Pages

'केरुङ नाकासम्म रेलमार्ग पुर्‍याउने योजना छ'

संक्रमणकाल अन्त्यका संविधानमा साझा बिन्दु आवश्यकः चिनियाँ विदेशमन्त्री

  • 'केरुङ नाकासम्म रेलमार्ग पुर्‍याउने योजना छ'

  • सन् २०१५ नेपाल चीन सम्बन्धको विशेष वर्ष


काठमाडौं, पुस १३ - चीनले नेपालका फरक विचार भएका दलहरूलाई राजनीतिक स्थायित्वका लागि विशेष गरी संविधान निर्माणमा साझा बिन्दु खोज्न सुझाव दिएको छ । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राजनीतिक दलका नेताहरुलाई संविधान निर्माणका लागि साझा बिन्दु खोज्न आग्रह गर्दै फर्केका छन् ।
 दलहरुले संविधान निर्माणबारे आआफ्ना अडानमा कायम रहेको बेला चिनियाँ वरिष्ठ अधिकारीबाट यस्तो भनाइ आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्तो सहमतिका आधारमा संविधान बनाउन स्पष्ट शब्दमा नभने पनि मन्त्री वाङले कुटनीतिक भाषा प्रयोग गरे ।

 'नेपालका राजनीतिक दलले आआफ्ना मतभिन्नता हुदाहुदै भने साझा अवधारणा बनाउने छन् भन्नेमा चीनको बिश्वास छ' वाङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग शुक्रबार बेलुका भएको रात्रीभोजमा भने, 'मलाई बिश्वास छ, तपाईहरु तोकिएकै समयमा संविधान निर्माण गरी मुलुकको दीर्घकालीन लक्ष्य पुरा गर्नुहुनेछ ।' उनले कांग्रेस, एमाले र अन्य नेताहरुलाई पनि संविधान निर्माणमा सहमति खोज्न सुझाव दिएका थिए ।

