Pages

छिमेक सम्बन्धमा 'चिनियाँ प्राथमिकता'



काठमाडौ, पुस ११ - सन् २०१४ सकिनै लाग्दा राष्ट्रपति सी जिनपिङको छिमेकलाई महत्त्व दिने सन्देश लिएर चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं उत्रेका छन् । वाङसँगै चिनियाँ अधिकारीहरूको बाक्लो भ्रमणले नेपालमा चीनको सक्रिय कूटनीतिलाई बढावा दिएको विश्लेषकहरूको बुझाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री एवं नेपाल-भारत मामिला प्रमुख छन फङसयाङ फर्केकोे एक सातापछि विदेशमन्त्री वाङ यहाँ आएका हुन् ।

बिहीबार मध्याह्न १२ बजे त्रिभुवन विमानस्थलमा आफ्नै विमानबाट आएका वाङ सिधै नगरकोटस्थित क्लब हिमालय पुगेका थिए, जहाँ क्रिसमसको दिन उनको रिटि्रटमा बितेको छ । नेपाली पक्षसँग उनको औपचारिक भेटवार्ता शुक्रबार हुनेछ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफ्ना चिनियाँ समकक्ष्ाीको भ्रमण महत्त्वपूर्ण रहेको बताए । 'जुन छिमेकीका पनि उच्चस्तरीय राजनीतिक भ्रमणको आफ्नै महत्त्व रहन्छ,' उनले कान्तिपुरसँग भने, 'यो औपचारिक सद्भाव भ्रमण हो । यो भ्रमणमा बृहत् क्षेत्रका विषयमा छलफल हुन्छ ।'
उनले वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको प्रस्तावित नेपाल आगमनसँग जोडेर हेर्न सकिने टिप्पणी गरे । 'यो भ्रमणलाई राष्ट्रपति सीको भ्रमणसँग जोडेर हेर्न सकिन्छ,' उनले भने । सन् २०१५ मा नेपाल-चीन सम्बन्धको ६० वर्ष, जसलाई चिनियाँहरूले राम्रो अंकका रूपमा लिने भएकाले त्यही अवसरमा राष्ट्रपतिको नेपाल भ्रमण हुने नेपाली अधिकारीको अपेक्षा छ ।

