Pages

पीके अर्थात् पारस खड्का

बलिउड स्टार आमिर खानको चलचित्र पीके अन्य स्थानहरूसँगै नेपालमा पनि चल्यो । अन्य देशमा जस्तै पीकेले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ । 'मिस्टर पर्फेक्सनिस्ट' को उपाधि पाइसकेका आमिरलाई मन नपराउने दर्शक कमै छन् । आमिरको पीकेले अहिले संसारभर नाम र दाम दुवै कमाइरहेको छ, साथमा कीर्तिमान पनि बनाउन सफल भएको छ । 

नेपालका हलमा पीके चलिरहँदा त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्दै थियो, नेपालको राष्ट्रिय क्रिकेट टिम । किनभने यही टिमले नामिबियामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-२ खेल्दै छ । त्यसैको तयारीमा जुटेको थियो, प्रशिक्षक पूवुदु दसानायकेको सेना । काठमाडौंका गल्ली-गल्लीमा आमिरको पीकेको चर्चा भैरहँदा कीर्तिपुर मैदानमा अभ्यासका क्रममा नेपाली पीके अर्थात् पारस खड्काले कमाल देखाइरहेका थिए ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसले नेपालकै सबैभन्दा छिटो गतिमा बल फ्याल्ने बलर सोमपाल कामीलाई एक ओभरमा २ छक्का हानेपछि पत्रकार विनोद पाण्डेले टि्वट गरिहाले, 'पीके कीर्तिपुर मैदानमा पनि चलिरहेको छ । पीके अर्थात् पारस खड्काले एउटै ओभरमा सोमपाल कामीलाई २ छक्का सहित २० रन हानेको खबर छ' भनेर । 


नेपालले जनवरी १७ देखि २४ सम्म नामिबियामा डिभिजन-२ खेल्नेछ, जसमा ६ राष्ट्रको सहभागिता छ । यो प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण छ । किनभने यसले नेपाली क्रिकेटको भविष्य पनि निर्धारण गर्नेछ । नेपालले युगान्डासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछिका चुनौती नेदरल्यान्ड्स, क्यानाडा, नामिबिया तथा केन्या हुन् । राउन्ड रोबिनका आधारमा हुने खेल पछि समूहको शीर्ष दुई स्थानमा हुने टिमबीच फाइनल हुनेछ । फाइनल पुग्ने दुई टिमले चार दिवसीय अन्तरमहादेशीय कप, ५० ओभरको विश्वक्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउनेछन् । 

प्रतियोगिताका लागि घोषित १४ सदस्यीय नेपाली रोष्ट्रिय टिमलाई फेरि एक पटक पारसले नेतृत्व गर्दैछन् । प्रतियोगिता कति महत्वपूर्ण छ, यो कुरा सबैभन्दा बढी पारस र उनको टिमलाई थाहा छ । मैदानमा ७७ नम्बरको जर्सी लगाएर उत्रने नेपाली कप्तान पारसले नेपाललाई ट्वान्टी-२० विश्वकप त खेलाइसकेका छन् । उनले नेपाललाई आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५, डिभिजन-४, डिभिजन-३ को पनि उपाधि दिलाए । पारसले अन्तिमपल्ट नेपाललाई मलेसियामा डिभिजन-३ को उपाधि दिलाएका थिए । अब उनको लक्ष्य वान-डे मान्यताका साथ वान-डे विश्वकप खेलाउनु हो । यसका लागि उनको टिमले नामिबियामा शीर्ष दुईमा रहँदै अघिको बाटो बनाउनुपर्छ जुन पारस र उनको टिमका लागि पक्कै सहज छैन, तर जसरी आमिर खानले फिल्म पीकेमार्फत नेपाली दर्शकको मन जितिरहेका छन्, कप्तान पीके अर्थात् पारसले फेरि एक पटक ३ करोड नेपाली जनतालाई निराश हुन दिने छैनन् भन्ने आशा सबैमा छ ।