार (श्रीमती सुमिधा र छोरा भुवन) पनि बाल संरक्षण अभियानमै छन् । उनीहरू आफैं लाग्नुभएको कि तपाईंले आग्रह गर्नुभएको ?
मेरी पत्नीसँग विवाह हुनुको कारण नै हामी एउटै विचारको भएको हो । एउटै क्षेत्रमा काम गर्न सोच मिल्नुपर्छ । सोच मिलेकैले विवाह भयो । बच्चा जन्मियो, ठूलो भयो । ऊ पनि यसै क्षेत्रमा लाग्यो ।
तपाईंले सानोमै विदिशा -घर) मा समाजले छुन प्रतिबन्ध गरेको व्यक्तिहरूलाई बोलाएर भतेर गर्नुभयो । कोही पनि नआएपछि आफैंले मात्र त्यो खाना खाएर घर फर्किनुभयो । त्यसपछि तपाईंलाई नै घरको भान्सा कोठामा पस्न एक वर्षको प्रतिबन्ध लाग्यो । त्यो अवस्थामा घर छोडुजस्तो लागेन ?
भाग्नमा म विश्वास गर्दिनँ । सानोदेखि नै सोच्दै आएको छु, कुनै पनि चुनौतीबाट भागेर समाधान हुँदैन । त्यसको डटेर सामना गर्नुपर्छ र नतिजा स्वीकार गर्न तयार भएर बस्नुपर्छ । यस्तो विभिन्न घटनामा मैले साथी गुमाएँ, मेरै हातखुट्टा भाँचिए । परिवारका सदस्यमाथि पनि हमला भए । तर मेरो यात्रा कहिल्यै रोकिएन र रोकिँदैन पनि । सधैं जारी रहन्छ ।
तपाईंले करुणा हुनुपर्छ, करुणाबाट विश्वलाई जोड्नुपर्छ भन्नुभएको छ ? तपाईंभित्र चाहिँ कस्तो करुणा छ, जसले गर्दा डटेर अघि बढिरहनुभएको छ ?
सबैभित्र करुणा छ । तर करुणाको दुई दिशा हुन्छ ।
एक दिशा दुःख, पीडा, निराशा, हतासतिर जान्छ र अर्को दिशा अन्याय, असहमति, अत्याचार, हिंसाविरुद्ध । हामीले काम गर्नुपर्छ, यी कुराहरूको समाधान गर्नुपर्छ । यी गलत कुराहरूसँग
सम्झौता गर्नु हुँदैन । यो भित्रको तागतबाट मिल्छ, त्यही
करुणा हो ।
नोबेल शान्ति पुरस्कारसम्मको यात्रामा नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहयोग गर्नुभएको हो ?
त्यो सत्य हो । योगदान भनेको जब नोमिनेसन हुन्छ, जसले नोमिनेट गर्छ, त्यो थाहा हुँदैन । प्रारम्भिक नोमिनेट कसरी भयो, त्यो ५० सालपछि मात्र थाहा पाइन्छ । तर केही सालअघि म नोमिनेट भएँ भनेर खबर आएको थियो । त्यसको समर्थनमा समर्थक नामाङ्क हुन्छ, त्यस बेला देउवाजी जेल (२०६१ साल) मा थिए । जब उनले थाहा पाए, त्यसका बाबजुद मलाई नोमिनेट गर्न समर्थन गरे, संसारबाट अन्यले पनि नोमिनेट गरेका होलान् । तर देउवाजीसँग परिचय थियो र पत्ता लाग्यो ।
डिसेम्बर १० मा ओस्लोको मञ्चमा तपाईंले भारतीय बाबुले पाकिस्तानी छोरी (मलाला) पाएको र पाकिस्तानी छोरीले भारतीय बाबु पाएको भन्नुभएको थियो । र, दुवै मिलेर सँगै दक्षिण एसियामा काम पनि गर्ने भन्नुभएको थियो । के भइरहेको छ ?