 व्ााङले स्थायित्व भएपछि मात्र नेपालले आर्थिक गति दिन लिने विश्वास व्यक्त गरे । 'नेपालले आफ्नो लक्ष्य प्राप्त गर्न पहिले राजनीतिक र सामाजिक रुपमा स्थायी वातावरण हुनु आवश्यक छ' वाङको भनाइ थियो, 'हामी आशा गर्छौ तोकिएकै समयमा संविधाधन निर्माण भई आर्थिक विकासको बाटोमा अघि बढ्ने छ ।'
प्रधामनन्त्रीका विदेश सल्लाहाकार दिनेश भट्टराईले प्रधानमन्त्री सुशील कोइरालासंगको कुराकानीमा वाङले शान्ति र स्थिरता कायम भएको हेर्न चाहेको बताएको जानकारी दिए । 'दुवै छिमेकीले नेपालमा शान्ति, लोकतन्त्रको संस्थागत र संक्रमणकाल सकिएको हेर्न चाहेका छन्,' भट्टराईले भने,'हाम्रो संक्रमण काल लम्बिएको छ, आन्तरिक कुरालाई मिलाएर स्थायित्व तर्फ जानु पर्छ । दुवै मुलुकले गरेको सहयोगको राम्रो सदुपयोग गर्नुपर्छ ।'
 नेपालमा दलहरुबीच दूरी बढा संक्रमणकाल लम्बिने र अन्ततः त्यसले तिब्बतको सुरक्षामा असर गर्ने चीनको बुझाइ छ । वाङजस्तै नेपाल भ्रमणमा आउने चिनियाँ अधिकारीको पहिलो जोड नेपालको स्थायित्व हुनुपर्नेमा हुन्छ । वाङले शुक्रबार नेपालको उत्तरी सीमामा हुने अवैद्य आवतजावतमा कडाइ गर्नुपर्ने कुरा प्राथमिकताका साथ राखेका थिए ।
 सन् २०१५ लाई दुई देशबीचको सम्बन्धलाई 'विशेष वर्ष' को रुपमा मनाउने उल्लेख गर्दै उक्त अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण हुने आश्वासन दिएका छन् । नेपाल चिरपरिचित छिमेकीको सन्देश दिन उनी नगरकोट दुई दिन बिताएर  शनिबार बेलुकी बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।
 विदेशमन्त्री वाङको भ्रमणले दुवै देशको सम्बन्धमा नयाँ आयाम थपेको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले कान्तिपुरसँग बताए । कुटनीतिक सम्बन्धको ६० वर्ष पुगेकोमा सन् २०१५ मा 'विशेष वर्ष' बनाउन नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्री चीन जाने र उताका राष्ट्रपति, प्रधानमन्त्री पनि यता आउने निम्तो आदानप्रदान भएको बताए ।
'चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई निम्तो दिएका छन्,' पाण्डेले भने,'हामीले पनि अर्को वर्ष राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमणका लागि निम्तो दिएका छौं ।'  उनले चिनियाँ राष्ट्रपति सी नेपालको भ्रमणबारे वाङसंग कुरा भएको जानकारी दिए । 'चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपालको निम्तो मान्न अर्को वर्ष नेपाल आउने छन्,' उनले भने,'उनीहरूले उचित समय मिलाएर आउने भनेका छन्, त्यो उचित समय अर्को वर्ष नै हुनसक्छ ।'
प्रधानमन्त्रीका विदेश मामला सल्लाहाकार दिनेश भट्टराईले अर्को वर्ष चिनियाँ राष्ट्रपति सी आउने संकेत विदेशमन्त्री वाङले दिएको बताए । चीनको परराष्ट्र मन्त्रालयमा शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हु छुनयिङले नेपाल र चीनका नेताबीच आर्थिक मुद्दा, व्यापार, संजाल विस्तार र दुई देशका वासिन्दाको आवतजावतमा महत्वपूर्ण सहमति हुने बताएकी थिइन् । उनले पत्रकार सम्मेलनको सुरुमा वाङको नेपाल भ्रमणबारे ब्याख्या गरेका थिइन् । उनले अर्को वर्ष दुई देशको सम्बन्धमा सम्झनालायक गतिविधि हुने बताइन् ।
वाङले शनिबार हाङकिङ गरे
चिनियाँ विदेशमन्त्री वाङ शनिबार बिहानदेखि नै व्यक्तिगत भ्रमणमा व्यस्त रहे । सोल्टी होटलबाट बिहान हात्तीबन पुगेका उनी आफ्ना सात सदस्यीय टोली, नेपालस्थित चिनियाँ राजदुत र केही नेपालका परराष्ट्र मन्त्रालयका कर्मचारीसहित 'हाइकिङ' गए ।
'उनले प्राकृतिक मज्जा लिए र करिब १ बजे धुलिखेलस्थित द्वावारिकाज रिसोर्टमा गए,' एक परराष्ट्र अधिकारीले भने,'उनले त्यहाँ खाना आए र प्रकृतिमा रम्दै तस्बिरहरू पनि खिचे ।' वाङको शनिबार पूर्ण रूपमा व्यक्तिगत भ्रमणमै केन्दि्रत रहेको परराष्ट्र मन्त्रालयका चीन डेक्स प्रमुख झविन्द्रप्रसाद अर्यालले भने, 'शनिबार नेपालका कुनै पनि पदाधिकारीसँग उनको छलफल थिएन ।' ११ वर्षपछि काठमाडौं आएका वाङ बिहिबार काठमाडौं ओर्लिएका थिए, आए लगतै उनी नगरकोट गए र शुक्रबारमात्र द्वि-पक्षिय भेटघाटमा व्यस्त भए ।
केरुङ नाकासम्म रेलमार्ग पुर्‍याउने योजना
चिनियाँ विदेशमन्त्री वाङले तिब्बतको सिगात्सेदेखि केरुङ नाकासम्म रेलमार्ग पुर्‍याउने योजना रहेको बताएका छन् । उनले त्यसबारे चीनले तयारी सुरु गरिसकेको जनाए । समकक्षी नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसंगको वार्तामा उनले चीनले केरुङ रेल पुर्‍याएपछि राजधानी काठमाडौं जोड्ने योजनाबारे चासो राखेका थिए ।
'नेपालको सीमाना केरुङसम्म रेल ल्याउने मन्त्री वाङले योजना सुनाउनुभयो' पाण्डेले भने, 'त्यहाबाट यता ल्याउने नेपालले विचार गर्न सक्छ भन्ने कुरा हो । योजना बनाउने काम हाम्रो हो ।'
 केरुङ नाकामा रेल पुगेपछि नेपाल र भारतसंगको ब्यापारमा सहज हुने वाङको भनाए थियो । 'केरुङ रेल पुगेपछि नेपाल, भारतसंग व्यापार बृद्धि गर्न चाहन्छौ' वाङले भने । करिब डेेढ महिना अघि चीनले तिब्बतको ल्हासादेखि सिगात्से रेल पुर्‍याएको थियो । सिगात्सेदेखि केरुङ करिब पाँच सय किलोमिटर पर्छ । मन्त्री पाण्डेले भौतिक पूर्वाधारमा सहयोग गर्ने चीनको प्रतिवद्धताको बृहद अर्थ दिने जनाए ।   
 वाङले कोदारी (अरनिको) र केरूङ नाकाबाट व्यापार गर्न बृद्धि गर्ने  भएको पनि बताए । 'उनीहरूले नाकालाई थप मजबुद बनाउन हामी सहयोग गर्न तयार छौं भनेका छन्,' मन्त्री पाण्डेले भने । चीनसँग नेपालको व्यापार घाटा बढी उल्लेख गर्दै चीनले नेपालमा भएका स्रोतलाई उपयोग हुने गरी कम्पनी खोल्न सघाउने प्रतिवद्धता दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: २०७१ पुस १३ ०४:००