Pages

जहाँ फुटपाथ हराउँछ



दृश्य १ :
 लाजिम्पाट सडक खण्डमा पैदलयात्रा गर्दा फ्रान्सको दूतावासअघि पुगेपछि फुटपाथ नै बन्द हुन्छ। पैदल यात्री दूतावासको पर्खाल नटुंगिएसम्म सडकमै हिंड्न बाध्य हुन्छन्। यसले पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ। अझ दृष्टिविहीनहरू त बीच-बीचमा फुटपाथै नभएका ठाउँमा यात्रा गर्नै सक्दैनन्।
दृश्य २ : बालुवाटारको प्रधानमन्त्री निवासको तीन नम्बर गेट छेउकै चोकको घुम्तीमा आएपछि फुटपाथ सकिन्छ। चोकैमा पुलिस बिट छ तर त्यसअघि फुटपाथ छैन।
दृश्य ३ : गौशालाचोकबाट रातोपुल जानेतर्फ चोकमै फुटपाथ छैन। केहीअघि गएपछि मात्र फुटपाथ भेटिन्छ। चोकमा सडक र घर सँगै जोडिएको छ।
माथिका यी दृश्य त उदाहरणमात्र हुन्। उपत्यकाका अधिकांश स्थानमा यस्तै समस्या छन्। पढ्न र काम गर्न जाने-आउने र फुटपाथको प्रयोग गर्ने सर्वसाधारणलाई त्यहाँबाट दैनिक हिंड्दा समस्या झेल्नुपर्छ। अझ दृष्टिविहीनहरू त त्यस्तो फुटपाथमा हिंड्नै सक्दैनन्। अन्तर्राष्ट्रिय रूपमै कुनै पनि सडक बनाउँदा सबैभन्दा पहिले बाटो हिंड्ने मानिस (जसमा दृष्टिविहीनसमेत पर्छन्) लाई ध्यानमा राखिन्छ र बनाइन्छ तर नेपालमा त्यस्तो पाइँदैन।
'पहिलो नम्बर, फुटपाथ साना छन्, त्यहाँबाट दोहोरो आवतजावत गर्न गाह्रो हुन्छ। दोस्रो, कुन फुटपाथ कहाँ गएर सकिन्छ थाहै हुँदैन। कहीं घरमा त कहीं पर्खालमा। तेस्रो, भएका फुटपाथमा पनि

