Pages

बालबालिकाका संरक्षक

सत्यार्थीले 'बाल्यकाल जोगाऔं' आन्दोलनमा भारतका विभिन्न सर्कस, उद्योग, कम्पनी, घरेलु कामदार आदिमा कार्यरत १२ हजारभन्दा बढी नेपाली बालबच्चालाई उद्धार र पुनर्बसोबास गराइसकेका छन् ।
बाबुको मृत्युपछि चार वर्षको उमेरमा घर छाडेर सडक बालक बन्न पुगेका थिए, वासु राई । उनले आठ वर्षको उमेरसम्म काठमाडौं उपत्यकाका गल्लीहरूमा माग्ने, चोर्ने, गाडीमा काम गर्ने, होटल तथा गलैंचा कारखाना लगायतका काममा व्यस्त रहन बाध्य भए । एकदिन उनलाई सडक बालबालिकालाई हेरचाह गर्ने संस्था सिविन नेपालले उद्धार गर्‍यो । ती बालक अहिले २६ वर्षको लक्का जवान भएर भारतकै चर्चित विश्वविद्यालय नयाँदिल्लीस्थित दिल्ली युनिभर्सिटीमा अध्ययनरत छन् ।
दुई महिनाअघि दिल्लीबाट डेढ घन्टाको उडान भर्दै राई काठमाडौं ओर्लिएका थिए, उपत्यकामा बिताएको आफ्नो धमिलो र कठिन बाल्यकालको संघर्षलाई डायरीमार्फत पुस्तकमा बटुलेर । राईको पुस्तक 'फ्रम द स्ट्रिट्स अफ काठमान्डु'को काठमाडौंमा दोस्रोपटक लोकापर्ण भएको थियो । कार्यक्रममा राईले भने, 'जब म विगतलाई सम्झन्छु, तब दुःखित बन्छु ।'
राईको किताब दिल्लीमा पहिलोपटक लोकार्पण भइसकेको थियो । र त्यो गरेका थिए, पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता १७ वर्षीया मलाला युसाफजाइसँगै सन् २०१४ को नोबेल शान्ति पुरस्कार संयुक्त रूपमा पाएका कैलाश सत्यार्थीले । ६० वर्षीय सत्यार्थीले भारतमा सन् १९८० बाट चलेको 'बचपन बचाओ आन्दोलन' (बाल्यकाल जोगाऔं) सञ्चालन गरेका थिए । बाल दासता विरुद्ध र अधिकारका पक्षमा फिल्मी हिरोभन्दा जबर्जस्त काम गरेर देखाए उनले ।
१० वर्षको उमेरमा राई सत्यार्थीकै संस्था 'बाल्यकाल जोगाऔं' पुगेका थिए । सन् १९९८ मा फिलिपिन्सको राजधानी मनिलामा भएको 'बालश्रम विरुद्धको विश्व यात्रा'मा दुई बालकले सहभागिता जनाएका थिए, राई र विष्णु पौडेलले । नेपालमा बालश्रमको बारेमा काम गर्दै आएको संस्था सिविनले यी दुई बालकलाई एउटा सानो कोठाबाट विश्व यात्रामा पठाएको थियो । विश्वभरका बालक र त्योसँग काम गर्ने संस्थाका मान्छेको भेला भएको ठाउँमा सत्यार्थी नहुने कुरै भएन । मनिला सहरको सम्बन्धबाटै राईको जीवन काठमाडौंबाट दिल्ली सर्‍यो । राई त एक पात्र हुन् । सत्यार्थीले 'बाल्यकाल जोगाऔं' आन्दोलनमा भारतका विभिन्न सर्कस, उद्योग, कम्पनी, घरेलु कामदार आदिमा कार्यरत १२ हजारभन्दा बढी नेपाली बालबच्चालाई उद्धार र पुनर्बसोबास गराइसकेका छन् । उनले तीन दशक लामो यात्रामा दक्षिण एसियाका झन्डै ८४ हजार बालबच्चालाई नरकबाट उद्धार गरेका छन् । र राईजस्तै सक्षम र होनहार युवाको उत्पादन गरेका छन् ।
----