मैले उनीसँग भनेको छु कि हामी मिलेर संसारको बालबालिकालाई केही गर्नुपर्छ । केही काम उनी गरिरहेकी छन्, आफ्नो तरिकाबाट । केही म गरिरहेको छु । शान्ति र अहिंसाका लागि हामी दुवै मिलेर काम गरौं भन्ने मेरो आग्रह हो ।
२०४६ सालको नेपालको प्रजातान्त्रिक आन्दोलन बनाउन तपाईं दिल्लीस्थित ब्राहखम्बामा रहेको नेपाली दूतावासअघि आन्दोलन गर्न जानुभएको थियो । नेपालको अहिलेको स्थिति देखेर कस्तो महसुस हुन्छ ?
नेपालमा लोकतन्त्र आएको छ, यो राम्रो हो । हामी चाहन्छौं, बलियो लोकतन्त्र होस् । प्रगतिशील र समावेशी संविधान बनोस् । र, एउटा मजबुद राष्ट्र बनोस् । यो देश दुवै बलियो राष्ट्र (भारत र चीन) को बीचमा छ । दुवै छिटो विकास गर्ने राष्ट्रको बीचमा छ, नेपाल । मेरो विश्वास छ, नेपाल एउटा समृद्ध र सम्पन्न राष्ट्र बन्नेछ ।
तपाईंले इन्टरनेट सञ्चालनले विश्वव्यापीकरण गरेजस्तै बुद्धको भूमि नेपालबाट करुणालाई विश्वव्यापीकरण गर्नुपर्छ भन्नुभएको छ ? त्यो सम्भव छ त ?
हो, विश्वलाई नै जोड्न चाहन्छौं । यदि मान्छे आफ्नो जस्तै अरूको बच्चाप्रति करुणा भाव राख्छ भने यसरी विश्व जोडिन्छ । तपाईं सोच्नुहोस्, मुसलमानको बच्चाले छिमेकी हिन्दुलाई माया गरिरहेको छ, हिन्दुको बच्चालाई मुसलमानको बच्चाले । पाकिस्तानी बच्चालाई भारतीयले माया गर्छन् । इजरायलको बच्चाका लागि प्यालेस्टाइनका अभिभावकले माया गर्ने, ऊ
बढेको चाहने, उसलाई मर्न नदिने, स्वतन्त्र हुन दिने गर्नुपर्छ । त्यसो भए, साँच्चै देश, जाति, सम्प्रदायप्रति घृणाको भाव सकिन्छ । एक आपसमा माया हुन्छ । छिमेकीको बच्चाप्रति
माया गरेपछि, जति जग्गाजमिनको झगडा भए पनि छिमेकी मिल्छन् ।
संसारभरका विभिन्न कुनाबाट १० हजारभन्दा बढी निमन्त्रणा आउँदा पनि पहिलो भ्रमणका लागि नेपाल नै किन रोज्नुभयो ?
नेपालको निमन्त्रणा त औपचारिकतामात्र हो । म आफैं यहाँ आउन चाहन्थें । मैले पहिले नै भनेको थिएँ, नोबेल पुरस्कार पाएपछि सबैभन्दा पहिले आफ्नो जन्मभूमि मध्यप्रदेशको विदिशामा जान्छु । र, त्यहाँबाट जहाँ जान्छु, पहिले त्यो नेपाल नै हुनेछ । किनकि नेपाल त मेरो दोस्रो घर नै हो ।
इन्जिनियरिङको पढाइ सकेर त्यसै क्षेत्रमा करियर बढाउन सक्ने सम्भावना हुँदाहुँदै किन 'बचपन बचाउ’ (बाल्यकाल जोगाऔंं) आन्दोलनको सुरुआत गर्नुभयो ?