नाङ्लो पसल राखिएका हुन्छन्,' पैदलयात्रु हुनुको पीडा भक्तपुरको लोकन्थली बस्ने र पुरानो बानेश्वरस्थित ग्लोबल कलेजमा पढ्ने भुवन पाण्डेले सुनाए। काठमाडौंका विभिन्न स्थानमा पैदय नै यात्रा गरिरहने उनले भने, 'कहीं त हिंड्दै जाँदा फुटपाथ नै हराउँछन्।'
लाजिम्पाटको सडकको चौडाइ १८ मिटर छ। यो चार लेनको बाटोमा दैनिक पैदल यात्रा गर्नेहरू दुर्घटनामा परिन्छ कि भन्ने जोखिम लिएर हिंडिरहेका हुन्छन्।
सडकमा तीन किसिमका सिंगल लेन, डबल लेन र मल्टिपल लेन हुन्छन्। सिंगल लेनको न्यूनतम चौडाइ ३ दशमलव ५ मिटर हुन्छ। डबल लेन ७ मिटरको हुन्छ। सडक विभागका अनुसार सडक सिंगल लेन होस् या अन्य त्यसको दुवै छेउमा हुने सडकका फुटपाथ कम्तीमा पनि डेढ मिटरको हुनुपर्छ। तर, उपत्यकासहित नेपालका अधिकांश सडकमा मापदण्डअनुसारका फुटपाथ बनाइएका छैनन्। राजधानीका सडकमा डेढ फिटभन्दा कमका समेत फुटपाथ छन्।
मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक दयाकान्त झा सडक र फुटपाथ निर्माण गर्दा नियमअनुसार काम नभएको स्वीकारे। भन्छन्, 'सकेसम्म १ दशमलव ५ मिटरभन्द बढी हुनुपर्छ। २ मिटर वा त्योभन्दा बढी पनि हुन सक्छ।' सडकका छेउमा भएका घर, पर्खाल वा अन्य कुनै भवनलाई हटाउन नसक्नु सरकारी कमजोरी रहेको उनले बताए। झाले भने, 'सडक विभागले बनाउने हो। त्यो उपलब्ध गराउने काम गृहप्रशासनको हो। घर छ भने त्यो वा अन्य अवरोध हटाउने काम गृहप्रशासनले गर्नुपर्छ। उपत्यकाको हकमा काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्नुपर्ने हो।'
फ्रेन्च दूतावास, महाराजगन्जस्थित अमेरिकी, कमलपोखरीको रसियन, ज्ञानेश्वरको जर्मन दूतावासले गर्दा फुटपाथ निर्माणमा अवरोध भएको छ। साथै, अन्य ठाउँमा विद्यालय, घर आदिको पर्खालले फुटपाथमा अवरोध खडा गरेकै छन्। सडक विभागका पूर्वमहानिर्देशक हरिओम श्रीवास्तव सडक विस्तारअघि यस्तो समस्या नभएको बताउँछन्। उनले सडक वरपरका तोकिएको मापदण्डभित्र परेका घरटहरा मुआब्जा दिएर हटाउन नसकेका कारण नियमअनुसार डेढ मिटर वा त्योभन्दा फराकिला फुटपाथ बन्न नसकेको बताए।
'जब सडक फराकिलो बनाइयो। दुवैतिरको जग्गा लिइयो। सडक ठूलो बनाउनु राम्रो कुरा हो,' उनले भने, 'लालपुर्जा भएको र नक्सा पास गरेर घर बनाएका छन्। सरकारको स्वीकृति लिएरै घर बनाएका हुन्। सम्बन्धित पक्षले त्यस्ता घर भत्काउन खोज्दा स्थानीयवासीले नमान्नु स्वाभाविक हो।' सडकका छेउमा रहेका विद्युत्, केबुल, टेलिफोेन आदिका पोल, पाइपहरूले गर्दा घुमाउन ठाउँ नपुगेपछि फुटपाथ सानो हुने वा त्यहाँ पुगेर सकिने गरेको डिभिजन सडक
कार्यालय २ का डिभिजन प्रमुख कर्णबहादुर रानाभाटले बताए।
उनका अनुसार काठमाडौंमा पहिलेदेखि नै योजनाअनुसार सडक बनाइएको छैन। 'त्यसैले ठाउँ हेरेर मिलाएर जानुपर्ने बाध्यता छ,' उनले भने, '७ मिटरको सडकलाई डबल लेनको रूपमा लिइन्छ। अब के गर्ने भन्नुस् त, त्यहाँ पुटपाथ बनाए सिंगल लेनको हुन्छ। वान-वे गर्न पनि त्यहाँ गाह्रो छ। अन्य वैकल्पिक बाटो पनि छैन।' उनले सडकका फुटपाथलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग मिलेर १ दशमलव ५ मिटर फुटपाथ नभएका सडकमा पुनरावलोकन गरी अघि बढ्ने बताए। सडक विभागकै एक इन्जिनियरले भने, 'भन्ने र गर्ने कुरा अलग हो। यहाँ योजनाअनुसार काम गर्ने होइन। फिल्डमा के उपलब्ध छ, त्यसलाई मिलाएर अघि बढ्नुको विकल्प छैन।' काठमाडांैै उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त योगेश्वरकृष्ण पराजुलीले भने, 'सहरी योजनाअनुसारै काम भएको छैन। अब योजना बनाएर अघि बढ्ने तयारीमा छौं।' उनले सोमबार भारतबाट दिल्ली विकास प्राधिकरणका प्रमुख आउन लागेको बताए। पराजुलीले भने, 'त्यस बेलामा पनि छलफल हुनेछ र पछि कसरी अघि बढ्ने भन्ने
योजना बनाउनेछौं।'
सडकका फुटपाथमा सबल मान्छे नै हिंड्न गाह्रो भएको बेलामा फरक क्षमता भएका
(अपाङ्गता भएका) व्यक्तिहरूलाई त्यहाँबाट यात्रा गर्नु 'फलामको चिउरा चपाएसरह' हुन्छ। हामीले अरनिको राजमार्गको माइतीघर-तीनकुने खण्डमा उनीहरूलाई लक्षित गरेर फुटपाथ बताउँदैछौं,' झाले भने।

प्रकाशित मिति: २०७१ माघ १७ ०८:५६