भारतको मुटुमा पर्छ, मध्यप्रदेश । उत्तर-पूर्वमा उत्तरप्रदेश, दक्षिण-पूर्वमा छत्तिसगढ, दक्षिणमा महाराष्ट्र, पश्चिममा गुजरात र उत्तर-पश्चिम राजस्थान राज्यले ढाकेको छ, मध्यप्रदेशलाई । प्रदेशको चर्चित सहर हो, भोपाल । मध्यप्रदेशको यो सहर विश्वमै प्रख्यात छ, 'भोपाल ग्यास ट्राजेडी' घटनाले गर्दा । सन् १९८४ डिसेम्बर २-३ मा युनियन कार्वाड इन्डिया लिमिटेड(युसीआईएल) कम्पनीबाट ग्यास चुहिएको थियो । यो घटनामा ३ हजारभन्दा बढीको मृत्यु भयो । ५ लाखभन्दा बढी जनता प्रभावित छन् । त्यसैले यसलाई उद्योग इतिहासमै सबैभन्दा ठूलो घटनाका रूपमा लिइन्छ । 'हार्ट अफ इन्डिया'को रूपमा प्रख्यात भोपालको ५८ किलोमिटर उत्तरपूर्वी भागमा एउटा जिल्ला छ । त्यो जिल्ला केही समययता संसारभरि प्रख्यात भएको छ । किनकि यो त्यही विदिशा जिल्ला हो, जहाँ सत्यार्थी जन्मे-हुर्केका थिए ।
भारत बि्रटिस उपनिवेशबाट स्वतन्त्र भएको ६ वर्षपछि १९५४ जनवरी ११ मा सत्यार्थी जन्मेका थिए । सरकारी स्कुल पढेका उनले इलेक्टि्रकल इन्जिनियरिङ पढे । पोस्ट ग्रयाजुएट पढ्न उनी भोपाल लागे । उनले सहरमा गएर हाई भोल्टेज इन्जिनियरिङ पढे । पढाइ सकिएपछि केही वर्ष पढाए । सन् १९८० मा शिक्षकको जागिर छाडे । भारतीय युवाहरूमा दुई इच्छा हुन्छन्, क्रिकेटर बन्ने कि फिल्म क्षेत्रमा लाग्ने । तर सत्यार्थीले यी दुवैलाई किनारामा मिल्काउँदै समाज सेवाको बाटो समाते । जागिर छाडेकै वर्ष उनले आफ्नो नेतृत्वमा 'बचपन बचाउ आन्दोलनको अभियान' थाले । उनी बालबालिका, प्रजातन्त्र र मानवअधिकारका लागि लड्न थाले । उनको स्वभावलाई भारतीयहरू भारतलाई स्वतन्त्र बनाउन मुख्य भूमिका खेलेका महात्मा गान्धीसँग तुलना गर्छन् । गन्धीसँगै उनी पनि शान्तिपूर्ण आन्दोलन र विरोधलाई नै मुख्य हतियार मान्छन् । सन् १९७९ मा मदर टेेरेसाले भारतीय नागरिकको नाताले नोबेल शान्ति पुरस्कार पाउँदा २५ वर्षका लक्का जवान थिए उनी । सत्यार्थीको यात्रा सहज थिएन । दक्षिण एसिया त्यसमा पनि भारत, पूर्णरूपमा रूढीवादी परम्पराले झेलिएको देश हो । ८० को दशकको सुरुआतमा बालश्रम विरुद्धको विश्वव्यापी अभियानको अन्तर्राष्ट्रिय संस्थामा सत्यार्थी सहभागी भए । उनले समाज परिवर्तनका काम गर्दा ज्यान मार्ने धम्की आयो, जेल हालियो पनि । उनका दुई साथी मारिए पनि । तर उनले हरेस खाएनन्, बरू 'त्यहाँ जस्तोसुकै खतरा भए पनि कसैले त्यसलाई आत्मसात गरेर चुनौती दिनैपर्छ' भन्दै अघि बढे । सन् १९८८ मार्चमा राजस्थानको नाथडारा मन्दिरमा सत्यार्थीको संस्थाले चार सय वर्ष अघिको परम्परा तोड्ने काम गर्‍यो । त्यो मन्दिरमा हिन्दुबाहेक अन्य धर्म मान्ने जनता जान पाउँदैन थिए । तर बचपन बचाउ आन्दोलन अभियानका सत्यार्थी आफूसहित अन्य ५ दलित छिरे । मन्दिरका ब्राह्मणहरूले सत्यार्थी र अन्यलाई पिट्न बाँकी राखेनन् ।
