Pages

बेरोजगारको पनि संघ

काठमाडौ, माघ १७ - कसैको औंलामा सुनको औंठी त कसैको नाडीमा सुनकै ब्रासलेट। अधिकांशको हातमा स्मार्टफोन त छँदै थियो। चिटिक्क पहिरनसहित खुट्टामा आकर्षक जुत्ता पनि लगाएर आएका थिए उनीहरू। कोही बाइक पार्किङ गरेर हातर-हतार आउँदै थिए।
झट्ट हेर्दा यी कुनै तारे होटलको पार्टीमा सहभागी हुन आएका धनाढ्य वा जागिरे जस्ता देखिन्थे। तर, उनीहरूको परिचय बेग्लै र उद्देश्य पनि बेग्लै थियो। सडकमा भेला भएका उनीहरूको साझा परिचय थियो, बेरोजगार युवा। अर्थात् उनीहरू हुन्, बेरोजगार युवा संघ नेपालका सदस्य।
माघको जाडोमा घामले राजधानीलाई तताउँदै गर्दा शुक्रबार ११ बजे बिहान प्रदर्शनी मार्गमा भेला भएका उनीहरूको एजेन्डा थियो, संघको काठमाडौं जिल्ला समितिको घोषणा।
'वसन्तपुरमा घोषणा हुनेछ' टाउकोको रातो कपडामा सेतो अक्षरमा 'बेरोजगार युवा संघ जिन्दावाद' लेखिएको बेरेर हातमा बाइकको चाबी बोकेका जिल्ला संयोजक निर्मल विकले हतारमा भने।

बेरोजगार युवामध्ये एक थिए, गणेश शेर्पा। ३५ वर्षीय उनको घर लाजिम्पाट रहेछ। 'हाम्रो माग बेरोजगारलाई रोजगारी देऊ भन्ने हो,' बायाँ हातले आफ्नो बाइकको हेमलेटलाई च्याप्दै दायाँ हातको औंलामा सुनको अाैंठी र नाडीमा सुनले बेरिएको हात्तीको पुच्छर लगाएका उनले सुनाए, 'हिजो राजनीतिमा प्रयोग गरे। हामी युवाका लागि नेताले केही बोलेनन्।'
एमाओवादीका पूर्वउपत्यका इन्चार्ज चन्द्रबहादुर थापा (सागर) पछि बेरोजगारकै हुलमा भेटिए। अझै पुरानै पार्टीमा आबद्ध रहेका उनको नेतृत्वमा ०६८ मा बेरोजगार युवा संघ नेपालको गठन भएको थियो। 'अहिलेसम्म हाम्रो सञ्जाल ६३ जिल्लामा पुगिसकेको छ। ७५ जिल्लामै विस्तार गर्ने हाम्रो योजना हो। त्यो छिट्टै हुन्छ,' थापाले भने, 'हरेक जिल्लामा कम्तीमा पनि ५/७ हजार हामीसँग आबद्ध छन्।'
 उनले नेपालमा १ करोड १५ लाख युवा बेरोजगार रहेको उल्लेख गर्दै भने, 'यही सरकारले बन्द रहेको उद्योगलाई खुलाउने, हाइड्रोलाई थप विस्तार गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, पर्यटन व्यवसायलाई थप विस्तार गर्ने, खनिज पदार्थ उत्खननलाई ध्यान दिने आदि जस्ता कामलाई ध्यान दियो भने १ करोड ९२ लाख मान्छेले जागिर पाउने ठाउँ हुन्छ,' उनले थपे, 'त्यसपछि हाम्रा युवा दैनिक विदेशमा काम गर्न किन जानुपर्‍यो?' उनले यो कुनै पार्टीबाट सञ्चालन नभएको र कोहीसँग पनि आर्थिक सहयोग नलिएको दाबी गरे। 'हामीले आफ्नै स्रोतबाट कार्यक्रम गरिरहेका छौं,' उनले भने।
प्रकाशित मिति: २०७१ माघ १७ ०८:५५