Pages

पूर्वाधार अधुरै

काठमाडौ, कार्तिक २८ -

एयरपोर्ट-तीनकुने सडक खण्डका छेउमा माटो, बालुवा, सिमेन्टलगायत थुपारिएका छन् । सामान थुपारिए पनि सडक खण्ड कहिलेसम्म पूर्णरूपमा बन्छ भन्न सकिन्न । तर मर्मतका लागि कम्तीमा पनि दुई साता लाग्ने देखिन्छ । सडकका बीचमा पिच छन्, छेउमा सामान्य माटो । छेउ भागलाई फेरि पिच गर्नुपर्छ । एकै ठाउँमा पटक-पटक दोहोरो काम गर्दा श्रम त बढी खर्च हुन्छ नै, साथमा पैसा पनि ।

नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रममा पर्ने सार्क शिखर सम्मेलन आउन एक साता मात्र बाँकी छ । तर अझैसम्म पनि उल्लेखितझैं अन्य सडकहरूको पनि पूर्णरूपमा काम सकिएका छैन । समग्रमा सार्कलाई तयार पारिने भनिएका सम्पूर्ण भौतिक पूर्वाधार अझै अधुरै छन् । 





'समयमै काम किन सकिएन ?' त भन्ने जवाफमा सरकारी अधिकारीहरू भन्छन्, 'मन्त्रीज्यूले जहिले सकिन्छ भन्नुभएको थियो त्यहीले नै सकिन्छ ।' यी जवाफ दिने तिनै सरकारी अधिकारीहरू हुन्, जसले १५ दिनअघिसम्म कात्तिक २५ भित्रै पूर्णरूपमा काम सकेर सरकारलाई हस्तान्तरण गर्ने दाबी गर्थे ।

नेपालले यसअघि सन् १९८७ मा तेस्रो र २००२ मा ११ औं शिखर सम्मेलन गरेको थियो । सार्कको १७ औं शिखर सम्मेलन २०११ को नोभेम्बरमा माल्दिभ्समा भएको थियो । त्यसै बेलामा नेपालले १८ औं शिखर सम्मेलन गर्ने घोषणा भएको थियो । तर नेपाल सरकारले भने दुई महिना अघिमात्र काम थाल्यो । 'सरकारले दुई महिनादेखि दैनिक काम गरेर निकै मिहिनेत गरेको देखाउन खोजेको छ । तर दुई वर्षचाहिँ हेरेरै बस्यो,' एक सरकारी उच्च पदाधिकारीले भने, 'हतारमा गरेको काम पूर्ण भद्रगोल छ ।' 

सम्मेलन मंसिर १० र ११ मा हुँदैछ । सार्कको कामलाई लिएर प्रधानमन्त्री सुशील कोइरालाले पटक-पटक चिन्ता व्यक्त गर्दै छिटो काम गर्न निर्देशन दिएका थिए । तर उनैले दुई महिना अघिमात्र सार्कको काम अघि बढाउन निर्देशन दिएका हुन् । सरकारका एक सचिवले भने, 'छोटो समयमा धेरै आस गर्न सकिँदैन । सार्कको तयारीका लागि सरकारले पहिले नै काम थाल्न निर्देशन दिनुपथ्र्यो नि त ।' 

शिखर सम्मेलन गर्ने मुख्य हल राष्ट्रिय सभागृह र यो परिसरको पूर्णरूपमा तयारी शुक्रबारसम्ममा पनि पूरा भएको छैन । र, अझै एक साताभन्दा बढी त्यसलाई पूर्णरूपमा तयारी गर्न समय चाहिने देखिन्छ । सार्कको सहसचिवस्तरीय वार्ता मंसिर ६ बाटै हुनेछ । त्यस बेलासम्मका काम नसकिने पक्का देखिन्छ । हलकै काममा खटिएका एक कर्मचारीले भने, 'हललाई राम्रोसँग पूर्णरूपमा तयार गर्न त कम्तीमा १५ दिन लाग्छ । अहिले फिनिसिङ नै भएको छैन ।' 

प्रधानमन्त्री सुशील कोइरालासमक्ष निर्माण कार्यमा संलग्न विभिन्न मन्त्रालयका मन्त्री र सरकारी निकार्यका कर्मचारीहरूले कात्तिक ३० सम्म काम सकाइसक्ने बताएका थिए । सार्क कार्यान्वयन इकाई प्रमुख काशीप्रसाद गुप्ताले भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भनेकै समयमा काम सकिने बताए । निधिले कात्तिक ३० सम्ममा काम सकिने प्रधानमन्त्री कोइराला र सञ्चारमाध्यमहरूलाई जानकारी दिएका थिए । राष्ट्रिय सभागृह परिसरमा पिच र नयाँ बनाइएको 'होल्डिङ रूम' को फिनिसिङको काम मात्र रहेको गुप्ताले बताए । 

