Pages

सदस्य बन्न चाहन्छौं : चीन

काठमाडौं- विश्वको नयाँ आर्थिक शक्ति चीनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य बन्ने चाहना पुनः प्रकट गरेको छ । सार्क शिखर सम्मेलन उद्‌घाटन कार्यक्रममा सम्बोधन गर्दै नौमध्ये एक पर्यवेक्षक चीनका उपविदेशमन्त्री लिन झेनमेनले भने, 'पहिलेदेखि नै चीन सार्कमा सदस्य रहन इच्छुक छ ।'


चीनले सार्कसँग सहकार्य गरिरहेकाले अझ नजिक रहेर काम गर्न चाहेको स्पष्ट पारेको छ । उपविदेशमन्त्री झेनमेनले कुटनीतिक भाषामा भने, 'सदस्य नभए पनि हामी अझ बढी नजिक भएर काम गर्न चाहन्छौं ।'
उपमन्त्री झेनमेन बोलिरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ध्यानपूर्वक सुनिरहेका थिए । चीनको भूमिकालाई लिएर सार्कका सदस्य राष्ट्रबीच चर्चा भइरहँदा सबैभन्दा बढी भारतले त्यसलाई अवलोकन गरिरहेको छ । चीनले सार्कको विकासमा फेरि ५५ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय लिएको उपविदेशमन्त्री झेनमेनले मन्तव्यमा उल्लेख गरे । उनले चीनले सधैं सार्कको शान्ति र अन्य क्षेत्रमा काम गर्न चाहेको बताए । सार्कको अध्ययन, स्वास्थ्य तथा पूर्वाधार विकास क्षेत्रमा ५ वर्षसम्म दिएको सहयोग आँकडासमेत प्रस्तुत गरेर उनले चीनले गरेको सहकार्यको महत्त्व देखाउन खोजेका थिए ।
राष्ट्रपति सी जिनपिङले यसै वर्ष माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गरेको जानकारी दिँदै झेनमेनले चीन यस क्षेत्रको महत्त्वमा प्रस्ट भएको बताए । चीनले सार्क र आफूलाई जोड्ने मात्र होइन, पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन 'आसियान'सँगको सम्बन्धलाई ख्याल गरेर भारत, बंगलादेश, म्यानमार र चीन जोड्ने 'सिल्क रोड' का लागि ४० विलियन अमेरिकी डलर नवस्थापित एसियाली पूर्वाधार विकास बैंकमार्फत लगानी घोषणा गरिसकेको छ ।
अन्य पर्यवेक्षकले गरिबी निवारण र आतंकवाद नियन्त्रणमा सार्क राष्ट्रहरूले सहकार्य गरिरहेको बताएका छन् । अमेरिकी दक्षिण एसिया मामिलासम्बन्धी उपविदेश सहायकमन्त्री निशा देसाईले सार्क क्षेत्रमा रहेको आतंकवाद नै विकासको बाधक रहेको बताइन् । उनले भनिन्, 'आतंकवादलाई चिरेर अघि बढ्न आवश्यक छ ।'
युरोपेली युनियनको प्रतिनिधित्व गरेकी राजदूत रेन्छी तेरिङले सार्क क्षेत्रलाई यातायात सञ्जाल र पूर्वाधारको विकासले अझ बढी एकीकृत गर्न सक्ने उल्लेख गर्दै भनिन्, 'युरोपेली युनियन यो क्षेत्रको विकासमा सहयोग र सहकार्य गर्न सधैं अग्रसर छ ।' उनले यो क्षेत्रमा गरिबी निवारण, खाद्यसुरक्षा, कृषिको आधुनिकीकरणमा जोड दिन आवश्यक भएको पनि स्पष्ट पारिन् ।
पर्यवेक्षकका रूपमा प्रतिनिधित्व गरेका जापानका राजदूत मसासी ओगवाले पनि सार्कको विकासमा आफूहरूको सहकार्य जारी रहने बताए । दक्षिण कोरियाका प्रतिनिधिले पनि सार्कको विकासमा आफूहरू सधैं तत्पर रहेको र यो क्षेत्रमा देखिएको एकताले सार्क क्षेत्रको विकासलाई उचाइमा पुर्‍याउने बताए । अस्ट्रेलियाका संसदीय सचिव ब्रेट मार्टनले आर्थिक कूटनीति वर्तमान समयमा प्रमुख मुद्दा भएको बताए । उनले भने, 'तर एकीकृत भएर पनि यो क्षेत्र सोचे जति अघि बढ्न सकेको छैन ।' अस्ट्रेलियाको सार्कसँगको व्यापारलाई उल्लेख गर्दै उनले थपे, 'सार्क सम्भावना नै सम्भावनाको खानी हो ।'
मोरिससले भने मन्त्रीस्तरीय पदाधिकारी पठाउनुपर्नेमा दूतावासका प्रथम सचिव पठाएको थियो । 'प्रोटोकल' नमिलेपछि उनलाई सम्मेलनमा बोल्ने समय दिइएन ।
Posted On: 27th November, 2014
- See more at: http://saarc2014.ekantipur.com/news-updates.php?news=156&ln=np#sthash.BJi0UjOs.dpuf