Pages

रित्तै छ यातायात विभाग

काठमाडौ, मंसिर २४ - संविधानसभा भवनको छेवैमा छ, यातायात व्यवस्था विभाग। देशभर सवारी दुर्घटना बढिरहेका बेला विभाग भने महानिर्देशकविहीन छ। काशीराज दाहाल एक महिनाअघि कृषिमा सरुवा भएर गएपछि नेतृत्वविहीन भएको हो। निमित्तको जिम्मा पाएका छन्, निर्देशक मुक्ति केसीले।
सवारी दुर्घटना
आव          दुर्घटना    मृत्यु        गम्भीर घाइते             सामान्य घाइते
२०६७/६८    ८८०३    १६८९          ४७०१                          ८५०३
२०६८/६९    ८८९२    १८३७          ४०१८                          ७८११
२०६९/७०    ८४८४    १८१६         ३९८६                           ८०००
२०७०/७१    ८४०६    १७८७         ३५१६                            ७८७७
२०७१/७२     ३६१९    ८२२         १७२८                              ३३८७
(मंसिर २२ सम्म)
स्रोत: नेपाल प्रहरी

ट्रलिबस परिषद्मा रहेको विभागमा सोमबार छिर्दा सुनसान देखिन्थ्यो। निर्देशक केसीको कार्यकक्षमा केही सञ्चारकर्मी आए र गए। कार्यालय खालीजस्तै देखिन्थ्यो। यो आर्थिक वर्षको मंसिर २२ सम्म प्रहरीको तथ्यांकअनुसार ३ हजार ६ सय १९ सडक दुर्घटना भए, जसमा ८ सय २२ को मृत्यु भएको छ भने १७ सय २८ जना गम्भीर र ३३ सय ८७ समान्य घाइते भएका छन्।
दिनहुँजसो भएको सवारी दुर्घटनाको आक्रोश देशभर छ। तर सरकारको जिम्मेवार निकाय विभागका कर्मचारी बेखबरजस्तै छन्। अधिकांश कर्मचारी कार्यालय नै आउँदैनन्। निमित्त प्रमुखदेखि प्रवक्तासम्मको जिम्मेवारी सम्हालिरहेका निर्देशक केसीले सहजै जवाफ फर्काए, 'परीक्षा आउँदैछ, त्यसैले बिदा बसेका हुन्।'
यही महिनाको अन्त्यतिर हुने लोकसेवाको परीक्षालाई प्रायः सबैजसो कर्मचारी बिदामा बसेका हुन् रे।
कर्मचारीलाई काममा लगाउन र जिम्मेवार बनाउन कार्यालय प्रमुख, सचिव, मन्त्री, मुख्य सचिव कसैले पनि चासो दिएको देखिँदैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विभाग र यसको जिम्मेवारीलाई गम्भीर रूपमा नलिएको आरोप एक कर्मचारीले लगाए। 'नत्र भए देशमा दिनहुँ दुर्घटना भइरहेछन्, सयौंले ज्यान गुमाइरहेछन्, तर मन्त्रीले न महानिर्देशक पठाएका छन् न त दुर्घटना न्यून गर्ने कुनै संयन्त्र नै अघि सारेका छन्,' उनले भने।
स्रोतका अनुसार यातायात व्यवस्था विभागमा महानिर्देशक लामो समय नटिक्ने 'रोग' नै छ। अधिकांश महानिर्देशक ६ महिनाभन्दा बढी बस्दैनन्। मन्त्रालयका एक पदाधिकारीले भने, 'विभागलाई प्लेट र्फम बनाउँछन् र अन्तै सरुवा हुन्छन्।'
मन्त्रालयमा प्राविधिक कर्मचारीले विभागमा महानिर्देशक प्रशासन पक्ष र उपनिर्देशक प्राविधिक हुनुपर्ने माग राखेका थिए। तर त्यसलाई वास्ता गरिएन। 'यातायात व्यवस्था विभाग पूर्णरूपमा प्राविधिक कार्यालय हो। प्रमुख व्यक्ति प्रशासनिक भएपछि उपनिर्देशक प्राविधिक व्यक्ति बनाइए, महानिर्देशक नहुँदा पनि कामहरू अघि बढ्न सक्छ,' ती पदाधिकारीले भने। कर्मचारीको न्यून उपस्थिति, महानिर्देशकबिना कार्यालय सञ्चालन र दैनिक भएका घटनालाई नदेखेजस्तै गरी अघि बढिरहेको देख्दा यातायात व्यवस्था विभाग निदाएको देखिन्छ।

प्रकाशित मिति: २०७१ मंसिर २४ ०९:१३