परिसरभित्र मुख्य हलको अघि दुवै भागमा सार्क राष्ट्रका देशका झन्डा राखिने पोल राखिएका छन् । मुख्य हलमा सिट राखेर सकिएको छ । सभागृहलाई सफा गर्न भने अझै बाँकी छ । परिसरको बायाँ भागमा पार्किङका लागि गरिएको पिचको काम सकिएको छ । तर दायाँ भागमा बाटो सम्याउने काम बाँकी नै छ । 'भवनपछिका भागहरूमा हामीले काम लगभग पूरा गरिसकेका छौं,' गुप्ताले भने । नेपालले तेस्रो सार्क कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा गरेको थियो । ११ औं हाल सविधानसभाको भवनका रूपमा प्रयोग गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा गरिएको थियो । भवनसँगै सरकारले सडक मर्मत क्षेत्रमा पूर्णरूपमा लापरबाही गरेको छ । टुँडिखेलअघिका राम्रो सडकमा अनावश्यक रूपमा ओभर-ले थपेको छ । 

यसले सरकारी पूर्णरूपमा सरकारी पैसाको दुरुपयोग गर्न खोजेको प्रस्ट देखिन्छ । सरकारले उपत्यकाका सडक मर्मतका लागि ८१ करोड ८५ लाख ६७ हजार ५ सय ६१ रुपैयाँ विनियोजना गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका आवश्यक स्थानमा सडकका चौडा बढाउने, ओभर-ले, फुटपाथ निर्माण तथा सुधार, ट्राफिक सुरक्षा, रोड मार्किङ पेन्टिङ र हरियाली निर्माण गर्ने काम अघि बढाइसकेको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्याम खरेलले कान्तिपुुरसँग बताएका थिए । तर पूर्णरूपमा राम्रो रोडमा ओभर-ले थप्ने काम भएको छ भने कमजोर र खराब सडकको निर्माण काम अझै सकिएको छैन । 

त्रिभुवन विमानस्थलबाट अघि निस्कनेबित्तिकै रिङ रोडमा निस्किन्छ । तर एयरपोर्ट सेटअघिकै सडकको मर्मत काम सकिएको छैन । भएका काम पनि लापरबाही रूपमा बनाइएका छन् । 'मंसिर १२ गते सार्क सकिन्छ, १३ गतेबाट भत्किन थाल्छन् । किनकि सार्कका बेलामा सर्वसाधारणलाई बिदा दिइएको छ । नत्र यही बेलामा भत्किन्थ्यो,' एक सरकारी अधिकारीले भने । 

काठमाडौंका गौशाला-चाबहिल, चाबहिल-चुच्चेपाटी-बौद्ध-गोकर्ण, गौशाला पशुपति-गुह्येश्वरी, रातोपुल-गौशाला, केशरमहल-ठमेल, सिंहदरबार-रामशाहपथ-भद्रकाली, महाराजगन्ज-टिचिङ अस्पताल, सामाखुसी-ग्रान्डी अस्पताल गेट, महाराजगन्ज-चुनदेवीमार्ग बंगलादेश राजदूतावास गेट, नारायण गोपालचोक-बसुन्धरा-पाकिस्तानी राजदूतावास गेट र बालाजु ठूलोखोला सडकमा आवश्यक रहेको भन्दै सरकारले मर्मत गर्ने भनेको थियो ।

यस्तै, ललितपुरमा वागमती पुल-जावलाखेल, लगनखेल-सातदोबाटो, पुल्चोक-मंगलबजार, नख्खु पुल-भैंसेपाटी, सातदोबाटो-गोदावरी र हरिहरभवन-मन्त्री निवास सडक खण्डमा पनि मर्मत गरिने, भक्तपुरको सल्लाघारी-दरबार स्क्वायर, एआरएम सूर्यविनायक-चमेलीडाँडा, विभिन्न एसआरएन-एयूआरएन सडक र सूर्यविनायक केदारनाथ पाइलट बाबा आश्रम सडक खण्डमा पनि सार्कका लागि मर्मत गरिने भनिएको थियो । तर कुनै पनि सडकका काम पूर्णरूपमा सकिएका छैनन् । सहर सरसफाइ र बिरुवा रोप्ने काम पनि अझै बाँकी छन् । साथमा सडकमा छेउहरूमा गाडिने 'फ्ल्याग पोल' को काम पनि पूर्णरूपमा सकिएको छैन ।




प्रकाशित मिति: २०७१ कार्तिक २९ ११:१६