शुक्रबार हुने मन्त्रीस्तरीय छलफलमा नेपालको तर्फबाट ऊर्जा, व्यापार, स्वास्थ्य, सञ्चार, कृषि, भौतिक पूर्वाधारलगायत विविध विषयमा कुराकानी हुने पाण्डेको भनाइ थियो । 'विविध पक्षका कुरा भएपछि उनीहरूको चासो कुन परियोजनामा हुन्छ, त्यसका आधारमा प्रस्ताव बन्छन्,' उनले भने, 'अहिले त्यसको टुंगो लागिसकेको छैन ।'
 बेइजिङस्थित नेपाली राजदूत महेश मास्केले अंग्रेजी वर्षको अन्त्यमा भएको विदेशमन्त्री वाङको नेपाल भ्रमणले नयाँ वर्ष २०१५ मा नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । 'सन् २०१५ नेपाल-चीन सम्बन्धलाई नयाँ
उचाइ दिने वर्ष बन्न सक्छ,' उनले बेइजिङबाट टेलिफोनमा कान्तिपुरसँग भने, 'कूटनीतिक सम्बन्धको ६० वर्ष पुगेको अवसरमा विदेशमन्त्री वाङको भ्रमणले उच्चस्तरीय सकारात्मक
सन्देश दिनेछ ।'
 तीनदिने भ्रमणका क्रममा वाङले चिनियाँ नेतृत्वले तय गरेको छिमेकीसँगको सम्बन्ध विस्तारमा केन्दि्रत हुने नीतिमा केन्दि्रत हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । वाङले नेपालको संविधान निर्माण प्रक्रिया, दुई देशको सम्बन्ध विस्तारलगायतका विषयमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र राजनीतिक दलका नेताहरूसँग कुराकानी गर्ने स्रोतहरूको भनाइ छ । अन्य नेपाली नेताहरूसँग विदेशमन्त्री वाङले शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले गर्ने दिवा र चिनियाँ दूतावासले गर्ने रात्रिभोजका क्रममा कुराकानी गर्नेछन् ।
चीनका राष्ट्रपति सीले भारत, श्रीलंका र माल्दिभ्सको भ्रमण गरिसकेकाले बाँकी रहेका नेपाल, बंगलादेश र पाकिस्तान भ्रमणको वातावरण बनाउन वाङको दक्षिण एसियाली भ्रमणको अर्को उद्देश्य रहेको स्रोतले उल्लेख गर्‍यो । उनी काठमाडौंको भ्रमण सकेर ढाकातर्फ जाने कार्यक्रम छ ।
 पूर्वपरराष्ट्रमन्त्री एवं एमाओवादी विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले चीनले वाङलाई पठाएर राष्ट्रपति सीको भ्रमणको सम्भावना केलाउन चाहेको बताए । 'दक्षिण एसियामा नेपाल उच्च प्राथमिकतामा छ भन्ने चीनले देखाउन चाहन्छ,' उनले भने, 'त्यस्तै नेपालमा शािन्त र स्थिरता भएको देख्न चाहन्छ ।'
 सन् २०१२ मा श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा छलफलका लागि मन्त्रीस्तरीय संयन्त्र बनाएका थिए । त्यसअघि सचिवस्तरीय संयन्त्र थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि नेपालको भ्रमण गर्ने वाङ सबैभन्दा वरिष्ठ अधिकारी हुन् । यसअघि सन् २००८ मा तत्कालीन विदेशमन्त्री याङ जेइचीले नेपाल भ्रमण गरेका थिए ।
वाङले शुक्रबार बिहान चीन सरकारको सहयोगमा बानेश्वरमा बनेको निजामती अस्पतालका लागि सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसपछि उनी होटेल सोल्टीमा हुने मन्त्रीस्तरीय द्विपक्षीय वार्तामा सहभागी हुनेछन् । त्यहाँ दुई देशका मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने जनाइएको छ । त्यसपछि उनले चीनको सहयोगमा बलम्बुमा बन्न लागेको सशस्त्र प्रहरी बलको तालिम केन्द्रको शिलान्यास गर्नेछन् । राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री कोइराला तथा प्रमुख दलका केही नेताहरूसँग भेटवार्ता गरेपछि विदेशमन्त्री वाङ बेलुकी याक एन्ड यतीमा चिनियाँ राजदूत वु चुन्ताईले दिने रात्रिभोजमा सहभागी हुनेछन् । उनले त्यहाँ चीनले नयाँ विदेशनीतिबारे बोल्नेछन् । सोल्टी होटेलमा रात बिताएर उनी शनिबार बिहान धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा पुगेर बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।
यसअघि चिनियाँ पार्टीभित्र ताइवानी मामिला हेर्दै आएका वाङ विशेषतः जापान मामिलाका जानकार हुन् भने नेपाली मामिलामा पनि उनको पुरानै रुचि छ ।
यसअघि को-को आए ?
मंसिर २९ मा काठमाडौं उत्रिएका थिए, चीनको नयाँ छिमेक नीतिका एक मस्यौदाकार वाङ होइसेन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को न्यायपालिकाको सर्वोच्च संस्थाका सदस्यसमेत रहेका नयाँ नीति मस्यौदाकार वाङले यहाँ सार्वजनिक प्रवचनसमेत दिएका थिए ।
यस्तै, पुस सुरुमा आएका सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङसियाङले पार्टीको पछिल्लो पूर्ण बैठकले लिएको छिमेक नीतिबारे राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक दलका नेताहरूलाई अवगत गराएका थिए ।
पुस ३ मा नेपालमा फेरि अर्को टोली आयो, चिनियाँ थिंकट्यांकको उच्च प्रतिनिधिमण्डल । राज्य परिषदको अधीनमा रहेको चिनियाँ सामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था -सीआईसीआईआर) का उपाध्यक्ष याङ मिङ चेको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आएको थियो । प्राध्यापक हु सिसेङ, हतियार नियन्त्रण तथा प्रतिआतंकवाद अध्ययन केन्द्रका निर्देशक सियावो छियाङ र वाङ सिदा टोलीमा थिए । चारदिने नेपाल भ्रमण गरी रसुवागढी-स्याप|mुबेंसी केरुङ नाका हुँदै स्थलमार्गबाट तिब्बत फर्कियो । 

प्रकाशित मिति: २०७१ पुस ११ ०८:१६