Pages

क्रिकेटबाट सिक्ने कि !

देशमा दुई कुरा चर्चामा छन् : पहिलो, दलहरू र तिनको नेतृत्वले प्रतिबद्धताअनुसार समय (माघ ८) मा संविधानसभामार्फत नयाँ संविधान जारी गर्न सकेनन् । दोस्रो, राष्ट्रिय क्रिकेट टिमले नामिबियामा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-टु मै रहन सफल भएको छ । यसरी एकातिर नयाँ संविधान नआएकोमा निराशा छाएको छ भने अर्काेतिर क्रिकेटले चाहिंँ फेरि हामीलाई एकपटक खुसी दिएको छ । यसरी 'मिसन असफल' र 'मिसन सफल'को चर्चा एकैसाथ भएको छ । मिसन असफलका पछि ६ सय १ जना सभासद छन् भने मिसन सफलका पछि क्यानेडेली नागरिक पुवुदु दासानायकेद्वारा प्रशिक्षित र पारस खड्काको नेतृत्वमा रहेको राष्ट्रिय क्रिकेट टिम रहेको छ ।

नेपाली राजनीति र क्रिकेट टिमलाई दाँज्नु उचित नहोला । किनकि यी दुई फरक विषय हुन् । र आ-आफ्नो स्थानमा फरक अर्थ राख्छन् । यी दुईलाई एक ठाउँमा ल्याएर उभ्याउने काम करिब ३ करोड नेपालीलाई मिल्ने खुसीले गर्छ । देशमा माघ ८ मा नयाँ संविधान आएको भए जनता खुसी हुन्थे । देशमा २०६२/०६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि भएको संविधानसभाको निर्वाचन र राष्ट्रिय क्रिकेट टिमलाई दाँज्न सकिन्छ । किनकि २०६४ को चैत २८ मा भएको थियो, पहिलो संविधानसभाको निर्वाचन । चारपटक म्याद थपियो, चार वर्ष पुरा भयो । तर हात लाग्यो शून्य । परिणाम, २०६९ जेठ १४ राति पहिलो संविधानसभाको अवसान भयो ।

२०७० सालको मंसिर ८ मा दोस्रोपटक संविधानसभाको निर्वाचन भयो । 'यसपटक त एक वर्षमै संविधान ल्याएर देशलाई स्थायित्वतर्फ लैजान्छौं' भने, नेताहरू र उनीहरूका चुनावी घोषणा पत्रहरूले । जनताले माघ ८ नजिकिँदै गर्दा यसपटक त संविधान आउँछ भन्ने नै आशा गरेका थिए । तर आशा फेरि एकपटक निराशामा परिणत भयो ।
क्रिकेटको कुरा गर्दाचाहिँ पहिलो संविधानसभाको निर्वाचन भएको ४६ दिनपछि अर्थात् २०६५ जेठ १० मा नेपाली क्रिकेटले विश्व क्रिकेट लिग डिभिजन-फाइभबाट यात्रा सुरु गरेको हो । सन् २०१० मा काठमाडौंको कीर्तिपुर मैदानमा अमेरिकालाई हराउँदै डिभिजन-फाइभमा च्याम्पियन बन्दै उक्लिएको राष्ट्रिय क्रिकेट टिमले सन् २०१२ मा मलेसियाको क्वालालम्पुरमा डिभिजन-फोरको उपाधि जित्यो । सन् २०१३ मा बर्मुडा र २०१४ मा क्वालालम्पुरमै डिभिजन-३ को ट्रफी जितेर नेपाली क्रिकेट टोलीले नामिबियामा डिभिजन-टु खेलिरहेको छ । र शुक्रबार डिभिजन-वानमा उक्लिन चुके पनि नेपाल डिभिजन-टु मै रहनु नेपाली क्रिकेटका लागि ठूलै उपलब्धि हो ।
सन् १९९६ मा मलेसियामा भएको एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा सुरु गरेको नेपाली क्रिकेटले ६ वर्षअघि चालेको पाइला एउटा सार्थकता दिन सफल भएको छ, नतिजा दिन सफल भएको छ । सन् २००९ बाट राष्ट्रिय क्रिकेट टिमका कप्तान बनेका पारस र सन् २०११ मा नयाँ प्रशिक्षक बन्दै काठमाडौं ओर्लिएका पुवुदुले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याइदिएका छन् । करिब २५ भन्दा कम खेलाडी र प्रशिक्षककै योगदानका कारण यो सफलता हासिल भएको हो । नेपालले यही अवधिमा सन् २०१४ को मार्चमा बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकपमा पहिलोपटक खेल्दै नयाँ इतिहास नै रच्यो ।
जसरी क्रिकेट टिमपछिको सफलता खेलाडी हुन् भने संविधानसभापछिका सफलता र असफलताको कारण पनि सभासदहरूलाई लिन सकिन्छ । फरक-फरक पार्टीहरू कांग्रेस, एमाले, एमाओवादीका सभासदहरूजस्तै क्रिकेट टिममा पनि फरक-फरक विशेषता भएका खेलाडी छन् । कोही पूर्वका छन् त कोही पश्चिमका अनि उनीहरूको जात र धर्म पनि फरक-फरक छन् । कोही ब्याट्सम्यान, कोही स्पिनर, कोही पेस बलर त कोही अलराउन्डर । टिमलाई नेतृत्व गरेका छन्, पारस खड्काले । संविधानसभाका कप्तान छन्, सभामुख सुवास नेम्वाङ ।
क्रिकेटमा सफलता मिल्दै जानु र राजनीतिमा असफल हुनुको एउटै कारण हो, मिलेर काम गर्न नसक्नु । क्रिकेटमा टिम स्पि्रट छ, जुन हाम्रो संविधानसभामा नेताहरूबीच देखिएन । खेलाडीहरू देशको शिर उँचो राख्न चाहन्छन् र जनतालाई खुसी दिन चाहन्छन् । तर नेताहरूमा त्यो देखिएन । नेताज्यूहरू, क्रिकेटबाट सिक्ने कि !