सत्यार्थीको पुरा जिन्दगी टेष्ट क्रिकेटजस्तै छ, दुई इनिङ्सको । पहिलो इनिङ्स ३० वर्षसम्मको रह्यो, जहाँ उनी हुर्कने, पढ्ने, बढ्ने र पढाउने काम गरे । दोस्रो इनिङ्समा उनी टेक्निकल इन्जिनियर छाडेर समाजसेवातिर मोडिए । बालबच्चाको क्षेत्रमा निरन्तर सहयोग र त्यागले उनलाई विश्वमै प्रख्यात बनाइदियो । उनी शिक्षाका लागि विश्व अभियानमा सन् १९९९ देखि २०११ सम्म अध्यक्ष रहेर काम पनि गरे । दिल्लीमा श्रीमतीसहित परिवारसँग बसिरहेका सत्यार्थीले नोबेलसहित अन्य प्रजातन्त्र र मानवअधिकारमा गरेको योगदानलाई कदर गर्दै १३ पुरस्कार पाइसकेका छन् । सत्यार्थी भारतमा जन्मिएर नोबेल पुरस्कार पाउने पहिलो व्यक्ति हुन् । र नोबेल पुरस्कार पाउने सातौं व्यक्ति । मदर टेरेसा अल्बानियामा जन्मिएकी हुन् । पछि भारतीय नागरिक हुन आइपुगेकी उनी नोबेल शान्ति पुरस्कार पाउने पहिलो भारतीय नागरिक हुन् । बाल श्रमविरुद्ध विश्वभरि नै अभियान चलाए उनले सन् १९९४ मा दक्षिण एसियामा 'रूगमाक' (पछि गुड-वेभ भयो) संस्था स्थापना गरे । त्यसले यो क्षेत्रमा 'गलैंचा उद्योगमा बालश्रमविहीन' अभियानलाई बढाएको छ । नेपालमा पनि यो संस्था क्रियाशील छ ।
----
सत्यार्थी र मलालालाई जब नोबेल कमिटीले यस वर्ष नोबेल पुरस्कार दिने निर्णय गर्‍यो, १ अर्ब ३० करोड भारतीयसँगै ३ करोड नेपालीमा पनि खुसी छायो । किनकि सत्यार्थी नेपाली बालबालिकाका पनि अभिभावक थिए । सत्यार्थीको मनमा भारतजस्तै नेपालमाथि पनि उत्तिकै माया छ । त्यसैले पुरस्कार पाउने घोषणापछि दिल्लीस्थित कान्तिपुरकर्मी देवेन्द्र भट्टराईसँगको कुराकानीमा खुसी साटे, 'मैले पाएको पुरस्कार नेपाल-भारतले पाएको संयुक्त पुरस्कार हो । मैले भारतमा रहेको बाल दासता, दुव्र्यवहार र अन्यायको आवाज उठाएलगत्तै नेेपाललाई आफ्नो दोस्रो कर्मस्थल बनाउँदै आएको थिएँ । नोबेल पुरस्कारसम्मको सम्मानमा पुग्न नेपाल र दक्षिण एसियाली भूमिले काम गरेको छ । यसकारण यो भारतीय र नेपाली जनताले एकसाथ पाएको विशेष सम्मान हो ।' त्यही बेला उनले भनेका थिए, 'पुरस्कार सम्मानप्रति कृतज्ञता जनाउन र दासता विरुद्धको आन्दोलनमा साथ जनाउन नेपाल भ्रमणमा जानेछु ।' आफ्नो त्यही वाचा पुरा गर्न सत्यार्थी आफ्नो दोस्रो कर्मस्थलमा शुक्रबार ओर्लिए । तर विडम्बना नेपालमा लोकतन्त्रको लडाइँ अझै संस्थागत हुन बाँकी छ । सत्यार्थीले २०४६ सालको जनआन्दोलनमा नेपाली दूतावास (बाराखम्बा) मा नेपाल र नेपाली जनताको लागि लोकतन्त्रको पक्षमा धर्ना दिएका थिए । उनको चाहना छ, 'नेपालमा संविधानसँगै स्थायी शान्ति होस् ।'