इन्जिनियरिङ पढ्दा होस् या बच्चामा स्कुलमा पढ्दा मेरो स्वभाव नै सहयोगी प्रकृतिको थियो । त्यो बेला अहिले जस्तो बाल मजदुरी, बधुवा मजदुरीजस्ता मुद्दा प्रभावकारी रूपमा उठिसकेका थिएनन्, त्यसले गर्दा समाजमा अभियान चलाउन पनि मिलेन । प्रेरणा समस्या देखेर मिल्ने हो । समाजमा शिक्षाबाट वञ्चित बालबालिका, जोसँग पढ्न किताब हुन्नथ्यो, देख्न थालेपछि हामीहरू पैसा संकलन गरेर किताब किनिदिन्थ्यौं । स्कुल छाड्ने बालबालिकालाई पैसा उठाएर शुल्क तिरिदिन्थ्यौं । अरू केही गरेर सहयोग पनि गर्‍यौं । यस्तै चलिरह्यो ।
ती गरिब बच्चा होइनन् । अन्याय, अत्याचार र अधिकारको सिकार भएका बच्चा हुन् । सन् १९८१ मा यस्तो एक/दुई घटना भयो, जहाँ केही अभिभावकले गुनासो गरे, 'हाम्रा बच्चाहरू मजदुरीमा छन् । हामीलाई सहयोग गर्नुहोस्' भनेर । जब हामीले गएर बच्चालाई त्यहाँबाट निकाल्न खोज्यौं । हामीले थाहा पायौं, यो संगठित अपराध हो, सामाजिक रोग हो, ठूलो अपराध हो, विकासको अवरोध हो, यसलाई रोक्नुपर्छ । त्यसपछि हामीले फरक-फरक रूपमा काम थाल्यौं । मैले 'बचपन बचाउ' आन्दोलनको नाम राख्दै काम सुरुवात गरिरहेको थिएँ । त्यसले काम गर्न थाल्यो, किनकि सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा ज्यादा पीडादायी, अन्यायको सिकार हुने अवस्था पनि बाल्यकाल नै हो ।
तपाईं सधैं भाषण गर्दा गान्धी, मदर टेरेसा, नेल्सन मन्डेला, मार्टिन लुथरकिङको नाम लिनु हुन्छ, तपाईंलाई सबैभन्दा बढी प्रेरणा यीमध्ये कोबाट मिलेको हो ?
बाल्यकालमा स्वामी विवेकानन्द, स्वामी दयानन्द र महात्मा गान्धीबाट प्रेरणा मिल्यो । पछि जसरी जान्दै गएँ, अरूका बारेमा पनि सिक्दै गएँ ।
पुरस्कार पाउनुअघि र पछिमा के फरक महसुस गर्नु हुन्छ ?
पुरस्कार पाएपछि चर्चा स्वाभाविक बढेको छ । नोबेल पाएपछि धेरै निमन्त्रणा आइरहेका छन् । जहाँ गए पनि पत्रकार र फोटो खिच्ने मान्छे आइहाल्छन् । फरक त परिहाल्छ नि ।
दक्षिण एसियामा बालबालिकाको अवस्था र समस्यालाई कसरी हेर्नु हुन्छ ?
तपाईंलाई सुन्दा आश्चर्य लाग्ला, दक्षिण एसियामा बालबालिकाको बेचबिखन यो विधि भएको छ कि, यसका पछाडि 'कालो धन्दा' छ । र, यो क्षेत्रमा बढ्दै गइरहेको छ । यस्तो अपराधविरुद्ध हामी सबैले विभिन्न क्षेत्रबाट आवाज उठाउनुपर्छ । बालिकाहरू वेश्यालय पुग्ने जुन घिनलाग्दो अवस्था छ, त्यसका विरुद्ध एकजुट हुनु आवश्यक छ । त्यस्ता अमानवीय अवस्था भोग्न बाध्य केटीहरू वेश्यालयबाट छुटेपछि उनीहरूलाई इज्जतको दर्जा दिनु हामी सबैको साझा जिम्मेवारी हो । उनीहरूलाई पुनर्वास, शिक्षा आदि आवश्यक कुरा उपलब्ध गराउनुपर्छ ।